ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, January 5, 2010

'सक्रिय उपराष्ट्रपति' का पक्षमा मधेसवादी-माओवादी सहमति


उपराष्ट्रपतिलाई सक्रिय गराउन सहयोग गर्छौः प्रकाश
भुवन शर्मा/नयाँ पत्रिका
काठमाडौं, २० पुस

शपथप्रकरणलाई लिएर उपराष्ट्रपति परमानन्द झाको चर्को विरोध गर्दै आएको एकीकृत माओवादी उपराष्ट्रपतिलाई सक्रिय बनाउन मधेसवादी दललाई सघाउन तयार भएको छ । एकीकृत माओवादी र मधेसवादी दलका नेताबीच सोमबार भएको छलफलमा उपराष्ट्रपति पदलाई सक्रिय बनाउन दुई पक्षबीच सहकार्यको सहमति भएको हो । हिन्दी भाषामा शपथ लिएर विवादमा तानिएका उपराष्ट्रपति झा सर्वाेच्च अदालतको आदेशले निष्त्रिmय छन्, पदीय हैसियतले उनले प्राप्त गरेका सैनिक सुरक्षा, सवारीमा राष्ट्रिय झन्डालगायत सुविधासमेत खोसिएका छन् । मधेसवादी दलका नेतासँगको छलफलमा एकीकृत माओवादी उपराष्ट्रपतिलाई सक्रिय बनाउन व्यवस्थापिका संसद्मा राजनीतिक प्रतिबद्धतासहित संकल्प-प्रस्ताव ल्याउन मौखिक रूपमा सहमत भएको हो । 'साँच्चकै उपराष्ट्रपतिलाई सक्रिय बनाउने हो भने राजनीतिक निर्णयसहित संकल्प-प्रस्ताव ल्याऔँ भन्ने हाम्रो भनाइ हो,' बैठकपछि एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने । उपराष्ट्रपतिलाई सक्रिय गराउने सवालमा एकीकृत माओवादीले व्यवस्थापिका संसद्मा प्रस्तुत विधेयक पास गराउन सहयोग गर्ने उनले जानकारी दिए । यसअघि माओवादीले व्यवस्थापिका संसद्मा प्रस्तुत विधेयकको विरोध गर्दै आएको थियो ।

संविधान संशोधन गरेर उपराष्ट्रपतिलाई सक्रिय बनाउँदा सर्वोच्चको फैसलाको अपमान हुने तर्क माओवादीले अघि सारेको थियो । 'विधेयक पारित गराउने विषयमा प्रमुख सत्तासीन दल कांग्रेस र एमालेको नियतमा शंका छ, उपाध्यक्ष प्रकाशले भने, 'संसद्मा हामीले सहयोग नगरे विधेयक पारित हुदैन भन्ने थाहा हुँदा हुदै पनि उनीहरूले हामीसँग अझै यस विषयमा कुनै संवाद गरेका छैनन्,' श्रेष्ठले भने ।

माओवादीसँगको सहमतिपछि मधेसवादी दल पनि उत्साहित देखिएका छन् । 'माओवादीसँग सोमबार विधेयक पारित गराउने सहमति भयो, उहाँहरू विधेयक पारित गर्न सहयोग गर्न तयार हुनुभयो,' बैठकपछि हृदयेश त्रिपाठीले भने, 'उपराष्ट्रपतिलाई सक्रिय बनाउन पनि राजनीतिक प्रतिबद्धतासहित संकल्प-प्रस्ताव ल्याउने सहमति भयो ।' त्रिपाठीले माओवादीको नियतमा अब कुनै शंका नरहेको, बरु कांग्रेस र एमालेको नियतमा शंका देखिएको आरोप पनि लगाए ।

छलफलमा उपराष्ट्रपतिलाई सक्रिय बनाउन भाषाको विषयमा देखिएको जटिलता संसद्बाटै समाधान गर्ने सहमति पनि दुई पार्टीबीच भएको छ । 'अब माओवादीलाई शंका नगरौँ,' बैठकमा सहभागी रामेश्वर राय यादवले भने । बैठकमा सहभागी दुवै पक्षका नेताले कांग्रेस र एमालेको चर्काे आलोचना गरेका थिए । नेता यादवले छलफलमा सरकार परिवर्तनबारे भने कुनै सहमति नभएको दाबी गरे ।

'माओवादीसँग संवादमा राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा मौखिक सहमति भएको छ,' नेता त्रिपाठीले भने । दुई पक्षबीच नियमित रूपमा संवाद र छलफल गर्ने सहमतिसमेत भएको त्रिपाठीले खुलासा गरे । मधेसवादी दल र माओवादीबीचको सहमति नयाँ राजनीतिक समीकरणको सुरुवात बन्न सक्ने नेता त्रिपाठीले संकेत गरे । उनले भने, 'माओवादीसँग नयाँ राजनीतिक गतिरोध अन्त्यका लागि सहमति भएको छ ।'

शान्तिनगरस्थित डा. बाबुराम भट्टराईको निवासमा भएको छलफलमा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाश सहभागी थिए भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, महामन्त्री हृदयेश त्रिपाठी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर यादवलगायतका नेता सहभागी थिए ।

आइतबार माओवादी संसदीय दलको कार्यालयमा मधेसी जनअधिकार फोरम र एकीकृत माओवादीबीच यही विषयमा वार्ता भएको थियो । आइतबारको वार्तामा दुई पक्षबीच विधेयक पारित गराउने सहमति भएको थियो । फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष जयप्रकाश गुप्ता सहभागी थिए । सोमबारको बैठकमा भने यादव र गुप्ता सहभागी भएनन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by