फोरम अध्यक्ष, उपेन्द्र यादव
तपाईं यो सरकारमा उपप्रधानमन्त्री बन्ने चर्चा आएको थियो, फेरि किन सेलायो ?
त्यस्तो अफरका कुरा हावामा उडिरहन्छन् ।
के कुरा भएपछि सरकारमा सहभागी हुन्छ फोरम ?
मधेसी जनताको सपना साकार हुने भयो भने फोरम सरकारमा जान्छ ।
कसरी हुन्छ त त्यो सपना साकार ?
मधेसलाई प्रादेशिक, क्षेत्रीय स्वायत्तता दिएर ।
फोरमभित्र कसको नेतृत्वमा सरकारमा जाने कुरामा विवाद छ भनिन्छ नि ?
कुनै विवाद छैन । यथास्थितिमा फोरम कुनै पनि हालतमा सरकारमा जाँदैन । गएर पनि कुनै औचित्य छैन, कुनै तात्त्विक अन्तर हुनेवाला छैन । अहिले फोरम सरकारमा गएर पनि मुलुकको कुनै पनि समस्या समाधान हुँदैन । हामी समष्टिगत रूपमा सबै समस्याको समाधान गर्ने उपायको खोजीमा छौँ, ताकि त्यसले मुलुकको समस्या समाधान होस् ।
दुई फोरम एक हुने सम्भावना कत्तिको छ ?
फोरम दुईवटा छँदै छैन । फोरम एउटै थियो, एउटै छ, एउटै रहन्छ । जो आगन्तुक थिए, जो अवसरका खोजीमा थिए, उनीहरू यहाँ अवसर नपाउँदा अर्को ठाउँ गए । फोरमको भावनासँग मेल नखानेहरू गए, तिनीहरूसँग फेरि एकता गरेर के गर्नु ? विजय त गच्छदार होइन गद्दार हो । पैसा र सत्ताका लागि उनीहरूले मधेसी जनतालाई धोका दिएको जगजाहेर छ । त्यसैले उनीहरूसँग एकीकरण हुँदैन ।
सरकारमा सहभागी नभए फेरि फोरम फुटाइदिने धम्की आइरहेको तपाईंकै सभासद्ले बोलिरहनुभएको छ, के यो सत्य हो ?
फोरम गठन भएदेखि नै फुटाइदिने मात्रै होइन, समाप्त नै गरिदिने धेरै धम्की आए, आउँदै गर्छन् । त्यसले फोरमलाई केही फरक पर्दैन । जतिपल्ट फोरमलाई फुटाइन्छ, यो त्यति नै शक्तिशाली भएर मधेसी जनताबीचमा रहिरहन्छ ।
सरकारमा जान तपाईंको सर्त के हो ?
हाम्रो माग मात्रै होइन, मुलुकको समस्या हल भइहाल्यो भने हामी सहभागी नभए पनि सन्तोष नै लाग्छ । त्यसकारण हामी सहभागी हुने/नहुने भन्दा पनि राष्ट्रसामु देखापरेका समस्या कसरी हल गर्ने भन्ने महत्त्वपूर्ण कुरा हो । अहिले ४६ जना मन्त्री छन्, अझै थपेर ५०/६० जना मन्त्री बनाउन सकिएला, तर त्यसले समस्या हल हुनुको सट्टा मुलुक झन् उल्झनमा पर्छ । अहिले मन्त्री थप्न मान्छेहरू किन उद्यत भइरहेका छन्, त्यो मैले बुझ्न सकिरहेको छैन । 'मान नमान मैं तेरा मेहमान' भनेझैँ हामीलाई किन सरकारमा लग्न खोजिरहेका छन् सत्तारूढ दलहरू, मैले बुझ्न सकिनँ । अब ४६ जना मन्त्री भएर पनि के नपुग्या हो ? सरकार त चलेकै छ, लुटेर खाएकै छन्, त्यसमा हामी किन चाहिएको हो ? अनि, त्यहाँ किन चाहियो हाम्रो सहभागिता, मैले बुझ्न सकिनँ । हाम्रो सहभागिताबिना माधव नेपाल बैतर्नी पार हुन सक्दैनन् र ?
भारत त अहिलेकै सरकारको निरन्तरताका पक्षमा देखियो भनिन्छ, कुरा के हो ?
भारतका केही ब्युरोक्रेटका लागि माधव नेपाल ज्यादै पि्रय रहेछन् । त्यसैले उनीहरूले माधव नेपाल नेतृत्वकै सरकारलाई निरन्तरता दिन चाहेका छन् । ब्युरोक्रेसीको भनाइ मानेर केही भारतीय नेताले पनि माधव सरकार नढालिदिनुहोला भने । तर, आमभारतीय नेताले माधव नेपाल सरकार असफल भइसकेको बुझेको मैले पाएँ ।
सरकार ढाल्ने, बनाउने कुरामा भारतको भूमिका ठूलो हुन्छ नेपालमा, आखिर किन यस्तो भइरहेको छ ?
राजनीतिक दलभित्र असमझदारी रहेसम्म यो भइरहन्छ । हामी आफैँ समझदारी नगर्ने र अरूले सरकार ढाल्यो भन्नु गलत हो । आफैँ समझदारी गरेर अघि बढियो भने त्यसमा कसैले केही गर्न सक्दैन । आफ्नो कमी-कमजोरी नदेख्ने तर भारतले सरकार ढाल्यो वा हस्तक्षेप गर्यो भन्नु गलत हो ।
उपराष्ट्रपति प्रकरणमा फोरम के गर्दै छ ?
फोरमले स्पष्ट रूपमा प्रधानमन्त्रीलाई के भनेको छ भने हिन्दी भाषालाई सरकारी कामकाजको मान्यता देऊ । हिन्दीका साथै अरू मैथिली अबधी, नेवारी, तामाङ, मगरलगायतका सबै मातृभाषालाई राजकीय भाषा अथवा सरकारी कामकाजका भाषाका रूपमा मान्यता दिएर भाषिक समानताको मुद्दालाई सम्बोधन गर । अधिकार पाए यस्ता समस्या समाधान हुन्छन् ।
भाषासम्बन्धी विधयेक पनि संसद्मा पुगेको छ, त्यसले समस्या समाधान गर्दैन र ?
कानुनी रूपमा त्यसले समस्या समाधान गर्दैन, त्यस्ता 'ठगीधन्दा'ले उपराष्ट्रपतिको मुद्दा समाधान गर्दैन । यो सरासर ठगी हो ।
के गरे समस्या समाधान हुन्छ त ?
भाषाका सूचीहरू बनाएर भाषा कुन हो, बोली कुन हो छुट्टयाउनुपर्यो । जुन भाषामा पर्छ त्यसलाई 'रिकोग्नाइज' गर्नुपर्छ र त्यसलाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिनुपर्छ । स्वतः यो समस्या समाधान हुन्छ । उपराष्ट्रपतिलाई जुन अपमान गरिएको छ, त्यसप्रति क्षमा माग्दै उनको निवासबाट झिकिएको झन्डा फेरि गाडेर उनलाई ब्यान्डबाजासहित स्वागत, सम्मान गरेर, सबै सुविधा उपलब्ध गराएर मधेससामु माफी मागे यो समस्या हल हुन्छ ।
भारतीय नेतासमक्ष नेपालका केही नेताले संविधानसभा भंग गर्ने कुरा गरेका छन् भन्ने चर्चा छ, तपाईंले भर्खरै भारत-भ्रमण गर्नुभएको छ, कुरा के भयो ?
यथार्थ के हो भने लोकतन्त्र, संघीयता र गणतन्त्रका विरोधीले आफ्नो स्वार्थरक्षाका लागि भारतसँग गुहार माग्न जाने गरेका छन् । यसको जवाफ गुहार माग्न जानेहरूले दिऊन्, मलाई केही भन्नु छैन ।
समग्र मधेस एक प्रदेश र स्वायत्त मधेस एक प्रदेशमा के भिन्नता छ ?
समग्र मधेस एक प्रदेश र स्वायत्त मधेस एक प्रदेश एउटै हो । मधेसलाई स्वायत्तता दिने भनेको टुक्रा मधेस, आंशिक मधेस भन्या होइन । स्वायत्तता भन्ने कुरा मधेसी जनताको अधिकार हो । मधेसी जनताले आफ्नो भाग्यको फैसला आफैँ गर्ने अधिकार पाउनुपर्छ । र उसको आफ्नो भूमिमा आफ्नो स्वशासन हुनुपर्छ । केन्द्रमा उसको साझेदारी हुनुपर्छ । अनि मात्रै मधेस आन्तरिक उपनिवेशबाट मुक्त भएको मानिनेछ ।
स्वायत्त मधेस प्रदेशका विरोधमा त्यहीँका दलित, मुस्लिम, थारूहरू छन् नि ?
स्वायत्त मधेस प्रदेशविरोधी कोही छैनन् मधेसमा । ती मधेसविरोधी खस शासकवर्गका भरौटे हुन्, जसले विरोध गरेका छन् । केहीले चाहिँ नबुझेर, भ्रमित भएर विरोध गरेका हुन् । तर, मुक्ति उनीहरूलाई पनि चाहिएको छ । स्वायत्त मधेस प्रदेशको जसले विरोध गरेको छ त्यसको हितमा पनि त्यही छ ।
मधेसभित्र रहेका मधेसी दलित, मुस्लिमलाई कसरी स्वायत्त मधेसले सम्बोधन गर्छ त ?
होइन, स्वायत्त मधेसले त्यहाँका मधेसी दलित, मुस्लिम आदिलाई स्वायत्तता दिने होइन । त्यहाँ कुनै जाति, वर्गले स्वायत्तता पाउने होइन, सबैले पाउने हो । त्यसैले, उनीहरूको मुक्ति पनि स्वायत्त मधेस प्रदेशभित्रै हुन्छ ।
मधेस आन्दोलनका घाइते तथा सहिद परिवारले अहिलेसम्म पनि क्षतिपूर्ति पाएका छैनन् नि ?
यो सत्य हो । अहिलेसम्म पनि घाइते तथा सहिद परिवारले राहत पाएका छैनन् । हाम्रो ज्ञापनपत्रमा त्यो कुरा पनि उल्लेख छ । त्यो पूरा भएन भने फेरि हामी आन्दोलनमा जानेछौँ ।
समग्र मधेस एक प्रदेशको माग गर्ने फोरमले पहाडमा पनि संगठन विस्तार गर्ने कुरा गरेको छ, पहाडका जनताका लागि कस्तो ऐजन्डा छ फोरमसँग ?
पहाडी जनताले पनि समान अधिकार पाउनुपर्छ । त्यहाँ पनि राज्यले गरेको भेदभाव र अन्यायलाई हटाउनुपर्छ । कर्णाली क्षेत्रका जनता भए, हिमाली क्षेत्रका जनता भए, त्यहाँका जनजातिहरू भए, दलितहरू भए जसमाथि दुई सय ४० वर्षदेखि राज्यले भेदभाव र असमानता गरेको छ । त्यसको समाप्ति हुनुपर्छ । आर्थिक उन्नति र त्यहाँका जनताले पनि स्वायत्तता पाउनुपर्छ ।
तर, नामै मधेसी फोरम भएपछि पहाडमा संगठन कसरी गर्नुहुन्छ ?
नाममा के छ र ? यसले कुनै फरक पार्दैन । मुख्य कुरो सिद्धान्त हो, नाम होइन । कसैको नाम वीरबहादुर राखिदियो भने त्यो ठूलै बलवान् भइहाल्छ भन्ने छैन ।
अहिलेका सत्तासीन दलहरूको सुबुद्धि आएन र उनीहरूले आफ्नो चरित्रलाई फेरेनन् भने तोकिएको समयको त कुरै छोडिदिऊँ, उनीहरूले संविधान बन्नै दिँदैनन् । सत्तामा बसेका दलहरूले संविधान निर्माणतर्फ इमानदारीसाथ अघि बढ्नुपर्छ । संविधान बनाउन सत्तासीन दलहरू गम्भीर भएको जनताले महसुस गर्न पाएका छैनन् ।
प्रसंग बदलौँ, राष्ट्रियताका सवालमा मधेसीलाई शंकाको दृष्टिले हेरिन्छ, तपाईंलाई त्यस्तो लाग्दैन ?
मधेसी अनुहार, उनीहरूको भेषभूषा, बोली, भाषा, रहनसहन मन नपरेर नै यस्तो चिन्तन बढेको होला । यो 'संकीर्ण अन्धमण्डले चिन्तनवाद' हो । यो अन्धराष्ट्रवादी चिन्तन हो, यो घोर साम्प्रदायिक चिन्तन हो । त्यही चिन्तन भएकाले मधेसीको अनुहार, भेषभूषा, रहनसहन मन पराउँदैनन् ।
सीमा विवाद हुँदा मधेसवादी दल किन मौन बस्छन् ?
सीमा विवाद सुल्झाउन राज्यले निर्णय गरेर मधेसवादी दलहरूलाई जिम्मा लगाओस्, अनि त्यसपछि हामीले के गर्नुपर्छ गरौँला । तर, कुरा के हो भन्दाखेरि राज्यले नै आफ्नो दायित्व पूरा गरेन । विवाद छ भने त्यो सुल्झाउने काम सरकारको हुन्छ र सरकारले पनि कूटनीतिक माध्यमबाट त्यो विवाद सुल्झाउनुपर्छ ।
तपाईंले भारतबाट फर्कँदा विमानस्थलमै भन्नुभयो— भारत माओवादीदेखि सशंकित रहेछ । तपाईंलाई किन त्यस्तो लाग्यो ? भारतीय नेताहरूले त्यस्तो के भने ?
खासमा नेपालका माओवादी र भारतीय माओवादीबीचको सम्बन्ध र माओवादी नेतृत्वबाट आइरहेको अभिव्यक्तिबाट भारत सशंकित छ ।
चीनसँगको निकटताले भारत तपाईंसँग पनि सशंकित छ भनिन्छ नि ?
म चीनसँग नजिक कहाँ कसरी देखिएँ ? मलाई थाहा छैन । मधेसीको भारतीयसँग सांस्कृतिक सम्बन्ध छ, ब्लडको सम्बन्ध छ, प्रत्येक घरको सम्बन्ध छ । त्यसैले भारतसँगको सम्बन्ध स्वाभाविक रूपमा नजिक छ ।
तपाईंहरूको महाधिवेशनमा चिनियाँ उच्च अधिकारीहरूको उपस्थितिले चीनप्रति तपाईंको झुकाब बढी देखिएको छ भनिन्छ नि ?
चीन र भारत हाम्रा दुई असल सहयोगी छिमेकी हुन् । यसमा कसैप्रति बढी र कसैप्रति कम झुकाब राख्ने कुरै आउँदैन । जहाँसम्म महाधिवेशनको कुरा छ, त्यसमा चीनका मात्रै होइन, अरू देशका पनि पर्यवेक्षक आएका थिए । त्यसलाई निकटताका रूपमा व्याख्या गर्नु गलत हो ।
तराईका सशस्त्र समूहलाई भारतले सहयोग गरिरहेको छ भनिन्छ, तपाईंलाई के लाग्छ ?
भारत आफैँमा विशाल देश हो, त्यहाँ धेरैथोक पाइन्छन् । त्यहाँबाट हतियार पनि पाइन्छ । ल्याए होलान् । यसमा भारतले सहयोग गरेको भन्ने मलाई लाग्दैन ।
भारत विशाल देश भएकै कारण नेपालका लागि हेडमास्टरको व्यवहार गरेको हो त ?
अब चपरासीको जागिर खान भनेर हात पसारेपछि हेडमास्टरको व्यवहार गरिहाल्छ नि, होइन र ?
मधेसी दल जहिले पनि सत्तामा जानका लागि मात्र किन फुट्छन् ?
मधेसीहरू सत्तामा अहिलेसम्म गएकै छैनन्, सरकारमा मात्र गएका छन् । जहाँसम्म पार्टी फुट्ने कुरा छ, के मधेसी पार्टी मात्रै फुटेका छन् र ? कम्युनिस्ट ६० पटक, कांग्रेस २७ पटक फुटिसकेका छन् । त्यस्तै, राप्रपालगायत अन्य पार्टी पनि फुटेका छन् । कुन यस्तो पार्टी छ, जहाँ गुट-उपगुट छैनन् । मलाई एउटा त्यस्तो पार्टी देखाइदिनुस् त । त्यसैले मधेसवादी दल जुन दिन सत्तामा जान्छन्, यो गुट/पार्टी फुट स्वतः बन्द हुन्छ । मधेसी जनताले पनि सत्ता सञ्चालन गर्ने दिन आउँदै छ । फेरि मधेसी दल फुटेनन् भने खसहरूका पार्टी कसरी चल्छन् ?
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति नै विवादमा आए, तपाईंले कस्तो मूल्यांकन गर्नुभएको छ ?
१८ दलले त राष्ट्रपतिजीलाई झन्डै खाल्डामा हालेका थिए । राष्ट्रपतिलाई गलत काम गर्न सल्लाह दिने १८ दल मुख्य दोषी हुन् ।
अब कसको नेतृत्वमा कस्तो सरकार बन्नुपर्छ ?
त्यो राजनीतिक दलहरूको उच्चस्तरीय संयन्त्रले निर्धारण गर्ने हो । अबको सरकारमा राजनीतिक सुझबुझ भएका र जनताद्वारा विजय गराइएका व्यक्तिहरू सहभागी हुनुपर्छ । भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएका र हरुवाहरूविहीन सरकार बन्नुपर्छ । नेतृत्वका सवालमा उच्चस्तरीय संयन्त्रले निर्धारण गर्छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रमा मधेसवादी दलहरूको स्थान के रहला ?
स्थानभन्दा पनि राष्ट्रिय सहमति कायम गर्न प्रमुख राजनीतिक दलबीच समझदारी गरेर उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने र त्यस संयन्त्रले मुलुकसामु देखापरेका जटिल समस्या समाधान गर्ने प्रक्रिया अघि बढाउनुपर्छ । त्यस संयन्त्रले सरकारको स्वरूपलाई समावेशी बनाउने र राष्ट्रिय सहमतिमा आधारित एकताको सरकार बनाउने हो भने महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । होइन, यदि सत्ता साझेदार दुई/तीन दलभित्र मात्र सहमति बनाइने हो भने त्यसको दायरा सीमित र संकुचित हुन्छ, त्यस्तो संयन्त्र अर्थहीन हुन्छ । त्यसैले, संयन्त्र बनाउँदा त्यसको दायरा, क्षेत्राधिकार के-के हुने र त्यसलाई राज्यले कसरी मान्ने भन्ने पक्ष महत्त्वपूर्ण हुन्छन् । राजनीतिक नाराका लागि अलमल्याउन मात्रै संयन्त्र बनाउने हो भने त्यसले समस्या सुल्झाउनुको सट्टा बल्झाएर जान्छ ।
तपाईंहरूसँग यस विषयमा छलफल भएको छ कि छैन ?
केही कुरा भएको छ, तर गहिरो छलफल भएको छैन ।
सबै दलबीच सहमति गराउन राष्ट्रिय सहमति गर्न तपाईंहरू सकारात्मक हुनुहुन्छ । तर, मधेसवादी दलहरूबीचमै एकता होइन, फुट भइरहेको छ नि ?
मधेसवादी दल, पहाडवादी दल र हिमालवादी दल भनेको आधारमा एकता हुदैन । एकता नीतिगत आधारमा हुन्छ, साझा लक्ष्यका आधारमा हुन्छ । सबै मधेसवादी दलका लक्ष्य मधेसी जनतालाई मुक्ति र अधिकार दिलाउने होइन, त्यस कारणले पनि एकता नभएको हो ।
No comments:
Post a Comment