ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 27, 2009

करिमालाई कारबाही भइसक्यो : प्रम

'माओवादीले स्वायत्त गणराज्य घोषणा गरेर मुठभेड निम्त्यायो'

नेपालगन्ज (नागरिक)- 

सिडिओ कुट्ने राज्य मन्त्रीमाथि कारबाहीको माग गर्दै वीरगन्जलगायत् देशभरका कर्मचारीले आन्दोलन गरिरहेका बेला प्रधानमन्त्री माधवकुमार नेपालले उनलाई कारबाही भइसकेको बताएका छन्। 'राज्य मन्त्रीले गल्ती स्वीकार गरिसकेकाले सरकारले त्यसलाई नै कारबाहीका रुपमा लिएको छ'- प्रधानमन्त्रीले भने। अहिलेको अवस्थामा करिमालाई योभन्दा बढी कारबाही गर्न सकिँदैन।'- उनको थप भनाइ थियो। गल्ती स्वीकार गर्दैमा कारबाही मान्ने हो भने मन्त्रीलाई सर्वसाधारणले कुटेर माफी मागे सरकारले के गर्छ ? भन्ने संवाददाताको प्रश्नमा प्रधानमन्त्री नाजवाफ भए। 
राज्यमन्त्रीलाई कारबाही भइसक्यो भनी बताइरहँदा करिमाको पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि सँगै थिए। निर्माण व्यवसायी सङ्घको साधारणसभा उदघाटन गर्न धनगढी जाने क्रममा प्रधानमन्त्री नेपालले नेपालगन्ज विमानस्थलमा पत्रकारहरूसँग त्यसो भनेका हुन। 

माओवादीले थालेका स्वायत्त गणराज्य घोषणाले मुलुक मुठभेडतर्फ अघि बढेको पनि उनले बताए। 'देश र जनताका लागि यो अनुत्तरदायी काम हो', प्रधानमन्त्री नेपालले भने‍- मनपरि र एकलौटीरुपमा यसरी अघि बढ्ने हो भने मुठभेड तल्लो स्तरसम्म पुग्छ। 

एमालेमा बसेर माओवादीको चाकडी गर्ने र प्रवक्ता बन्ने क्रम बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यस्ता नेताहरूलाई पार्टीप्रति इमानदार हुन आग्रह गरे। 'एमालेमा बस्नुछ भने माओवादीको चाकडी गर्ने र प्रवक्ता बन्ने काम बन्द गर्नुपर्छ'- प्रधानमन्त्री नेपालले भने।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by