ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, December 18, 2009

प्रधानमन्त्रीको मस्ती, अरूलाई सास्ती


सुशील भट्टराई/काठमाडौं (नागरिक)- 

प्रधानमन्त्री माधवकुमार नेपाललाई लिएर कोपनहेगन जान लागेको थाई एयरवेजको जहाज गत सोमबार दिउँसो ५० मिनेट ढिला उड्यो। प्रधानमन्त्रीकै कारण थाइ उडान ढिलो भयो। यसले त्यस दिन अधिकांश उडान र अवतरण प्रभावित भए। केही अन्तर्राष्ट्रिय उडान 'डाइभर्ट' गरिए भने केही आन्तरिक उडान रद्द गरिए। दिउँसोका कतिपय उडान राति अबेरसम्म भइरहेका थिए। यसअघि 'भिभिआइपी उडान' हुँदा आधा वा पौने घन्टामात्र उडान रोकिन्थ्यो। यसपालि विमानस्थल व्यवस्थापनले दुई घन्टा उडान रोकेको आन्तरिक वायुसेवा सञ्चालकहरूले बताए। त्यसमाथि प्रधानमन्त्रीको उडान नै ५० मिनेट ढिला भएपछि हजारौं यात्रुले दुःख पाए। जहाजको प्रतीक्षामा बसेका सयौं यात्रु विमानस्थलमा अलपत्र परे। भिभिआइपी उडानका कारण सोमबार आफ्नो ११ उडान रद्द भएको र आन्तरिक उडान कुरेर बसेका ५ हजार यात्रुले दुःख पाएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए। बुद्धले मात्र दैनिक १ हजार ५ सय यात्रु बोक्दै आएको छ।
'त्यो दिन बिहानैदेखि मौसम खराब भएकाले मध्याह्नमात्र विमानस्थल खुलेको थियो। त्यसमाथि प्रधानमन्त्रीको यात्राका कारण सबै उडान ढिला भए,' बस्नेतले नागरिकसँग भने, 'विराटनगरबाट आएको हाम्रो अन्तिम जहाज राति १०ः४५ मा यहाँ अवतरण गरेको थियो।'

नियमअनुसार विमानस्थलले उडान रोक्ने अवधिभरका लागि 'नोटिस फर एयरमेन' (नोटाम) जारी गर्छ। भिभिआइपी जहाजमा जानु १५ मिनेट अघिदेखि उडान तयारीको १५ मिनेटसम्म नोटाम जारी गरिन्छ। तर, धेरैजसो बेला यो समय तोकिएभन्दा बढी हुन्छ। यसपालि त्यही भयो। 'कहिले पत्रकार सम्मेलन त कहिले सलामीका कारण प्रधानमन्त्रीलाई लिएर जाने थाइको जहाज ढिला उड्न पुग्यो,' विमानस्थल स्रोतले भन्यो, 'यसले अरू उडान प्रभावित भए।' जनआन्दोलन २०६२/६३ पछि नोटाम अवधि बढ्दै गएको एक आन्तरिक वायुसेवा कम्पनीका सञ्चालकले जानकारी दिए। 'विगतमा राजा विदेश जाँदा र आउँदामात्र नोटाम लगाइन्थ्यो,' उनले भने, 'प्रधानमन्त्रीको विदेश भ्रमणमा नोटाम हुन्थेन। जनआन्दोलनपछि भने प्रधानमन्त्रीको भ्रमणमा पनि लगाउन थालिएको छ।'

प्रधानमन्त्री नेपाल शनिबार थाई एयरवेजकै उडानबाट फर्कंदै छन्। जाँदाकै नियति दोहोरिँदा वायुसेवा कम्पनी र यात्रुले फेरि सास्ती पाउनेछन्। उनी आउँदा पनि आधा घन्टा नोटाम लगाइने स्रोतले जानकारी दियो। राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा विमानस्थलमा पत्रकार सम्मलेन र भेटघाट हुने तथा कार्यकर्ताको भीड लाग्ने हुँदा पनि उडान प्रभावित हुने गरेको वायुसेवा सञ्चालकहरू बताउँछन्।

अन्य देशका सार्वजनिक विमानस्थलमा राष्ट्राध्यक्ष वा सरकार प्रमुख विदेश जाँदा-आउँदा सलामी दिने गरिँदैन। यसका लागि सैनिक विमानस्थल मात्र प्रयोग गरिन्छ। भारतकै नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यस्तो चलन छैन।  नेपालमा पनि विमानस्थलस्थित सैनिक वाहिनीको अतिविशिष्ट क्षेत्रमा सलामी दिने गरिन्छ। तर, सलामीपछि आन्तरिक विमानको पार्किङ हुँदै अन्तर्राष्ट्रिय जहाजतर्फ लाग्ने हुँदा सुरक्षाका कारण पूरै उडान रोक्ने गरिन्छ। यसअघि श्रीलंकाली राष्ट्रपति महिन्दा राजपाक्षे आउँदा पनि सबै उडान प्रभावित भएका थिए। अन्तर्राष्ट्रिय जहाजहरूलाई आकासमै कुराएर राखिएको थियो।

'यो गम्भीर समस्या हो,' बस्नेतले भने, 'आगामी दिनमा यस्तो समस्या आउन नदिन नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई पत्र पठाएका छौं। पर्यटन मन्त्रालयलाई बोधार्थ पनि दिएका छौं।'

यती एयरलाइन्सले जहाज उडान रद्द नभए पनि ढिला भएको जनाएको छ। 'हाम्रो अन्तिम उडान साँझ ६ बजे हुन्छ। तर, त्यो दिन राति ९ बजेसम्म उडाइरहेका थियौं,' यतीका सिनियर सेल्स एन्ड मार्केटिङ म्यानेजर विनय शाक्यले भने, 'एकजनाको उडानले हजारौं यात्रुलाई सास्ती दिनु हुँदैन।' त्यसमाथि आकाशमै 'होल्ड' गर्नुपरे यात्रु अत्तालिने उनले बताए। यता विमानस्थल व्यवस्थापनले भने प्रधानमन्त्रीको उडानका दिन आधा घन्टामात्र नोटाम राखेको दाबी गरेको छ। यात्रुको समस्या हेरेर नोटाम अवधि घटाएको पनि विमानस्थलका अधिकारीले बताए। 'पहिले एक घन्टा हुन्थ्यो। अहिले आधा घन्टामात्र राखिन्छ,' उनले भने। यसलाई पूरै हटाउने अधिकार भने विमानस्थल व्यवस्थापनलाई छैन। यसका लागि उच्चस्तरीय निर्णय हुनुपर्छ। यो अन्तर्राष्ट्रिय नियम पनि हो।

प्रधानमन्त्रीको उडान भएको दिन नेपाल वायुसेवा निगमको जहाज १ घन्टा ५० मिनेट ढिला गरेर १ बजे उडेको थियो। त्यस्तै, पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए) आधा घन्टा ढिलो २ बजे, कोरियन एयर १५ मिनेट ढिलो २१५ र १२०५ मा अवतरण गर्नुपर्ने सिल्क एयर २ घन्टा २५ मिनेटपछि अवतरण गरेको विमानस्थलले जनाएको छ। कतार एयरवेज लखनउ डाइभर्ट भएको थियो।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by