ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 23, 2009

प्रचण्डमाथि विश्वास छैन : कोइराला

माओवादीकै कारण शान्ति प्रक्रियामा बाधा 

पोखरा (नागरिक)- नेपाली कङ्ग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाले माओवादीको ढुलमुले नीतिले अध्यक्ष पुष्पकमल दाहालसहित माओवादी पार्टीमाथि नै विश्वास घट्दै गएको बताएका छन्। कोइरालाले आफूले समेत अध्यक्ष दाहाललाई विश्वास नगर्ने बताए। 'गिरिजाबाबुले प्रचण्डलाई विश्वास गर्न सक्नुहुन्छ तर प्रचण्डमाथि मेरो विश्वास छैन', प्रेस युनियनले सोमबार पोखरामा गरेको पत्रकार भेटघाटमा कोइरालाले भने- माओवादीको ढुलमुले नीतिले ऊसहित नेतृत्वप्रति अविश्वास जन्माएको हो। कोइरालाले कङ्ग्रेसको सहयोगले माओवादी अहिलेको अवस्थामा आइसके पनि उसले जिम्मेवारी पूरा गर्न नसकेको बताए। 'माओवादीलाई कङ्ग्रेसले नै जङ्गलदेखि अहिलेको ठाउँसम्म ल्याएको हो तर उसले आफ्नो जिम्मेवारी पूरा गरेन'- कोइरालाले भने। उनले माओवादीकै कारण शान्ति प्रक्रियामा बाधा पुगेको पनि बताए।माओवादी अध्यक्ष पुष्पकमल दाहालले कङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग सिङ्गापुरमा भेटेर फर्केलगत्तै अहिलेको सरकारको गठबन्धन टुट्ने भन्दै दिएको अभिव्यक्तिले भ्रम सिर्जना गरेको कोइरालाले बताए। 'अध्यक्ष दाहालले अहिलेको अप्राकृतिक गठबन्धनको सरकार ढल्ने भन्दै दिएको अभिव्यक्तिले सर्वसाधारणमाथि भ्रम सिर्जना गरेको छ', कोइरालाले भने– अहिलेको सरकारले नै संविधान बनाउँछ।

माओवादीले राष्ट्रपतिलाई अनेक लान्छना लगाउन खोजेको आरोपसमेत कोइरालाले लगाए। 'सेनापतिको विषयलाई लिएर माओवादीले राष्ट्रपतिलाई लान्छना लगाउन खोजेको हो, हामी कुनै हालतमा त्यो हुन दिन्नौं'- कोइरालाले भने।

माओवादीले बजेट पारित गर्नका लागि तीन दिनसम्मका लागि व्यवस्थापिका संसद सुचारु गर्न दिनु सकारात्मक रहेको कोइरालाको भनाई थियो। 'बजेट पारित गर्न दिएर मात्र होइन, सहमतिमा आएर सहकार्य गर्न माओवादीलाई आग्रह गर्छु'- उनले भने।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by