ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, December 17, 2009

विशेष राहत कोटाको चामल सदरमुकाममै वितरण

वीरबहादुर गिरी/जाजरकोट (नयाँ पत्रिका)-

जिल्लाका भोकमरीपीडित सर्वसाधारणलाई सरकारले उपलब्ध गराउँदै आएको विशेष राहत कोटाको चामल सदरमुकाम खलंगामै बिक्रीवितरण हँुदै आएको छ । गाउँका डिपोमा पुर्‍याउने गरी ल्याइएको चामल सदरमुकाम-वरपरका बजारमा बिक्री गरिँदै आएको हो । जिल्ला आउनुपर्ने ७ हजार ५ सय क्विन्टल चामलमध्ये ६ हजार ५ सय क्विन्टल मात्र उपलब्ध भएको थियो । भोकमरी प्रभावित क्षेत्रका ४ स्थायी र ८ अस्थायी डिपोमा कोटा चामल ढुवानी गर्न खाद्य संस्थान शाखा कार्यालयले ४ दर्जन स्थानीय व्यक्ति तथा राजनीतिक कार्यकर्ता खटाएको थियो । ढुवानी जिम्मा लिएका ती व्यक्तिले सम्बन्धित ठाउँमा चामल नपुर्‍याई कागजी रूपमा मिलाएर १ करोडभन्दा बढी रकम भुक्तानी लिइसकेका छन् । ठेकेदारले चामल सम्बन्धित ठाउँमा नपुर्‍याएर सदरमुकामलगायत आफूअनुकूल स्थानमा बेच्ने गरेका छन् । सदरमुकामका व्यापारीले ठेकेदारबाट चामल सस्तो मूल्यमा खरिद गरी बजारमा बिक्री गर्दै आएको सर्वसाधारणको गुनासो छ । सोना मनसुली चामल मूल्य प्रतिक्विन्टल २ हजारसम्ममा खरिद गरेको शान्ति चौताराका एक व्यापारीले बताए । अहिले सो चामल सदरमुकामको शान्ति चौतारा, रानागाउँ र खलंगाबाहिर खोलेपुज्न, थलह, मोर्कलगायत बजारमा बिक्रीका लागि राखिएको स्थानीय टोपबहादुर थापाको दाबी छ । उनले भने, 'चामल सम्बन्धित डिपोमा नपुर्‍याई ढुवानी भाडा खानेमा सम्बन्धित कार्यालय र राजनीतिक दलका कार्यकर्ताको मिलेमतो प्रस्टै देखिन्छ ।' कतिपय ठेकेदारले कार्यालयबाट चामलको चलानी बुझेर सम्बन्धित डिपोमा बुझाएको भर्पाइ बनाए पनि ढुवानी भाडा भुक्तानी लिएर हालसम्म सदरमुकाममै चामल थन्क्याएर राखेका छन् । सरकारले उपलब्ध गराएको राहत कोटा खाद्यान्न चामल भोकमरी क्षेत्रमा वितरण गर्न ढुवानीकर्ताले खाद्य संस्थानबाट चामल किनी निर्धारित बिक्री केन्द्रमा राजनीतिक दलका प्रतिनिधिको रोहबरमा असोज मसान्तभित्र बुझाएको मुचुल्का खाद्य संस्थानमा पेस गरेपछि मात्र ढुवानी रकम भुक्तानी पाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ख्यामबहादुर थापाले बताए ।

सदरमुकामबाट चामल गाउँमा नपुगेपछि भोकमरी प्रभावित क्षेत्रमा खाद्य संकट देखिएको छ । सदरमुकामका खुद्रा पसलमा समेत नेपाल खाद्य संस्थान लेखिएका बोरा लाइन लगाएर चामल बिक्रीवितरण हुने गरेको नागरिक समाजका संयोजक केशवजंग साह बताउँछन् । निर्धारित बिक्री केन्द्रमा तोकिएको कोटाअनुसारको चामल नपुग्दै राजनीतिक दलका प्रतिनिधिले पुग्यो भनी मचुल्कामा हस्ताक्षर गरेपछि भोकमरीपीडिले च्ाामल नपाएको उनको दाबी छ । 'गाउँका डिपोमा चामल पुगेन भन्ने गुनासो आएको छ । चामल पुगे/नपुगे कागजी प्रक्रिया मिलेर आएपछि ढुवानी रकम भुक्तानी दिइएको हो,' खाद्य संस्थान शाखा प्रमुख प्रेम ठाकुरले भने ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by