ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, January 8, 2010

दाहालको अभिव्यक्ति सुनियोजितः भट्टराई


गंगा बीसी/काठमाडौ, २०६६ पुस २४ - 

अध्यक्ष पुष्पकमल दाहालको 'विवादास्पद' अभिव्यक्ति सार्वजनिक भएपछि असन्तुष्ट बनेका उपाध्यक्ष बाबुराम भट्टराईले त्यसलाई 'सुनियोजित' भन्दै त्यसबारे इतिहासले फैसला गर्ने बताएका छन् । उनले आफू निकटका नेताहरूसँगको भेटमा पार्टीभित्रका त्यस्ता तत्त्वबाट आफू दुःखी भए पनि उचित प्रतिवाद गरेर जानेसमेत बताएको स्रोतको दाबी छ । उनले दाहालको अभिव्यक्ति सार्वजनिक हुनु 'विगतको नराम्रो परम्पराको निरन्तरता र गैरजिम्मेवार अभिव्यक्ति' भएको निकटस्थ सदस्यलाई बताउने गरेका छन् । 'घटनाले मलाई क्षणिक प्रभाव पारेको छ तर भावी दिनमा आरोपको खण्डन व्यवहारले पुष्टि गर्नेछ,' उनलाई उधृत गर्दै एक सदस्यले कान्तिपुरसँग भने । अध्यक्ष दाहालले 'भट्टराई प्रधानमन्त्री हुने भए भारतले तुरुन्त बनाइदिने दबाब दिएको' खन्ना गार्मेन्टमा यो साता आयोजित गोप्य प्रशिक्षणमा बताएका थिए । 'भारतले बाबुराम प्रधानमन्त्री हुने भए तुरुन्त बनाइदिने भनेर प्रत्यक्ष/परोक्ष दिएपछि बडो गम्भीर बनायो,' दाहालले भनेका थिए, 'मैले त्यसका लागि प्रधानमन्त्री नहुने भनेको त होइन ।'
सरकारबाट बाहिरिए लगत्तै दाहालले आन्तरिक बैठक र सभाहरूमा आफू प्रधानमन्त्री नहुने बताउँदै आएका थिए । त्यसलगत्तै माओवादीका तर्फबाट उपाध्यक्ष भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा हेरिएको थियो ।  'यो संयोग मात्रै होइन, सुनियोजित हो,' भट्टराईको निष्कर्ष छ । करिब सात महिनाअघि सरकारको नेतृत्व गर्ने बेला दाहाल र भट्टराई साथसाथै थिए । त्यसबेला अर्कोतिर उपाध्यक्ष मोहन वैद्य थिए । तर अहिले दाहाल, वैद्य र पार्टी एकीकरणपछि अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एकातिर र भट्टराई अर्कातिर छन् । मूलधारको राजनीतिमा आएपछि हालसम्म गम्भीर आन्तरिक द्वन्द्व सार्वजनिक नभएको माओवादीमा अब भने यो द्वन्द्व 'भुसको आगोझैं' बढ्ने सम्भावना देखिएको छ ।

हाल दाहालको नेतृत्वलाई कसैले प्रश्न उठाउने अवस्था नदेखिए पनि भावी चुनौतीको रूपमा भट्टराई देखिएका छन् । सांगठनिक हिसाबले भट्टराई अहिले कमजोर छन् ।

घटना सार्वजनिक भएलगत्तै बसेको केन्द्रीय समिति बैठकमा करिब 'असामान्य' अवस्था सिर्जना भएको थियो । नौ महिना सरकारको नेतृत्व गरेका दाहालले नामै किटेर रहस्योद्घाटन गरेपछि यसले सबभन्दा बढी भट्टराईलाई असर गर्‍यो । उनले बैठकमा यसबारे छानबिनको मागसमेत गरे ।

'घटनाबारे पार्टीले छानबिन गरोस् र सत्यतथ्य सार्वजनिक गरोस्' भट्टराईको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए । निकट स्रोतका अनुसार तत्कालीन अवस्थामा उक्त घटनाले पार्टी, नेतृत्व र विशेषगरी आफूलाई क्षति पुर्‍याएको भट्टराईको ठहर छ । उनी तत्काल घटनालाई नचर्काउने मनस्थितिमा पुगेको स्रोतको भनाइ छ । यो घटनाले माओवादी नेता तथा कार्यकर्ता मात्र होइन,

सर्वसाधारणलाई समेत निराश पारेको उनको बुझाइ छ ।

'शान्ति र संविधान निर्माण भइरहेका बेला जनता निराश हुने अवस्था नआओस्' भट्टराई निकट स्रोत भन्छ, 'माओवादी र यसको नेतृत्वले निराश हुने अवस्था आउन दिनु हुँदैन । इतिहासबाट सिकेर अघि बढ्नुपर्छ ।' बैठकपछि भट्टराईले धेरै कुरा बोलेनन् । तर उनले सत्य कुरा बोले । 'यो चर्चालाई मेरो चरित्र हत्या गर्ने अर्थमा बुझेको छु,' उनको भनाइ थियो, 'यो प्रचार बेठीक छ ।' उनको भनाइ दोहोरो अर्थ लाग्ने खालको थियो । भट्टराई भावी प्रधानमन्त्री हुने चर्चा भइरहेका बेला दाहालले भारतबाट दबाब आएको आफ्नै मुखले भने ।

उक्त प्रशिक्षणमा आफ्नो नाम प्रधानमन्त्रीको रूपमा चर्चामा आएको कुरा उल्लेख गरेनन् । भट्टराईले यही कुरालाई गम्भीर रूपमा लिएको स्रोत बताउँछ । त्यसको दुई दिनपछि पत्रकार सम्मेलनमा दाहालले भनेका थिए, 'एक पक्षले आफूलाई प्रधानमन्त्री हुनुपर्छ भन्छन्, अर्को थरिले बाबुरामलाई ।' यो 'स्याल कराउनु र चल्ला हराउनु' जस्तो संयोग नभएकोे भट्टराईको बुझाइ छ । 'पार्टीको आन्तरिक तत्त्वको आडमा बाह्य शक्तिले आफूलाई प्रहार गरेको' भट्टराईको विश्लेषण छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by