पोखरा , २०६६ पुस २४ -
माओवादीका पोलिटब्यूरो सदस्य देब गुरुङले सुगौली सन्धीपछि नेपाल विधिवत रुपमा उपनीबेश बनेको र भारतसंगको सन् १९५० सन्धी पंचशीलको मान्यता तथा राष्ट्रसंघको बडापत्र विरुद्ध भएको बताएका छन । माओवादीको चौथो चरणको आन्दोलन अन्तर्गत शुक्रबार पोखरामा आयोजित नेपालको राष्ट्रिय स्वाधिनता विषयक अन्तरक्रियामा बोल्दै गुरुङले राणा शासनकालदेखि नै सार्वभौमसत्ता कुण्ठित हुदै आएको बताएका हुन । गुरुङले नेपाललाई एक प्रान्त बनाउने योजनामा भारत रहेको दावी गरे । त्यही भएर उसले भूपरिबेष्ठित राष्ट्रले पाउने सुविधा तथा अधिकारमाथि ब्यापार तथा पारवाहन सन्धीमार्फत कुण्ठित बनाउदै लगेको भन्दै गुरुङले सुगौलीसन्धी देखि राष्ट्रपतिको कदमसम्मका सबै गतिविधिमा भारतले हस्तक्षेप गर्दै आएको बताए । भारतले अहिले नेपालको जलस्रोतलगायत अन्य प्राकृतिक स्रोतसाधनमाथिको प्रभाव बढाउदै लैजान खोजिरहेको गुरुङले बताए । भारतीय विस्तारबादसामु नेपाली शासक तथा सामन्तवादीहरुले घुडा टेकीसकेकाले भारतको आशिर्वादविना पृथक ढंगले हिड्न नसक्ने अवस्था भएको गुरुङको भनाई थियो ।
भारतले आफ्नो प्रभाव बढाउन नेपालसंग असमान सन्धी गर्दै आएको र आफ्नो पार्टी त्यस्ता सन्धी तथा संझौता खारेज हुनुपर्ने माग राखेको गुरुङको भनाई थियो ।
No comments:
Post a Comment