ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 22, 2009

बायोग्यासमा सर्वसाधारणको आकर्षण

ध्रुव दंगाल/सिन्धुपाल्चोक(नयापत्रिका)

जिल्लाको हिमाली गाविस भोताङका पूरै ६० घरधुरीमा बायोग्यास प्लान्ट जडान भएका छन् । गाउँलाई प्रदूषणमुक्त क्षेत्र घोषणा गरेका चिलाउनेवासीले बायोग्यास प्रयोग थालेपछि जीवनस्तर फेरिएको बताउँछन् । वैकल्पिक इन्धन र उज्यालो दिने भएपछि बायोग्यासप्रति सर्वसाधरणको बढ्दो आकर्षणले जिल्लाका धेरै गाउँ वातावरण प्रदूषणरहित र खुला दिसा-पिसाबमुक्त क्षेत्र बन्दै गएका छन् । बायोग्यासबाट समय बचत हुने भएकाले ग्रामीण बासिन्दा यसको प्रयोगमा उत्साही देखिएका हुन् । जिल्लामा हालसम्म करिब एक हजार एक सय घरमा बायोग्यास प्लान्ट जडान भएको सरकारी अभिलेख छ । करिब डेढ सय संख्यामा यसै वर्ष बायोग्यास प्लान्टको जडान हुँदै छ । वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा सिन्धुपाल्चोकमा जिल्ला ऊर्जा विकास कार्यालय, बायोग्यास क्षेत्र साझेदारी नेपाल र सामुदायिक वन उपभोक्ता महासंघ बायोग्यास प्लान्ट विस्तारमा सक्रिय छन् । यसबाहेक सर्वसाधरणले व्यक्तिगत स्रोत-साधनमा पनि बायोग्यास जडान गरेका छन् । तर, यसको यकिन तथ्यांक सरकारी निकायसँग छैन ।

स्वास्थ्य तथा वातावरण व्यवस्थापन गर्ने उद्देश्यले बायोग्यास जडान गर्न चाहनेलाई १२ हजार रुपैयाँ अनुदान दिने नीति सरकारको छ । वैकल्पिक ऊर्जा प्रबर्द्धनमा नेपाल सरकारसँग साझेदारी गर्दै आएको युएनडिपीले तीन हजार पाँच सय रुपैयाँ थप अनुदान दिँदै आएको छ । त्यस्तै दुई/चार/६ घन मिटरका बायोग्यास र हिमाली गाविसलाई थप प्रोत्साहन सात/सात सय गरी एक हजार चार सय रुपैयाँ उपलब्ध गराइन्छ । गरिब, दलित, उत्पीडित, जनजाति र द्वन्द्वपीडितले यसबाहेक थप दुई हजार पाँच सय अनुदान पाउँदै आएका छन् ।

२५ असार ०५५ मा ग्रामीण ऊर्जा विकास कार्यक्रमले प्रवेश पाएपछि बायोग्यास प्रयोगकर्ता बढेका हुन् । जिल्लामा सर्वप्रथम बायोग्यास भित्र्याउने श्रेय बायोग्यास क्षेत्र साझेदारी नेपाललाई जान्छ । ०५० बाट कार्यक्रम लिएर जिल्ला छिरेको संस्थाले सरकारसँगको साझेदारीमा अहिलेसम्म सात सय ८१ बायोग्यास प्लान्ट निर्माण गरेको साझेदारी नेपालका तथ्यांक शाखा प्रबन्धक केशवदेवान राईले बताए । जिल्ला ऊर्जा विकास कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघको सहयोगमा क्रमशः एक सय ६५ र एक सय चार बायोग्यास प्लान्ट जडान भएका छन् ।

साझेदारी नेपालले मुलुकभर दुई लाख चार हजार चार सय ८७ बायोग्यास निर्माण गरेको जानकारी दिँदै प्रबन्धक राईले दाबी गरे, 'हामीले बनाएका ९८ प्रतिशत बायोग्यास सञ्चालनमा छन् ।' गोबर मात्र प्रयोग गरिने हुँदा सुरुमा गोबरग्यास भनिए पनि हाल पातपतिंगर कुहाएरसमेत प्रयोग गरिने प्रविधि भित्र्याइएकाले नाम परिवर्तन गरेर बायोग्यास राखिएको उनले जानकारी दिए ।

स्वास्थ्य तथा वातावरण प्रबर्द्धन गर्नु सरकारको उद्देश्य रहे पनि बायोग्यास ग्रामीण बासिन्दाका लागि बहुउपयोगी बनेको छ । यसले उज्यालोका लागि ऊर्जा, खाना बनाउनका लागि ग्यास र शौचालय सुविधा दिएको छ । दाउरा खोज्ने झन्झटबाट मुक्ति मिलेको छ भने समयको बचत सुविधा पनि गाउँलले पाएका छन् । 'धुँवाको चिन्ता नरहने र फोहोरको उचित व्यवस्थापन हुनाले स्वास्थ्यमा नै फाइदा मिल्ने रहेछ,' ०५५ मा घरमा गोबरग्यास जडान गर्दा दिसाले पकाएको खाना खाएको आरोपमा सामाजिक बहिस्कारको सिकार भएका प्रयोगकर्ता काले लामाले बायोग्यासले दिएको योगदान सुनाए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by