ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, November 23, 2009

पैसा लगे तर, सञ्चालनमा आएनन् सहकारी पसल

नयाँ पत्रिका/सिन्धुपाल्चोक(कान्तिपुर)

सिन्धुपाल्चोकका अधिकांश गाविसमा सुपथ मूल्यका सहकारी पसल सञ्चालनमा नआएको गुनासो आउन थालेको छ । गाउँमै सस्तो मूल्यमा दैनिक उपभोग्य सामग्री खरिद गर्न नपाएपछि उपभोक्ता आफैं यस्तो गुनासो लिएर जिल्ला विकास कार्यालय आउने क्रम बढेको हो । कार्यालयले जिल्लाका सबै गाविसमा ७९ सुपथ मूल्यका सहकारी पसल छनोट गरेर एक लाखका दरले ७९ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । 'अनुदान लगे पनि पसलै सञ्चालन नभएको गुनासो आइरहेका छन्,' कृषि प्रसार अधिकृत कुलप्रसाद सुवेदीले अनुदान रकमको उचित सदुपयोग नभएको शंका गर्दै नयाँ पत्रिकासँग भने । उनले मौखिक उजुरी आइरहेको बताए । माओवादी नेतृत्वको सरकारले 'एक गाविस एक सहकारी पसल' कार्यक्रम ल्याएपछि आवेदन दिएर छनोटमा परेका सहकारीले अनुदान लगेका थिए । कृषि प्रसार अधिकृत सुवेदीले ३५ बढी पसल सञ्चालनमा नआएको जानकारी सम्बन्धित गाविसका उपभोक्ताले ल्याइरहेको बताए । उनका अनुसार ६६ सहकारीले रासायनिक मल बिक्रीका लागि कार्यालयसँग सिफारिस माग गरेका थिए । तीमध्ये ४४ ले मात्र रासायनिक मल बिक्री गरेको कार्यालयको तथ्यांक छ । '२३ सहकारी अहिलेसम्म सम्पर्कमा नआएकाले तिनको अत्तोपत्तो छैन,' सुवेदीले भने, 'यसैलाई आधार मान्ने हो भने पनि आधा सहकारी सञ्चालनमा नआएको बुझ्न सकिन्छ ।' सहकारी पसलको अहिलेसम्म कुनै निकायबाट अनुगमन भएको छैन । सहकारी पसलको अनुगमनका लागि सरकारले जिल्लास्तरमा संयन्त्र नै बनाएको छ । स्थानीय विकास अधिकारीको अध्यक्षतामा नौ सदस्यीय अनुगमन समिति रहने व्यवस्था छ, जसको नाम 'सुपथ मूल्य सहकारी पसल अनुगमन समित' राखिएको छ ।

सहकारी छनोटपछि एकपटक बैठक बसेको समिति आफैं निष्त्रिय छ । कृषि प्रसार अधिकृत सुवेदीले समितिले अनुगमन नगरेको स्विकारे । 'एकपटक पनि अनुगमन भएको छैन,' उनी भन्छन्, 'अनुगमन अभावले पनि अनियमितता बढेको हुन सक्छ ।' अगमनको लागि संयन्त्र तयार भए पनि बजेट र अनुगमन निर्देशिकाको अभावमा अनुगमन गर्न नसकिएको बताइएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by