ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, December 14, 2009

अब बन्दका बेला मजदुरले पारिश्रमिक नपाउने

सुजित महत/वीरगन्ज (कांतिपुर)- 

उद्योगी व्यवसायीले गैरकानुनी बन्द हडतालमा संलग्न मजदुरलाई काम नगरेको दिनको पारिश्रमिक नदिने भएका छन् ।नेसनल मेडिकल कलेजको श्रम विवाद (फरक प्रकृतिको संस्था) लाई लिएर माओवादीसम्बद्ध ट्रेड युनियनले अनिश्चितकालका लागि उद्योग प्रतिष्ठान बन्द आह्वान गरेपछि व्यवसायीले यस्तो निर्णय गरेका हुन् । उद्योग वाणिज्य महासंघ कुशकुमार जोशीसम्मिलित टोली र माओवादी मजदुरबीच भएको वार्तामा उद्योगीले 'नो वर्क नो पे' को अडान राखेका थिए । शनिबारसाँझको वार्तामा कलेजको श्रम विवाद समाधानका लागि वीरगन्ज उद्योग वाणिज्य संघले पहल गर्ने सहमतिसमेत भएको छ । उद्योग खोल्ने पनि सहमति भएको छ । 'सहमतिपत्रमा केही उल्ल्ोख नगरे पनि 'नो वर्क नो पे' को अडानमा छौं,' संघका अध्यक्ष ओमप्रकाश सिकारियाले भने । महासंघले 'नो वर्क नो पे' को अडान नछाड्ने घोषणा गरिसकेको छ । माओवादीले गैरकानुनी हडताल गराएकाले आफूहरू अडानबाट पछि नहट्ने संघका सदस्य विजय सरावगीले बताए ।

 माओवादीको आह्वानमा बारा, पर्सा र रौतहटका औद्योगिक प्रतिष्ठान चार दिन बन्द भए पनि विवादित कलेज र उसको अस्पताल भने निर्वाध चलेको थिए । बन्द उद्योग खुलाउने पहलमा सहयोग गर्न संघले कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीसँग अनुरोध गरेको थियो । तर उनले वास्ता नगरेको संघका एक पदाधिकारीले बताए । माओवादीले उद्योगधन्दा बन्द गराउने विवादको कारणचाहिँ कलेजले तीन श्रमिकलाई निष्कासित गरेपछि उब्जेको हो । साउन १८ मा निष्कासित कर्मचारीको पुनर्बहाली माग गर्दै माओवादीले बारम्बार अस्पतालमा आन्दोलन गर्दै आएको छ । यसैक्रममा एक साताअघि अस्पताल बन्द गराउन पुगेको समूहलाई अन्सारी पक्षधरले लखेटेको थियो । कलेज र अस्पतालमा केही गर्न नसकेपछि माओवादीको भोजपुरा राज्य समितिको ट्रेड युनियले उद्योगधन्दा बन्द आह्वान गरेको थियो ।

उद्योग बन्द गराउँदै हिँडेको माओवादी समूह कलेज हातामा भने जान सकेन । कलेज र अस्पतालमा सयौंको संख्यामा सर्वसाधारणले लाठी र भाला लिएर सुरक्षा दिएका थिए । 'कलेज बन्द गराउन जाँदा मरिएला भनेर माओवादीले आँटै गरेनन्,' एक उद्योगीले भने, 'त्यसको रिस उद्योगमा फेरे ।' शनिबारको वार्तामा असम्बद्ध संस्थाको श्रम विवादका निहुँमा तीन जिल्लामा उद्योग बन्द गराउने माओवादी निर्णयको निकै आलोचना भएको थियो ।

कलेजको श्रम विवादले पटकपटक झडप र बन्द निम्त्याउने गरेको छ । अस्पतालको बहिरंग विभाग अगाडि धर्नारत आन्दोलनकारीलाई हटाउने क्रममा साउन ३२ गते झडप भएको थियो । आन्दोलनकै क्रममा ज्ञापनपत्र बुझाउन गएका माओवादीका साथै एमाले र कांग्रेस समर्थक ३ ट्रेड युनियनका प्रतिनिधि सम्मिलित टोलीमाथि भदौ १८ गते व्यवस्थापन समर्थकले आक्रमण गरेका थिए । एकजना सुरक्षाकर्मी र ११ जना स्वास्थ्यकर्मी घाइते भएको घटनाको विरोधमा ट्रेड युनियनहरूले भदौ २४ गते पर्सार्, बारा र रौतहट बन्द गरेका थिए ।

१ हजार ५० बेडको अस्पताललाई मुलुककै ठूलो दाबी गर्ने कलेजले एमबिबिएस, नर्सिङ, बिएस्सी नर्सिङको कक्षा सञ्चालन गरिरहेको छ । अस्पतालमा करिब ६ सय स्वास्थ्यकर्मी छन् । कतिपय स्वास्थ्यकर्मीले सरकारले निर्धारण गरेको न्यूनतम पाश्रििमक पनि नपाउने गरेको गुनासो छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by