ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, December 13, 2009

आम्दानीको स्रोत बन्यो माहुरी



कमल थापा/रुकुम (नयाँ पत्रिका)

वर्षभर खान पुग्ने स्रोत खोज्दै आएका काँडा गाविसका किसानले मौरीपालनलाई आम्दानीको मुख्य स्रोत बनाउन थालेका छन् । एपिपिएसपीको सहयोगमा नेपाल जनजाति सरोकार केन्द्र रुकुमले मौरीपालनसम्बन्धी कार्यक्रम लागू गरेपछि काँडावासीले आम्दानीको दर्बिलो स्रोत फेला पारेका हुन् । वर्षभर उत्पादित अन्नले हुनेखानेलाई मात्र ६ महिना पुग्ने गरेकामा मौरीपालनपछि जीविकोपार्जनमा सहयोग पुगेपछि किसानले महलाई आम्दानीको मुख्य स्रोत बनाएका हुन् । ६ महिना आलु खाएर छाक टार्ने किसान महपालन सुरु गरेपछि त्यसबाट प्राप्त आम्दानीले आर्थिकस्थिति फेरिन थालेको बताउँछन् । पूर्वी रुकुम काँडाका भीमबहादुर पुनले मौरीपालनअघि वर्षमा ६ महिना आलु र फापर खानुपर्ने बाध्यता भए पनि अहिले त्यो अवस्था नरहेको बताए । अहिले उनको बारीमा आलु फल्दैन । मौरीपालनबाट बढी आम्दानी पाउन थालेपछि उनले आलुको विकल्प रोजेका हुन् ।
'मौरीपालन गरेदेखि घरको आर्थिक समस्या टर्नुका साथै आधा वर्षभर आलु खाने सास्ती हटेको छ,' पुन भन्छन्, 'पहिले बारीमा आलु लगाए पनि अब भने मौरीपालनमा लागेको छु ।' पुनजस्ता काँडा गाविसका ६० घरधुरीले मौरी व्यवसाय गदर्ैै आएका छन् ।

परम्परागत कृषि प्रणाली त्याग्दै बढी आम्दानी हुने जातका मौरी आधुनिक घार बनाई पाल्न सुरु गरेको काँडाका किसानको भनाइ छ । त्यस क्षेत्रका किसानले गाईभैँसीपालन र खेतीपाती गर्दै आएकामा बढी आम्दानी हुन थालेपछि मौरीपालनलाई प्रमुख व्यवसाय बनाउन थालेका छन् । अहिले उनीहरू मौरीपालनलाई व्यावसायिक रूपमा अँगाली त्यसैबाट जीविकोपार्जनको स्रोत जुटाउन सक्ने भएका छन् । काँडाकै जुनु बुढा भन्छन्, 'सबै पेसा सँगै गर्दा दुःख बढी हुने र खान पनि पुग्दैनथ्यो । मौरीपालन थालेपछि रामै्र आम्दानी भएको छ ।'

घरमा साना खोपा बनाई व्यावसायिक रूपमा मौरीपालन गर्न सकिने किसान बताउँछन् । ०६६ फागुनमा १०८ घरधुरीमा प्रतिघरधुरी दुईवटाका दरले १ सय २४ मौरीघार वितरण गरेको आदिवासी जनजाति सरोकार केन्द्र रुकुमका अध्यक्ष जोगेन्द्र पुनले जानकारी दिए । उनका अनुसार चरनक्षेत्रको पहिचान गर्ने, ढुवानी खर्च कम गर्ने, मह र मौरी वितरणमा संस्थाले सहयोग पुर्‍याउँदै आएको छ । वनमारा, तोरी, चिउरीजस्ता महका लागि आवश्यक वनस्पति सो क्षेत्रमा प्रशस्त पाइने भएकाले मौरीपालन किसानले चरनक्षेत्रमा समस्या भोग्नुपरेको छैन । स्थानीय नेत्र विक उत्पादित मह प्रतिकिलो २ सय देखि २ सय ५० रुपैयाँमा बिक्री गर्दै आएको बताउँछन् । उनले एक घारमा वाषिर्क करिब २५ किलो मह उत्पादन गर्न सकिन्छ । उत्पादित महलाई बजार अभाव रहेको आदिवासी सरोकार केन्द्रका सचिव प्रेम बुढाले बताए । मह सदरमुकाम मुसिकोट खलंगासम्म पुर्‍याउन सके प्रतिकिलो ४ सयका बिक्री गर्न सकिने बुढाको भनाइ छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by