ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, January 3, 2010

व्यावसायिक मौरीपालनबाट आम्दानी


पर्वत (नयाँ पत्रिका)

पर्वतमा व्यावसायिक मौरीपालन सुरु भएको छ । अन्नबाली गर्दै आएका किसानले आम्दानी बढी हुन थालेपछि मौरीपालनलाई जीविकोपार्जनको माध्यम बनाउन थालेका हुन् । पर्वतको देउपुरका टीकाराम तिमिल्सिना व्यावसायिक मौरीपालनबाट वाषिर्क ३ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । ०५७ बाट व्यावसायिक मौरीपालन गर्न थालेका तिमिल्सिनाले २५ घार मौरी राखेका छन् । सुरुमा २/४ घारबाट मौरीपालन थालेका तिमिल्सिनाले अहिले ५० घार पुर्‍याउने योजना बनाएका छन् ।


मौसमअनुसार मंसिर र पुस मह उत्पादनका लागि उपयुक्त समय भएकाले यतिखेर उनलाई घारबाट मह निकाल्न भ्याइ-नभ्याई छ । 'दुई साता भयो मह निकाल्दैमा फुर्सद छैन,' उनले भने । तिम्लिसिना असोजदेखि मंसिरसम्म मात्रै डेढ लाख रुपैयाँको मह बिक्री भएको बताउँछन् । एकै सिजनमा ३ क्विन्टलभन्दा बढी मह निकालेको उनको भनाइ छ । माघमा चिसो बढी नभए लक्ष्यभन्दा धेरै मह उत्पादन हुने अनुमान उनको छ । तोरी, रुदिलो फुल्ने भएकाले माघमा मह धेरै निकाल्न सकिन्छ ।

एपी सेरेना जातको मौरीको मह भीर मौरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने तिमिल्सिनाको ठम्याइ छ । मह प्रतिकेजी ४ सय रुपैयाँमा बिक्री हुने गरेको छ । अन्य जातको मौरीको मह गुणस्तरीय नहुने भएकाले मूल्य कम पर्ने गरेको छ । त्यसमा पनि वनजंगलको जडीबुटी खाएका मौरीको मह भएकाले गुणस्तर बढेको हो । 'मह राम्रो भएकाले बिक्रीका लागि समस्या छैन,' उनले भने । गत वर्षसम्म घरबाटै मह बिक्री गरेका तिमिल्सिनाले यो वर्ष भने बजारका लागि पोखरासम्म पुग्ने योजना बनाएका छन् ।

पर्वतमा व्यावसायिक मौरीपालन गर्ने किसान सय हाराहारी छन् । जिल्ला लघुउद्यमी संघ पर्वतका कार्यक्रम संयोजक लेखबहादुर क्षेत्रीका अनुसार देउपुर, तिलहार, कार्कीनेटा, आर्थर, कुर्घालगायत गाविसका मौरीपालक किसानलाई तालिम, बजारीकरण र व्यवसाय प्रवर्द्धनका क्षेत्रमा सहयोग पुर्‍याइएको जानकारी दिए । 'किसानलाई व्यावसायिक बनाउन सहजकर्ताको रूपमा काम गरेका छौँ । त्यसबाट धेरै किसान आत्मनिर्भर हुन थालेका छन् ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by