ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 27, 2009

रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति

काठमाडौं (दैनिकी)

कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला सिंगापुरमा उपचारमा छँदा माओवादी अध्यक्ष प्रचण्डको भ्रमण शिष्टाचार मात्र नभई सत्तापलटमा केन्द्रित रहेको तथ्य खुलासा भएको छ । आज प्रकासित राजधानीका अनुसार सिंगापुर भेटवार्तामा राष्ट्रपति डा. रामवरण यादवलाई सके पदबाट हटाउने नत्र राजनीतिक संकट खडा गरेर राजीनामा गर्न बाध्य बनाउने तथा प्रधानमन्त्री माधवकुमार नेपाललाई समेत पदबाट हटाएर नयाँ सहमति गरी सत्ता लिने सहमति कोइराला र प्रचण्डबीच भएको छ । सिंगापुरबाट फर्केपछि कोइराला र प्रचण्डले आफ्ना अत्यन्तै निकटस्थहरूसँग गरेको परामर्शका क्रममा चुहिएको सूचनाअनुसार राष्ट्रपति यादव र नेपाल नेतृत्वको सरकारविरुद्ध माओवादीले चाल्ने अभियानमा भने कोइराला मौन बस्ने सहमति भएको छ । उनले माओवादी अभियानको विरोध र र्समर्थन दुवै गर्नेछैनन् । निकटस्थहरूसँग प्रचण्डको वार्तालाप उद्धृत गर्दै स्रोत भन्यो, 'सरकार र राष्ट्रपतिविरुद्धको हाम्रो अभियानको रूप हेरेर कोइराला मौन बस्ने वा लोकलज्जाका लागि मात्र विरोध गर्ने नीति लिनेछन् ।'कोइरालाले सिंगापुरमा प्रचण्डलाई प्रधानसेनापति प्रकरणमा राष्ट्रपति कदमको विरोध गर्दा पार्टीका वरिष्ठ नेताहरू सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलको साथ नपाउने भनाइ स्पष्ट रूपमा राखेका थिए । सो अभियानमा आफू पार्टीभीत्र एक्लो भए प्रतिकूल अवस्था आउने तथ्य स्वीकार गर्न उनले प्रचण्डसँग आग्रह गरेका थिए ।
विगतमा कोइरालालाई राष्ट्रपति बन्न नदिएर ठूलो भुल गरेको भनाइ पनि भेटवार्तामा आफूले राखेको प्रचण्डले निकटस्थहरूलाई बताएका छन् । 'मैले गिरिजाबाबुलाई राष्ट्रपति नबनाएर ठूलो गल्ती गरेको बताएँ,' प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'अब राष्ट्रलाई निकास दिन तपाईं नै राष्ट्रपति हुनुपर्छ भनें, उहाँले स्वीकार गर्नुभएको छ ।'
कोइराला र प्रचण्डबीच राष्ट्रपतिलाई हटाउने प्रक्रियाबारे पनि छलफल भएको थियो । सहमतिअनुसार माओवादीले राष्ट्रपति यादवलाई अपमानित गरी राजीनामा गर्ने वातावरण तयार पार्नेछ । सँगसँगै प्रधानमन्त्री नेपाललाई पद छाड्न बाध्य बनाउने सहमति दुवैबीच भएको छ ।
कोइरालासँगको सहमतिअनुरूप नै माओवादीले आमहडतालसम्मका कार्यक्रम तय गरेको जानकारहरूले बताएका छन् । आन्दोलनमार्फ सरकार र राष्ट्रपतिलाई राजनीतिक संकटमा पारेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रले नयाँ सहमति खोज्ने नाउँमा सत्तापलट गर्ने योजना कोइराला र प्रचण्डबीच भएको जानकारहरूले बताएका छन् । 
सिंगापुर वार्तामै कोइराला र प्रचण्डबीच प्रधानमन्त्री नेपालसँग असन्तुष्ट एमाले अध्यक्ष झलनाथ खनाललगायत नेताहरूलाई समेत उपयोग गर्ने सहमति बनेको प्रचण्डले निकटस्थहरूलाई बताएका छन् । कोइरालाले बुधबार खनाललाई फोन गरी भेटका लागि आफ्नो निवास महाराजगन्ज बोलाएका थिए ।
प्रचण्ड निकटस्थहरूका अनुसार कोइरालाले प्रचण्डलाई 'अबको सरकारको नेतृत्व तपाईंले नै गर्ने हो अगाडि बढ्नुहोला' भन्ने आश्वासनसमेत दिएका छन् ।
कोइराला-प्रचण्डको सिंगापुर सहमतिको जानकारी पाएपछि राष्ट्रपति यादवसमेत आक्रोशित बनेका छन् । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई १८ दलको आग्रहमा राष्ट्रपति यादवले पुनर्बहालीको निर्णय लिएका थिए । त्यसमा कांग्रेस सभापति कोइराला र एमाले अध्यक्ष झलनाथ खनालको समेत सहमति थियो ।
कोइरालाको स्वास्थ्यस्थिति बुझ्न प्रचण्ड सिंगापुर पुगेपछि कोइरालापुत्री तथा उपप्रधानमन्त्री सुजाताको सिंगापुरको मोबाइल नम्बरमा सर्म्पर्क गरी राष्ट्रपति यादवले कोइरालासँग कुराकानी गरेको स्रोतले बताएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by