ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, December 13, 2009

व्यावसायिक बन्दै छ गोलभेडा खेती

भीम चापागाईं/इलाम (नयाँ पत्रिका)

जिल्लाको पूर्वी पञ्चकन्या गाविसमा व्यावसायिक गोलभेडा खेती फस्टाउँदै गएको छ । इलाममा नगदेबालीका रुपमा अन्य खेती गरिँदै आए पनि व्यावसायिक रूपमा गरिएको गोलभेडा खेतीबाट किसानले बढी फाइदा लिन थालेका हुन् । पञ्चकन्या गाविसका डेढ दर्जन परिवारले व्यावसायिक गोलभेडा खेती सुरु गरेका छन् । जिल्लाका पञ्चकन्यासहित पूर्वी गोदक, लक्ष्मीपुर, शान्तिपुर, फिक्कल, गोर्खे, पशुपतिनगर, कन्याम, कोल्बुङलगायत गाविस माअहिले व्यावसायिक रूपमा गोलभेडा, कोबी, आलु, इस्कुस, काँक्रा, फर्सी, मटर, धनियाँ खेती गर्न थालिएको छ । त्यसबाट भएको आम्दानीले स्थानीय परिवारको गुजारा चलाउन र बालबालिकालाई विद्यालय तथा क्याम्पसमा पढाउनसमेत पुग्ने गरेको किसानको भनाइ छ ।

पञ्चकन्याका एक किसानले गोलभेडा खेतीबाट ६ महिनामै १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । पञ्चकन्याका भेषराज गड्तौलाले गोलभेडाबाट वैशाखदेखि असोजसम्ममा १२ लाख रुपैयाँ आम्दानी गरेको बताए ।

'२ लाख लागत खर्च कटाउँदा १० लाख रुपैयाँ चोखो आम्दानी भयो,' गड्तौलाले भने । २० रोपनी क्षेत्रफलको जग्गा भाडामा लिएर गोलभेडा खेती गरेका गड्तौलाको बारीमा फलेका गोलभेडा बेच्न अझै केही बाँकी छ ।

'गत वर्ष १० हजार बोट गोलभेडा खेती गर्दा ५ लाख रुपैयाँ मात्र आम्दानी भएको थियो,' गड्तौलाले भने, 'यो वर्ष भने २० हजार बोट गोलभेडा रोपेकामा हालसम्म ८ सय क्विन्टल बिक्री भइसकेको छ ।'

स्थानीयस्तरमा बजार अभाव र अन्य तरकारी मात्र उत्पादन हुने गरेकाले गोलभेडा बिक्री गर्न भने झापा नै झर्नुपर्ने उनले गुनासो गरे । उत्पादित गोलभेडा झापा लाँदा ढुवानी खर्च बढेकाले सोचेजति आम्दानी लिन नसकेको गड्तौलाले बताए । उनका अनुसार गोलभेडा खेती जटिल भए पनि आम्दानी राम्रो हुने गरेको छ । 'नेपालमै मिहिनेत गर्न सके पैसा कमाउनकै लागि लाखौं रुपैयाँ खर्चेर विदेश जान नपर्ने रहेछ,' गड्तौला भन्छन् ।

चाडवाडको मुख्य सिजनमा प्रतिकिलो ३५ देखि ५० रुपैयाँसम्ममा गोलभेडा बिक्री गर्दा भएको आम्दानी देखेर उनका परिवार मात्र होइन छरछिमेकी पनि सो खेतीप्रति आकषिर्त हुन थालेका छन् ।

गड्तौला परिवारले छिमेकीलाई पनि हौस्याएको छ । स्थानीय डोलेन्द्र भारद्वाजले भने, 'उनको मिहिनेत र आम्दानी देखेर हामीलाई पनि गोलभेडा खेती गर्न जाँगर चलेको छ ।'

विशेषगरी, वषर्ायाममा लगाइएको गोलभेडाबाट राम्रो आम्दानी हुने गर्छ । तर, वषर्ायाममा लाग्ने हुस्सुबाट बचाउन, गोडमेल गर्न र औषधोपचार गर्न भने गाह्रो पर्छ । रातदिन गोलभेडा स्याहारमा जुटेका गड्तौलाका छोरा दीपेन्द्र भन्छन्, 'ढुसीनाशक औषधि खरिद गर्न र छर्किन पनि धेरै समय खर्चिनुपर्छ ।' गोलभेडा खेतीबाट भएको आम्दानीबाट गड्तौला परिवारले घरनजिकै १० रोपनी जमिनसमेत खरिद गरिसकेका छन् ।

पहिलेदेखि तरकारी खेती गरिरहेका गड्तौलाले बन्दा, फूलकोभी, रायो, मुला आदिको बेमौसमी खेती पनि गर्दै आएका छन् । अन्य तरकारी खेतीबाट राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार हिउँदे सिजनमा जिल्लाको ७० हेक्टर क्षेत्रफलमा लगाइएको गोलभेडा खेतीबाट ९ सय १० मेटि्रकटन उत्पादन हुने गरेको छ भने वषर्ायाममा बेमौसमी रूपमा २७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ३ सय २४ मेटि्रकटन गोलभेडा उत्पादन हुदै आएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by