ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, January 4, 2010

मोबाइलको गुणस्तर सुध्रेन • उपकरण ल्याउने कम्पनीलाई प्रमाणपत्र

योगेश खतिवडा/काठमाडौ, २०६६ पुस २० - मोबाइल सेवा गुणस्तरहीन भएको आलोचना भइरहेको बेला नेपाल टेलिकमले सिडिएमए र जिएसएम मोबाइलको उपकरण आपूर्ति गर्दै आएको जेडटिईलाई 'सन्तोषजनक कार्य सम्पादन' को प्रमाणपत्र दिने तयारी गरेको छ । टेलिकमले भित्र्याउन लागेको नेक्स्ट जेनेरेसन नेटवर्क (एनजिएन) का लागि आह्वान गरेको टेन्डरमा जेडटिईलाई सहभागी गराउन यो प्रयास भएको सम्बद्ध स्रोत बताउँछ । बोलपत्र आह्वानअनुसार टेलिकमलाई विगतमा उपकरण उपलब्ध गराएको कम्पनीले यस्तो सर्टिफिकेट प्रस्तावसँगै बुझाउनुपर्छ । त्यसैले जेडटिईलाई प्रमाणपत्र दिन लागिएको हो । लामो समयदेखि मोबाइलको गुणस्तरमा सुधार हुन नसकेपछि उक्त कम्पनीलाई प्रमाणपत्र दिइएको थिएन । 

टेलिकमले करिब दुई साताअघि ४५ दिनभित्र गुणस्तर सुधार गर्न जेडटिईलाई भनेको छ । यस आधारमा छिट्टै प्रमाणपत्र दिन लागिएको छ । '४५ दिनभित्र गुणस्तर हेरेर जेडटिईलाई सेटिक्सफ्याक्ट्री पर्फर्मेन्स सर्टिफिकेट (सन्तोषजनक कार्यसम्पादन प्रमाणपत्र) दिनुपर्छ,' टेलिकमका एक अधिकारीले भने, 'सेवा उपभोग गरेकाले दिने नदिने बारेमा छिट्टै निर्णय हुन्छ । हामीले यो दिनुपर्छ ।' 

जेडटिईलाई नै लक्षित गरेर टेलिकमले यो टेन्डर बुझाउने म्याद दुईपल्ट थप गरिसकेको छ । पछिल्लोपल्टको सूचनाअनुसार गत डिसेम्बर ४ भित्र प्रस्ताव बुझाउनुपथ्र्यो । 'तर फेरि ४५ दिन म्याद थपिएको छ,' अर्को एक स्रोतले भन्यो, 'जेडटिईले भ्याओस् भन्ने आशय यसमा लुकेको छ ।' यसरी गुणस्तरहीन उपकरणबाट टेलिकमको सेवामा गुणस्तर नभएको अवस्थामा जेडटिईलाई सन्तोषजनक सेवाको प्रमाणपत्र दिन नहुने एक अधिकारीले बताए । 

'जिएसएम र सिडिएमए प्रणाली नेपालमा जडान भएको ५/६ वर्ष भयो,' स्रोत थप्छ, 'सफल कलदर ५० प्रतिशत मात्र छ ।' नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको मापदण्डमा गुणस्तरीय सेवाका लागि सफल कलको दर ९७ प्रतिशत हुनुपर्छ । 

अहिले टेलिकमको उपभोक्ताले फोन नलाग्ने, सम्पर्क हुन नसक्ने, नेटवर्क नभएको, इरर इन कनेन्सन, गुणस्तरहीन आवाजलगायत समस्या भोगिरहेका छन् । तर टेलिकमका अनुसार जेडटिईलाई यो प्रमाणपत्र दिन भिन्दै कार्यदल गठन गरेर काम भइरहेको छ । 'यसबारे एउटा टोलीले अध्ययन गरिरहेको छ,' टेलिकम प्रवक्ता सुरेन्द्र थिकेले भने, 'अध्ययनपछि यसको निक्र्योल हुन्छ ।' 

विगत ५ वर्षदेखि एकल रूपमा जिएसएम र सिडिएमएको उपकरण आपूर्ति गर्दै आएको जेडटिई चिनियाा कम्पनी हो । यसअघि पनि जिडटिईका उपकरणकै कारण मोबाइल सेवा गुणस्तरहीन भएको कुरा बारम्बार उठ्ने गरेको थियो । 'गुणस्तरहीन भएकाले जेडटिईले लामो समय बितिसक्दा पनि सन्तोषजनक प्रमाणपत्र पाउन नसकेको हो,' टेलिकम स्रोतले भन्यो । 

'जेडटिईले उपकरण आपूर्ति गरेका कतिपय देशमा मोबाइल गुणस्तर राम्रो छ,' टेलिकम स्रोत भन्छ, 'तर नेपालमा ठूलो कमिसन खाएर यो प्रविधि भित्राएकाले गुणस्तरहीन उपकरण आएको हो । उसले कम शुल्क लिएकाले गुणस्तरहीन उपकरण तथा प्रविधि भित्राउनु स्वाभाविक पनि हो । एनजिएन प्रविधिमा पनि यही घटना दोहोर्‍याउने तयारी भइरहेको छ ।'

टेलिकमभित्रकै कर्मचारीले यसको विरोध जनाएका छन् । 'जेडटिईले सम्झौता गरेअनुसार काम गरेको छैन,' उनले भने, 'पाँच वर्षको अवस्था देख्दादेख्दै ४५ दिन थपेर सन्तोषजनक प्रमाणपत्र दिन खोजिँदै छ ।' टेलिकमको सफल कलदर ५० प्रतिशत मात्र हुँदा टेलिकम र सरकारको आम्दानी पनि आधा घट्ने बताइएको छ । उच्च तयारीका साथ पहिलो टेलिकम कम्पनी हुने घोषणा गर्दै निजी कम्पनी सेवा विस्तारमा तीव्र गतिमा लागेको बेला टेलिकमको गुणस्तरहीन सेवाले उनीहरूलाई अझ सहयोग पुगेको छ । टेलिकमका मोबाइल प्रयोगकर्ताको संख्या ४७ लाखभन्दा बढी छ । सुरुमा सीधै सन्तोषजनक प्रमाणपत्र दिने तयारी गरिएकामा टेलिकमभित्रै विवाद भएपछि ४५ दिनभित्र गुणस्तर सुधार गर्न भनिएको स्रोतले बतायो । त्यसै आधारमा एनजिनएनको बोलपत्र आह्वानको समय पनि बढाइएको छ । 

सेप्टेम्बरमा पहिलोपटक बोलपत्र प्रकाशित गरिएको थियो । यसमा नोभेम्बर ४ सम्ममा बोलपत्र बुझाउनुपर्ने व्यवस्था थियो । तर त्यसको १० दिन अगाडि अक्टोबर २६ मा ३० दिन म्याद थपी डिसेम्बर ४ सम्म बढाइएको थियो । फेरि डिसेम्बर ४ मा दोस्रो पटक ४५ दिनले म्याद थपिएको हो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by