ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 24, 2009

दुई नयाँ हेलिकोप्टर कम्पनीले उडान गर्ने


नवीन तिमिल्सिना/काठमाडौं(नयाँ पत्रिका)

नेपाली आकाशमा दुई नयाँ कम्पनीले हेलिकोप्टर उडान सेवा सुरु गर्ने भएका छन् । नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्रमाणपत्र (एओसी) प्राप्त गरिसकेका मुक्तिनाथ एयर र माउन्टेन हेलिकोप्टरले निकट भविष्यमा नै सेवा सुरु गर्ने तयारीमा छन् । १ असोजमा प्राधिकरणबाट एओसी लिएको माउन्टेन हेलिकोप्टर मंसिर महिनाभित्र सञ्चालनमा आउने कम्पनीका अध्यक्ष हीरा दाहालले बताए । 'केही दिनमा नै हाम्रो हेलिकोप्टर आउँदै छ,' उनले भने, 'हेलिकोप्टर आएपछि उडान सुरु गर्छां ।'
२६ कात्तिकमा एओसी प्राप्त गरेको मुक्तिनाथ एयर भने माघ महिनासम्ममा सञ्चालनमा आउने कम्पनीका सञ्चालक क्याप्टेन मदन केसीले बताए । 'हामी जहाज खरिदको प्रक्रियमा छौँ,' उनले भने, 'खरिदपछि तत्कालै सेवा सुरु गर्छां ।'
यसै महिनादेखि सञ्चालनमा आउन लागेको माउन्टेन हेलिकोप्टरले फ्रान्सेली कम्पनी अल्फा सेराको एस ३५०- बिटु जहाजमार्फत उडान थाल्ने भएको छ । सन् २००३ मा निर्मित सो जहाजले ५ यात्रु बोकेर २० हजार फिट माथिसम्म उड्न सक्ने दाहालले बताए । सेकेन्ड ह्यान्ड जहाज खरिद गरी सेवा सञ्चालन गरेको सो कम्पनीले दुई महिनाभित्रमा अर्काे हेलिकोप्टर भित्र्याउने योजना बनाएको छ ।

हिमाली क्षेत्रको उद्धारमा प्रख्यात क्याप्टेन मदन केसीको समूहले सञ्चालन गर्न लागेको मुक्तिनाथ एयरले भने दुई हेलिकोप्टरका साथ सेवा सुरु गर्ने भएको छ । कम्पनी एउटा रसियन र एउटा फ्रेन्च हेलिकोप्टरले उडान भर्ने योजना बनाएको केसीले बताए । जसमध्ये एसएस-३५० बिटु मोडलको सेकेन्ड ह्यान्ड फ्रेन्च हेलिकोप्टर खरिद गरिनेछ भने एक रसियन हेलिकोप्टरपछि खरिद गर्न सकिने व्यवस्थासहित भाडामा ल्याएर उडाउने योजना बनाएको छ ।

एसएस-३५० बिटु जहाज नेपालको भौगोलिक अवस्थाअनुसार उच्च हिमाली भागमा उद्धार कार्य तथा मालसामान ओसार-पसारका लागि उपयुक्त हुने भएकालेसोही विमान खरिद गर्न लागेको केसीको भनाइ छ । अमेरिकी कम्पनीसँग खरिद गर्न लागिएको फ्रान्समा निर्मित सो जहाज मूल्य करिब ११ करोड रुपैयाँ पर्ने उनले बताए । एक पाइलटसहित ६ जनाले यात्रा गर्न सकिने सो हेलिकोप्टरको भारबहन क्षमता ४ सय ५० किलो छ । यसैगरी, २४ यात्रुक्षमता भएको रसियन हेलिकोप्टरले ४ टनसम्म बोक्ने क्षमता राख्छ । ४० करोड रुपैयाँ पर्ने सो जहाज नेपालको भौगोलिक परिवेश सुहाउँदो भएको केसीले बताए ।

हाल नेपालमा श्री एयरलाइन्स, मनाङ एयर, सिमि्रक एयर, एयर डाइनास्टी र फिस्टेल एयरले हेलिकोप्टर सेवा प्रदान गर्दै आएका छन् । भौगोलिक विकटता भएका ठाउँहरू भएकाले नेपालमा हेलिकोप्टर उडानको प्रशस्त सम्भावना भएको माउन्टेनका सञ्चालक दाहालले बताए । उडान सेवाप्रदायक कम्पनीले उड्डयन प्राधिकरणबाट उडान अनुमति प्रमाणपत्र लिएकोे एक वर्षभित्र सेवा सञ्चालन गर्नुपर्ने वैधानिक प्रावधान छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by