ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, January 6, 2010

कोइराला, खनाल र दाहालबीच आज अपराह्न वार्ता हु

तीन दल सहमति खोज्दै, - माओवादीको संकल्प प्रस्तावमा संसदमा छलफल हुने

काठमाडौं, पुस २२ (नागरिक)-

प्रमुख तीन दलबीच बुधबार कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासहित शीर्ष नेताहरूको बैठक राखेर वार्ता टोलीलाई मार्गनिर्देशन दिने सहमति भएको छ। मंगलबार होटल अन्नपूर्णमा सत्तारूढ कांग्रेस, एमाले र विपक्षी एकीकृत माओवादीको बैठकले शीर्ष नेताबाट प्राप्त हुने मार्गनिर्देशनका आधारमा वार्ता टोलीले समाधानको उपाय निकाल्ने सहमति गरेको हो। प्रधानमन्त्री माधवकुमार नेपालसहित कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको बैठक बुधबार अपराह्न ४ बजेका लागि तय गरिएको छ। 'शीर्ष नेताको बैठकको मार्गनिर्देशनका आधारमा वार्ता टोलीले समाधानको उपाय निकाल्ने छ,' एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले भने। बैठकमा १२ बुँदे सहमतिपछिका सम्पूर्ण सम्झौताको वस्तुगत समीक्षा गर्नुका साथै दलहरुबीच आपसी समझदारीको वातावरण तयार गर्नेछ। त्यस्तै शीर्ष बैठकले राष्ट्रपतिको कदम, माओवादी लडाकु समायोजन तथा व्यवस्थापन, संविधान निर्माण र शक्ति बाँडफाँटका विषयमा मार्गनिर्देशन दिने छ। यी ६ एजेन्डा यसअघि शुक्रबारको त्रिदलीय बैठकले तय गरेको थियो। ज्ञवालीका अनुसार शीर्ष नेताको बैठकले माओवादी लडाकुको समायोजन प्रक्रिया, मापदण्ड र संख्या समेत निर्धारण गर्ने छ। 'वार्ता टोलीले लगातार छलफल गरेर सहमति निकाल्ने छ,' बैठकमा सहभागी कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले भने।

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि शीर्ष बैठकको मार्गनिर्देशन अनुसार सहमतिको खाका तय हुने बताए। शक्ति बाँडफाँट भनेको सरकार परिवर्तन हो भन्ने प्रश्नमा श्रेष्ठले भने, 'शक्ति बाँडफाँट भनेको सत्ताको भागबन्डा होइन, सहमति र सहकार्यबाट निर्णय लिनुपर्छ भन्ने हो।' अहिले विस्तृत शान्ति सम्झौता कार्यान्वयन गर्ने चरण भएको बताउँदै उनले भने, 'त्यसैले कसैले एकलौटी निर्णय गरेर हुँदैन।'

उनले देश गम्भीर र संवेदनशील मोडमा पुगेकाले सहमतिको विकल्प नभएको पनि बताए। 'सहमति भन्दाभन्दै समय गइसक्यो', श्रेष्ठले भने, 'देश बचाउन र जनआन्दोलनको लक्ष्य प्राप्त गर्न पनि सहमतिको विकल्प छैन भन्ने निष्कर्षमा पुगेका छौं।' बैठकमा अन्त्यहीन अराजकता बढ्दै गएकाले यसलाई बेलैमा समाधान गर्न नसके मुलुक असफल बन्ने कुरामा पनि नेताहरूले चिन्ता प्रकट गरेको ज्ञवालीले बताए।

बैठकमा एमालेबाट प्रधानमन्त्री नेपाल, अध्यक्ष खनाल, पोलिटब्युरो सदस्य ज्ञवाली, गृहमन्त्री भीम रावल र प्रमुख सचेतक भीम आचार्य थिए भने कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, रामशरण महत, अर्जुननरसिंह केसी र कृष्ण सिटौला थिए । त्यस्तै माओवादीबाट अध्यक्ष दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलगायत नेता थिए।

माओवादीको सङ्कल्प प्रस्ताव संसदमा छलफल हुन्छ-मन्त्री
 
बिना विभागीय मन्त्री एवम् सदभावना पार्टीका केन्द्रीय सह-अध्यक्ष लक्ष्मणलाल कर्णले माओवादीले उठाउँदै आइरहेको सङ्कल्प प्रस्तावलाई छलफल गर्न दिने सहमति भएकाले माओवादी संविधान संशोधनका लागि सहयोग गर्न तयार रहेको जानकारी दिएका छन्। पर्सामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री कर्णले अब माओवादीले उठाएको सङ्कल्प प्रस्ताव पनि ब्यवस्थापिका संसदमा छलफल हुने भएकाले हाल देखिएको राजनीतिक गतिरोध अन्त्य हुने बताए। रासस 



No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by