ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, January 8, 2010

अर्को राजा बिउँताउन लागियो : प्रदीप नेपाल

रोहित राई, धरान पुस २४- 

एमाले नेता प्रदीप नेपालले सङ्घीयताको नाममा राजनीतिक दलहरुले मुलुकमा अर्को राजा बिउँताउन लागेको बताएका छन्। मीरेष्ट नेपालले शुक्रबार धरानमा आयोजना गरेको खुला बहस कार्यक्रममा बोल्दै नेता नेपालले सङ्घीय राज्यमा बन्ने मुख्य मन्त्री राजाको अर्को रुप भएको दाबी गरे। “अहिले सङ्घीयता भनेर फरि अर्को राजा बनाउन खोजिँदैछ, मुख्यमन्त्री भनेको राजा नै हो”, एमाले पोलिटब्युरो सदस्यसमेत रहेका नेता नेपालले भने- “यस्तो अर्को राजा हुने सङ्घीयता म मान्दिन।” सङ्घीयतामा सम्पूर्ण सत्ता स्थानीय जनताको हुनुपर्ने व्याख्या गर्दै उनले तत्कालीन संस्कृति एवम् राज्य पुनर्संरचना मन्त्री गोपाल किरातीले प्रस्ताव गरेजस्तो विकेन्द्रीकृत ८ सय जिल्लाको इकाइ वास्तविक सङ्घीय संरचना हुने जिकिर गरे। “स्थानीय समुदायको सत्ता भयो भने त्यो सङ्घीयता हो, त्यस हिसाबमा गोपाल किरातीले भनेजस्तो ८ सय वा त्योभन्दा सानो इकाईको सङ्घीय इकाइ बनाउनुपर्छ”, भानुचौकमा हजारौं जनतामाझ नेपालले भने- “त्यस्तो इकाइलाई ग्रामपालिकाभन्दा उपयुक्त हुन्छ। जसलाई नागरिकता दिने अधिकारसमेत हुन्छ।” राजनीतिक दलहरुले सङ्घीयताबारे हतारमा निर्णय गरेर अहिले पश्चताप गरिरहेकोसमेत उनको दाबी थियो। राजनीतिक दलहरुले संविधानसभामा सङ्घीयताबारे हतारमा अवधारणा बुझाएर पार्टीमा भने भर्खरमात्रै छलफल गरिरहेको उनले बताए।

“सङ्घीयताबारे हतारमा अवधारणा बुझाएर दलहरु अहिले पछुतो मानिरहेका छन्”, नेपालले भने- “नेकपा एमालेले बुझाएको अवधारणा रामचन्द्र झा र मङ्गलसिद्धि मानन्धरको हो, पार्टीको होइन भनिँदैछ। कङ्ग्रेस र माओवादीको हालत पनि त्यस्तै छ।” नेता नेपालको भनाईप्रति भने तत्कालै माओवादीका सभासद् नन्दकुमार प्रसाई, खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके खम्बू, सङ्घीय लिम्बुवान राज्य परिषदका महासचिव पदम अधिकारीले आपत्ति जनाएका थिए।

“अन्तरिम संविधानले नै मुलुक सङ्घीयतामा जाने भनिसकेकाले प्रदीप नेपालको अभिव्यक्ति संविधानतः छैन”, माओवादी सभासद् प्रसाईले तत्काल टिप्पणी गरे। माओवादीले घोषणा गरेको गणराज्य फिर्ता नहुने जिकिर गर्दै उनले त्यस घोषणालाई वैधानिकता दिन लागिपर्ने बताए। खरामोका अध्यक्ष आरके खम्बूले नेता नेपालको भनाई तत्कालीन राजा ज्ञानेन्द्रको झैं कट्टर एकात्मकवादी भएको भन्दै आपत्ति जनाए। 

बहसमा कङ्ग्रेसका सभासद् रामकृष्ण ताम्राकार र सङ्घीयता विरोधी राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सुरेन्द्र भण्डारीको समेत सहभागिता थियो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by