ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, January 5, 2010

माओवादी अध्यक्ष दाहाल कालापानी हैन, महाकाली जाने

- सीमा अतिक्रमित क्षेत्रमा शीर्ष नेताले सभा गर्ने- भारतीय दूतावास अगाडि प्रदर्शन

काठमाडौँ, पुस २१ (नागरिक)- नागरिक सर्वोच्चता दिल्ली पुगेको भन्दै भारतसित वार्ता गर्ने घोषणा गरेको एकीकृत माओवादीले चौथो चरणको आन्दोलनका क्रममा भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने भएको छ। आन्दोलनको कार्यक्रम तय गर्न आज बसेको केन्द्रीय कमिटीको बैठकले माघ ५ गते भारतीय दूतावास र सिंहदरबार अगाडि प्रदर्शन गर्ने कार्यक्रम राखेको हो। आन्दोलनका क्रममा पुस २७ गते भारतद्वारा भएको सीमा अतिक्रमित क्षेत्रमा शीर्ष नेताहरुले भ्रमण तथा सभा समेत गर्नेछन्। महाकालीमा अध्यक्ष दाहालले, पशुपतिनगरमा उपाध्यक्ष मोहन वैद्यले, सुस्तामा उपाध्यक्ष बाबुराम भट्टराईले, लक्ष्मणपुर बाँधमा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले र खुर्दलोटन बाँधमा महासचिव रामबहादुर थापाले सभा गर्नेछन्। आन्दोलन कै क्रममा पुस ३० गते भारतसँग भएको सन् १९५० लगायतका असमान सन्धि सम्झौताहरू देशव्यापी रूपमा जलाउने कार्यक्रम छ। त्यसअघि २६ गतेसम्म प्रचारप्रसार, भित्ते लेखन, अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। २३ गतेदेखि २६ गतेसम्म देशका विभिन्न प्रमुख सहरमा सभा आयोजना गर्ने र शीर्ष नेताले त्यसलाई सम्बोधन गर्नेछन्। २३ गते काठमाडौँमा हुने सभालाई अध्यक्ष दाहालले, २४ गते पोखरामा हुने सभालाई देव गुरुङले र २५ गते विराटनगरमा हुने सभालाई बाबुराम भट्टराईले सम्बोधन गर्नेछन्।

२५ गते नै धनगढी र जनकपुरमा पनि सभा हुनेछन्। धनगढीको सभालाई लीलामणि पोखरेलले र जनकपुरको सभालाई सीपी गजुरेलले सम्बोधन गर्नेछन्।

२६ गते नेपालगञ्जमा हुने सभालाई नारायणकाजी श्रेष्ठले र बुटवलमा हुने सभालाई रामबहादुर थापाले सम्बोधन गर्नेछन्।

त्यसैगरी पुस २५ देखि माघ १० सम्म प्रचार सामग्री वितरण, भित्तेलेखन, सांस्कृतिक कार्यक्रम, साहित्यिक कार्यक्रम, र्याली, मार्च, पत्रकार सम्मेलन, सीमा प्रभावित क्षेत्र अवलोकन, सभा, कोणसभा आदि अभियानात्मक कार्याक्रमहरू सञ्चालन हुने मा‌ओवादीले जनाएको छ।

माघ ५ गते देखि १० सम्म माओवादीले तेस्रो चरणको आन्दोलनका क्रममा घोषणा गरेका गणराज्यहरुमा सभा हुनेछन् र त्यसलाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्।

माघ ५ गते कोचिला, मिथिलामा हुने सभालाई नारायणकाजी श्रेष्ठले, माघ ६ गते लिम्बुवान, किरात, शेर्पामा हुने सभालाई सीपी गजुरेलले, माघ ७ गते भोजपुरा, नारायणी, अवधमा हुने सभालाई रामबहादुर थापाले, माघ ७ गते थारुवान, सेती, महाकाली, भेरी-कर्णाली, भोटे लामामा हुने सभालाई पोष्टबहादुर बोगटीले सम्बोधन गर्नेछन्।


त्यसैगरी माघ ७ गते तमुवान, मगरातमा हुने सभालाई बाबुराम भट्टराईले, माघ १० गते नेवा, ताम्सालिङमा हुने सभालाई अध्यक्ष दाहालले सम्बोधन गर्नेछन्।

बैठकले पार्टीको मूल कार्यनीतिलाई केन्द्रमा राख्दै तत्कालीन कार्यनीतिक शृङ्खला अनुसार नयाँ संविधान र राष्ट्रिय संयुक्त सरकारलाई सबैभन्दा पछिल्लो क्रममा राखी राष्ट्रिय स्वाधीनतालाई पहिलो र नागरिक सर्वोच्चता र शान्तिलाई दोस्रो र तेस्रो प्राथमिकतामा राखेको छ। 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by