ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 28, 2009

१२ करोडको सरकारी भवनमा निवास


खगेन्द्र पन्त/बर्लिन-जर्मनी(नयापत्रिका)

जर्मनीमा नेपाल सरकारको स्वामित्वमा रहेका दुई छुट्टाछुट्टै ठाउँमा दुईतले तीनवटा भवन छन् । दुई भवन बन्जर छन् भने पछिल्लोपटक नेपाली रुपैयाँ १२ करोडभन्दा बढीमा खरिद गरिएको तेस्रो भवनमा नेपाली राजदूतले आफ्नो निवास बनाएका छन् । दूतावास कार्यालय भने मासिक नेपाली रुपैयाँ झन्डै दस लाख तिरेर भाडामा लिइएको छ । पश्चिम बर्लिनको मुख्य भाग जुहु स्टेसनमा एउटा फ्ल्याट भाडामा लिएर राखिएको दूतावासको अवस्था दयनीय छ । दूतावास कार्यालय देख्दा जुनसुकै नेपालीको पनि मन कुडिन्छ । विदेशीहरू त हाँस्छन् नै । स्वयं दूतावासका कर्मचारी 'अफिस भन्न लाज लाग्ने स्थिति छ,' भन्छन् । दूतावासको तुलनामा नेपाली राजदूत सुरेश प्रधानको सरकारीनिवास भने दुईतले भए पनि भव्य लाग्छ । बोन सहरमा रहेका दुईवटा भवन र उत्तर-पश्चिम बर्लिनको स्पान्डाउमा रहेको तेस्रो भवन बर्लिनको मुख्य भागभन्दा टाढा रहेकाले कार्यालय भाडामा लिनुपरेको दूतावासले जनाएको छ ।
सन् २००० मा १ दशमलव २ मिलियन युरो -१२ करोडभन्दा बढी) मा खरिद गरिएको स्पान्डाउमा रहेको भवनलाई राजदूत प्रधानको निवास बनाइएको छ । दूतावास रहेको जुहु स्टेसनबाट राजदूतको निवास रहेको स्पान्डाउ पुग्न गाडीमा करिब आधा घन्टा लाग्छ ।

'यो रेजिडेन्सियल एरिया हो । यहाँ अफिस राख्यो भने को आउँछ र कामका लागि ? त्यसैले निवास बनाउनुको विकल्प थिएन,' राजदुत प्रधानले अघिल्लो साता आफ्नै निवासमा नयाँ पत्रिकासित भने । त्यतिखेर दूतावासका लागि भनेरै भवन किनिएको भए पनि पछि टाढा लगेर दूतावासको कार्यालय भाडामा लिएर निवास बनाइएको उनले बताए ।

'त्यतिखेर किन्नेहरूले के सोचेर यो ठाउँमा दूतावासका लागि घर किने कुन्नि ? बुद्धि पुर्‍याएनन् उनीहरूले,' राजदूत प्रधानले भने । प्रधानका अनुसार अहिले दूतावासको कार्यालय राखिएको फ्ल्याटको मासिक भाडा नौ हजार युरो छ ।

भाडाको कार्यालयमा एघार कोठा छन्, तर तिनको पनि व्यवस्थापन गर्न सकिएको छैन । आर्थिक समस्याका कारण दूतावासलाई 'अफिसजस्तो' अझै बनाउन नसकिएको राजदूत प्रधान स्वयं बताउँछन् । 'पर्दाहरू त केही दिनअघि मात्रै राख्न सकेको,' प्रधानले भने, 'कोही मान्छे आउँदा पनि सोझै आफ्नै कोठामा लैजानुपर्ने बाध्यता छ ।'

जर्मनीको राजधानी बोनमा हुँदा नेपाल सरकारले दूतावासका लागि त्यहाँ एक हजार आठ सय स्क्वायर मिटर र नौ सय ९० स्क्वायर मिटरको छुट्टाछुट्टै जग्गामा बनेका दुईतले दुईवटा भवन किनेको थियो । सन् २००० सम्म नेपाली दूतावास पनि बोनमै थियो । जर्मनीको राजधानी बोनबाट बर्लिन सारिएपछि नेपाल सरकारले पनि दूतावासका लागि बर्लिनको स्पान्डाउमा भवन किनेको हो । त्यतिखेर १ दशमलव २ मिलियन -१२ करोड नेपाली रुपैयाँभन्दा बढी) युरोमा उक्त भवन किनिएको हो ।

दूतावास बर्लिन सारिएपछि बोनमा रहेका दुईवटा भवन भने अलपत्र छाडिए । घर रेखदेख गर्ने कुनै मान्छे समेत राखिएन । त्यही भएर होला, एउटा भवन जीर्ण भएर भत्किन थालेको छ । सम्भार नभए अर्को भवन पनि चाँडै त्यस्तै हुने दूतावासका कर्मचारी बताउँछन् ।

राजदूत प्रधान दुई महिनाअघि बोनमा रहेका घर रेखदेख गर्न एकजना मान्छे राखेको बताउँछन् । 'त्यत्रो सम्पत्ति अलपत्र छाडिएको थियो । एउटा भवन त भत्किन थालेको छ, अहिले भने रेखदेखका लागि एकजना मान्छे राखेको छु,' उनले भने । बोनमा रहेका भवन र जग्गा बेच्न पाए बर्लिनमा दूतावासका लागि आफ्नै भवन किन्ने योजना रहेको राजदूत प्रधानले बताए । 'त्यहाँको सम्पत्तिको मूल्यांकन गरेर बेच्नुपर्नेछ । त्यसो भएयता बर्लिनमै भवन किन्न सकिन्छ,' उनले भने ।

दूतावासमा आर्थिक समस्या भने जहिले पनि खट्किन्छ । सरकारले पैसा नपठाउँदा जसोतसो गरेर भए पनि कर्मचारीलाई जसोतसो कात्तिकको तलब खुवाएकाको राजदूत प्रधानले बताए । बजेट पारित नभएको भए मंसिरदेखि कर्मचारीलाई तलब खुवाउन नसकिने अवस्थामा दूतावास पुगिसकेको थियो ।

दूतावासमा अहिले आठजना कर्मचारी छन् । चारजना स्थानीय कर्मचारी र चारजना डिप्लोम्याट्स छन् । पैसाकै अभावमा दूतावासले अस्टि्रया, चेक र पोल्यान्डसितको कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा पनि कुनै कार्यक्रम गर्न पाएन । 'नेपालप्रति त्यहाँका मान्ेछको मोह छ, राम्रो मान्छन् । तर, हाम्रो सम्बन्धको ५० वर्ष पुगेको अवसरमा पनि केही गर्न सकिएन,' राजदूत प्रधानले भने । पैसाकै अभावमा राजदूत प्रधानले त्यस अवसरमा ती मुलुक जान पनि पाएनन् ।

आर्थिक अवस्था कतिसम्म दयनीय छ भने कुनै नेपाली सरकारी अधिकारी जर्मनी जाँदा पनि दूतावासले औपचारिक कार्यक्रम गर्न नसक्ने अवस्था छ । नेपाली राजनीतिज्ञ वा अधिकारी जाँदा दूतावासले त्यहाँ रहेका गैरआवासीय नेपालीलाई गुहार्ने गर्छ ।

जर्मनस्थित गैरआवसीय नेपाली संघले नै दूतावासको आग्रहमा नेपालबाट जाने अथितिको सत्कार गर्ने गर्छ । 'दूतावासको अवस्था नै दयनीय छ, कोही आउँदा पनि हामीलाई भन्छ,' गैरआवासीय नेपाली संघ जर्मनीका महासचिव केदार प्रधानले नयाँ पत्रिकासित भने । महासचिव प्रधान नेपाली आउँदा सत्कार गर्न पाउँदा उनीहरूलाई पनि खुसी लाग्छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by