ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, December 14, 2009

नेपाली भूमिमा भारतीय "रेखदेख"


सुव्रत न्यौपाने/झापा (नयाँ पत्रिका )

झापाको मेचीनगर-११ स्थित भान्सा खोलाका एक दर्जनभन्दा बढी घरपरिवार भारतीय अतिक्रमणको चपेटामा परेका छन् । बर्ष देखि बसोवास गर्दै आएको नेपाली भूमिलाई भारतीय पक्षले 'रेखदेख' गर्न थालेपछि उनीहरू घरको न घाटको बनेका छन् । भारतले ०४३ सालमै नेपाली भू-भाग मिचेर एकलौटी रूपमा सीमास्तम्भ गाडेको स्थानीय समाजसेवी कृष्णप्रसाद उप्रेतीले बताए । चार वर्षदेखि मेचीनगर-११ को करिब २० बिघा भूमि भारतीय सीमा सुरक्षा बल -एसएसबी) ले रेखदेख गर्दै आएको छ । मेचीनदीवारिको सो भू-भागमा १४ घरपरिवार बस्छन् । त्यहाँ बसेका नेपालीलाई नागरिकता त्याग्न भारतीय सुरक्षा बल -एसएसबी) ले दबाब दिने गरेको छ । समाजसेवी उप्रेतीले सीमा अनुगमनका लागि काठमाडौंबाट शनिबार झापा आएको वाइसिएल अध्यक्ष गणेशमान पुन नेतृत्वको टोलीसँग भने, 'भारतीय कानुन नमाने सबै घरपरिवार त्यहाँबाट लखेटिन्छन् ।' सीमा क्षेत्रको सो भू-भागमा बसेका नेपालीसँग नेपालकै धनीपुर्जा छ । तर, उनीहरू भारतीय नियम-कानुनअनुसार चल्न बाध्य छन् । अहिले भारतीय पक्षले त्यहाँ बसेका घरपरिवारलाई ट्युबेल गाड्न र शौचालय निर्माणका लागि सहयोग गरिरहेको छ । भारतले विद्यालयसमेत खोलिदिने भएको स्थानीय धनप्रसाद उप्रेतीले बताए । अनुगमनपछि वाइसिएल अध्यक्ष पुनले दलाल नीतिका कारण नेपाली भूमि गुमिरहेको बताउँदै भने, 'अब यो विवाद सधैँका लागि अन्त्य गरिनुपर्छ ।' उनले अतिक्रमित भूमिको एक-एक टुक्राको हिसाबकिताब लिइने बताए ।

भारतले दाबी गर्दै आएको सो भू-भागमा भजनलाल चौधरी, रतन चौधरी, नारायण राई, वीरबहादुर लिम्बू, अमृत लिम्बू, मानबहादुर पौडेल, ध्रुव राई, राम बाँतरलगायतको घर छ । मनबहादुर अर्याल, अगम राई, कुलप्रसाद तिवारी, टेकबहादुर राई र खगेन्द्र तिवारीको भने जग्गामात्र छ ।

भारतीय पक्षले सो जग्गा आफ्नो भएको दाबी गर्दै सबैलाई भारतीय पट्टापुर्जा -जग्गा उपभोग गर्न पाउने अस्थायी निस्सा) दिएको छ । भारतले दाबी गरेको ती सबैको जग्गा मेचीनदीवारि पर्छ । ती १४ परिवारमध्ये अधिकांशले नेपाल सरकारलाई जग्गाको मालपोत तिरिरहेका छन् । उनीहरूले ०२७ सालमा जग्गाको लालपुर्जा लिएका थिए । बाबुबाजेका पालादेखि भोगचलन गर्दै आएको भूमि भारतले दाबी गर्न थालेपछि सीमा क्षेत्रमा बसोवास गर्नेहरू समस्यामा परेका छन् । 'पहिले हामी नेपालीमात्र थियौँ, अहिले रातारात भारतीय भएका छौँ,' पूर्ववडाध्यक्षसमेत रहेको स्थानीय कुलप्रसाद तिवारीले भने, 'भारतले हामीलाई रातारात पट्टापुर्जा दिएको छ ।'

सीमा क्षेत्रका जानकार डा. राजकुमार पोखरेलका अनुसार नेपाल र पश्चिम बंगालको सिमानामा पहिले रेल्वे लिगका पिलर गाडिएका थिए । 'त्यसैलाई आधार मानेर नेपाली भूमिमा पर्नेगरी मेची पुल बनाइएको थियो । तर, अहिले मेची पुलको आधाभन्दा बढी भाग भारतीय क्षेत्रमा परेको छ । पुलका १९ वटा पिलरमध्ये चारवटा मात्र नेपाल र भारतको सीमामा पर्छन् । ०४१ सालतिर सीमांकन गर्ने क्रममा सो क्षेत्रमा भारतीय पक्षले एकलौटी रूपमा सीमास्तम्भ गाडेको हो । स्थानीय समाजसेवी कृष्णप्रसाद उप्रेती मेचीनदीमा सीमास्तम्भ गाड्ने बेलामा नेपालका सरकारी अधिकारी सहभागी नभएको बताउँछन् । 'सीमांकन गर्नेे बेलामा उनीहरू भारतको दार्जिलिङ घुम्न गएका थिए,' उनले भने ।
 
सीमाक्षेत्रका अर्का जानकार मेची बहुमुखी क्याम्पसका प्रमुख चिन्तामणि दाहालका अनुसार झापाको बाहुनडाँगीदेखि कुमरखोदको एक सय सात किलोमिटर क्षेत्रको ३६ स्थानमा सीमा-विवाद देखिएको छ । विवादित क्षेत्रको करिब तीन हजार बिघा नेपाली भूमि भारतीय अतिक्रमणमा परेको उनले बताए । झापाको ज्यामिरगढीमा वीरेन्द्र उच्चमाविको नाममा दर्ता रहेको ५० बिघाभन्दा बढी जग्गा भारतले अतिक्रमण गरेको छ । एक सय १६ बिघामध्ये ५० बिघा जग्गामा भारतीय नागरिकले खेती गरिरहेको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पौडेल बताउँछन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by