ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, January 8, 2010

रुँदै बस चढे 'अयोग्य' लडाकु


नेत्र पन्थी/नयाँ पत्रिका
दुधौली (सिन्धुली), २३ पुस
कसैले श्रीमान् छाड्नुपर्‍यो, कसैले श्रीमती, लामो यात्रा सँगै तय गरेका साथीबीचको बिछोड पनि कम्ती पीडादायी रहे

साथी मात्र होइन, जीवनसाथीबाट समेत बिछोडिँदा दुधौली सिन्धुलीको अस्थायी शिविरबाट बिहीबार घर र्फकन लाग्दा माओवादी 'अयोग्य' लडाकुका आँखामा आँसु थामिएन । घर जान उनीहरू रुँदैरुँदै बस चढे । कसैले श्रीमान् छाड्नुपर्‍यो, कसैले श्रीमती, लामो यात्रा सँगै तय गरेका साथीबीचको बिछोड पनि कम्ती पीडादायी रहेन । शिविरमा सँगै बसेका साथी र कतिका त श्रीमान् र श्रीमतीसमेत छुट्टिदाको पीडाले बिदाइ समारोहमा रुवाबासी चलेको थियो । 'दुःख लागेको छ, तैपनि पार्टीको योजनालाई आत्मसात् गरेर साथीहरूलाई छाडेर बिदा हुँदै छु,' घर र्फकन राष्ट्रसंघले तयार पारेको बस चढ्दै गरेकी सोलुखुम्बुकी अस्मिता राईले नयाँ पत्रिकासँग भनिन् । उनका श्रीमान् छिरिङ राई भने प्रमाणीकरणमा पास भएका कारण शिविरमै बसेका छन् । सिन्धुलीकै तुलसा पौडेलले पनि आफ्ना जीवनसाथीलाई छाडेर जानुपरेकामा दुःख व्यक्त गरिन् । दुई वर्षको छोरो लिएर घर र्फकन लागेकी तुलसाले भनिन्, 'श्रीमान् (दीपक रोका) पास हुनुभयो, म अयोग्य भएँ रे । आज बिदा भएर घर जाँदै छु,' तुलसाले नयाँ पत्रिकासँग भनिन्, 'एउटै मेसको खाना र एउटै टहरामा बसेका साथी छाडेर हिँड्नुपर्‍यो, मन दुखेको छ ।'

संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले करिब तीन वर्षअघि गरेको प्रमाणीकरणमा अयोग्य ठहरिएका लडाकुलाई समाजमा पुनस्र्थापना गर्न घर फर्काउने कार्य सिन्धुलीको दुधौलीबाट सुरु भएको हो । प्रमाणीकरणमा कसैका श्रीमान् पास, श्रीमती फेल त कसैका श्रीमती पास, श्रीमान् फेल भएका थिए । फेल भएकाहरू घरतिर लागेका छन् भने पास हुनेहरू शिविरमै रहेका छन् । जनसेनाको दोस्रो डिभिजनका दुई सय एक अयोग्य लडाकु ६ वटा बस चढेर २२ हजार रुपैयाँ र एउटा झोला बोकेर नागरिक जीवनमा फर्केका छन् । तीन सय ७२ जना अयोग्य लडाकुमध्ये एक सय ७१ जनाले औपचारिक बिदाइबिनै स्वेच्छिक रूपमा शिविर छाडेका थिए ।


कालो झन्डा देखाउने माओवादीको पूर्ववर्ती योजनाले शान्तिमन्त्री भने बिदाइ कार्यक्रममा आउन सकेनन् । उनले लडाकु पुनस्र्थापना प्याकेजमा हस्ताक्षर गर्न नमानेका कारण माओवादी कार्यकर्ता उनीसँग रुष्ट थिए । कार्यक्रममा शान्ति मन्त्रालयका सचिवले सरकारी पक्षको प्रतिनिधित्व गरेका थिए ।


दोस्रो डिभिजनअन्तर्गत दोस्रो प्रमाणीकरणमा तीन सय ७२ जना अयोग्य ठहरिएका थिए । तीमध्ये दुई सय ७८ जना १८ वर्षमुनिका र ९४ जना युद्धविरामपछि भर्ना गरिएको राष्ट्रसंघले जनाएको छ । एक सय ५५ जना १८ वर्षमुनिका र ४६ जना युद्धविरामपछि भर्ती गरिएका गरी दुई सय एकजना बिदाइ भएका हुन् । अयोग्य ठहर्‍याइएकामध्ये एक सय २३ जना १८ वर्षमुनिका र ४८ जना युद्धविरामपछि भर्ना गरिएका गरी एक सय ७१ जना सहभागी भएनन् ।

अयोग्य लडाकुलाई सलामी सम्मानका साथ जनसेना-प्रमुख पासाङ र डेपुटी कमान्डर बलदेवले फूलमाला पहिर्‍याएर बिदाइ गरेका थिए । बिदाइपूर्व राष्ट्रसंघका तर्फबाट जनही १० हजारका दरले बसभाडा र बाटोखर्च उपलब्ध गराइएको थियो । माओवादी सचिव सिपी गजुरेल, जनसेना-प्रमुख पासाङ, डेपुटी कमान्डर बलदेव, सभासद् इन्द्रजित राई, शान्तिसचिव पुण्यप्रसाद न्यौपाने, आवासीय प्रतिनिधि रोबर्ट पाइपर, शिविर व्यवस्थापन समितिका सचिव विनोद ज्ञवाली, सहसचिव शिव नेपाल, सहसचिव साधुराम सापकोटा र उपसचिव निरञ्जन उप्रेती बिदाइ समारोहमा सहभागी थिए । युनिसेफकी निर्देशक जुलियन मेलसप, युएनएफपिएका म्याक फायर ल्यान, हतियार अनुगमन प्रमुख र युएनडिपीका प्रतिनिधि पनि कार्यक्रममा सहभागी थिए ।

घर र्फकेका लडाकुले आफूहरूको अपमान गरिएको आरोप लगाएका छन् । उनीहरू चित्त दुखाएर घर फर्किएका छन् । २२ हजार नगद र एकजोर कपडा बोकाएर उनीहरूलाई धरान, बर्दिबास, लाहान, सिन्धुलीगढी र गाईघाट पुर्‍याएर बस चढाइएको थियो । घर र्फकेका अधिकांश लडाकुले भविष्यमा राजनीतिमै लाग्ने प्रतिक्रिया दिएका छन् ।


बिदाइ समारोहमा जनसेनाका प्रवक्ता बलदेवले भने, 'तपाइंहरूलाई खाली हात पठाउँदै छौँ । यो सहज प्रक्रिया होइन, हामीले तपाईंहरूलाई बालसिपाही र नयाँ भर्ती मानेका छैनौँ, तपाईंहरू अयोग्य हुनुहुन्न ।' शान्ति मन्त्रालयका सचिव पुण्यप्रसाद न्यौपानेले शान्ति-प्रक्रियालाई सबैले इमानदारीपूर्वक अगाडि बढाएको बताउँदै आगामी दिन सुखद र अवसरयुक्त हुने बताए । समारोहमा राष्ट्रसंघका नेपाल प्रतिनिधि रोबर्ट पाइपर, जनसेनाका कमान्डर पासाङ, सचिव सिपी गजुरेल गौरवलगायतले बोलेका थिए ।



No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by