ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, December 17, 2009

सेनालाई सहयोग गर्न भारत र चीनको होडबाजी

भोजराज भाट/ काठमाडौं (नागरिक)- 

छिमेकी मुलुक भारत तथा चीनबीच नेपाली सुरक्षा निकायलाई सैन्य सहयोग गर्ने होडबाजी चलेको छ। पछिल्लो दुई महिनायता चीन र भारतका झन्डै आधा दर्जन प्रतिनिधिमण्डलले नेपाली सुरक्षाका चार वटै अंगलाई विभिन्नतवरमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। बुधबार मात्रै चीनले नेपाली सेनालाई आगामी पाँच वर्षभित्र ३० करोड ५२ लाख रूपैयाँ बराबरको सैनिक सहयोग दिने भएको छ। 0चिनियाँ जनमुक्ति सेनाका मेजर जनरल जाई जियाओनिङ र नेपाली सेनाका व्यवस्था तथा युद्धकार्य महानिर्देशक गौरवसमशेर जबराले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सहयोग रकममध्ये २० करोड रूपैयाँजतिको सैनिक विकास निर्माण कार्यमा संलग्न सामग्री दिने सहमति भएको छ। मेजर जनरल जियाओनिङको नेतृत्वमा मंगलबार नेपाल भ्रमणमा आएको सात सदस्यीय टोलीले बुधबार विहान रक्षामन्त्री विद्यादेवी भण्डारी र रक्षासचिव नवीनकुमार घिमिरेसँग शिष्टाचार भेटघाट गरेको थियो। भेटमा चिनियाँ टोलीले पूर्व सरकारलाई दिने भनेको १० करोड बराबरको सैन्य सहयोग एक महिनाभित्रै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

चिनियाँ टोलीले नेपाल-चीन सीमा क्षेत्रमा द्विपक्षीय नियमित सम्पर्क कार्यालय खोल्न सहयोग दिने इच्छा गरेको छ। नेपाल-भारतको जस्तो सीमा व्यस्थापनमा फोकल प्वाइन्ट निर्माण गर्नेतिर चिनियाँ पक्षले चासो राखेको थियो। 'सीमा सम्बन्धमा रक्षाले एकल निर्णय गर्न सक्दैन, त्यस विषयमा गृह र परराष्ट्रसँग पनि सल्लाह गरेर सहमति लिनुपर्छ भन्ने जानकारी दियौं,' रक्षासचिव घिमिरेले भने। रक्षामन्त्री भण्डारीले चिनियाँ टोलीलाई शान्तिकालीन सेनाको भूमिकामा हुने सहयोग सामग्री आवश्यक भएको बताएकी थिइन्। भेटवार्तामा उनले सेनालाई शान्ति सेना, दैविक उद्धार, विकास निर्माण र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा चिनियाँ सहयोग अपेक्षा गरेको धारणा राखिन्।

भेटका क्रममा चिनियाँ टोलीले रक्षामन्त्री भण्डारी र रक्षासचिव घिमिरेलाई चीन भ्रमणको निम्तो दिएको छ। प्रधानमन्त्री माधवकुमार नेपालले पुस ११ गतेदेखि चीन भ्रमण गर्दैछन्। प्रधानमन्त्रीको भ्रमण सिध्याएलगत्तै आफूले चीन भ्रमण गर्ने भण्डारीले बताएकी थिइन्। चिनियाँ टोलीले अपराह्न निमित्त प्रधानसेनापति तोरणजंगबहादुर सिंहसँग पनि भेटेको थियो।

मंसिरभित्रै नेपाल भ्रमण गर्ने यो तेस्रो चिनियाँ टोली हो। मंसिर १९ गते चिनियाँ जनमुक्ति सेनाका लेफ्टिनेण्ट जनरल सु युताईको नेतृत्वमा नेपाल भ्रमण गरेको थियो। त्यसअघि मंसिर ९ गते तिब्बतका कार्यकारी उपप्रमुख हाओ पेङ आइ नेपालका सुरक्षाअधिकारीसँग भेटघाट गरेका थिए। सो टोलीले चीनसित सीमा जोडिएको नेपालको उत्तरी क्षेत्रको विकास गर्न र सिमानामा नेपाली सुरक्षाको बेस क्याम्प स्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रस्ताव राखेको थियो। चीनले यस आर्थिक वर्षमा गृह मन्त्रालयका विभिन्न सुरक्षा अंगलाई एक मुष्ठ १ लाख ५० हजार यूयान (एक करोड ६३ लाख रूपियाँ) सहायता उपलब्ध गराइ सकेको छ। चीनले यसै वर्षदेखि सशस्त्र, अनुसन्धान, प्रहरी र गृहमन्त्रालयलाई कर्मचारीलाई नेश्नल डिफेन्स कोर्श (एनडीसी) लगायतका तालिममा सहभागी गराउन थालेको छ। चीनले नेपाल प्रहरीलाई गत वर्ष भीड नियन्त्रणका बडी प्रोटेक्टर, हेल्मेट, लाठी, टोपी डण्डा सहयोग गरेको थियो।

चिनियाँ सैन्य सहयोग टोली भेटघाटमै व्यस्त भइरहँदा प्रधानसेनापति छत्रमानसिंह गुरूङले भारतीय अधिकारीसँग सैन्य सहयोग माग गरेका छन्। गत शुक्रबारदेखि नौ दिन लामो भारत भ्रमणमा रहेका गुरूङले भारतीय सेनासँग ५० वटा बख्तरबन्द गाडी सहयोग गर्न आग्रह गरेको कोलकाताबाट प्रकाशित हुने दी टेलिग्राफको बुधबार संस्करणले जनाएको छ। गुरूङले मागेको एजिया टी-७२ नामक पुरानो मोडेलको बख्तरबन्द गाडी हो, जसलाई भारतीय सेनाले भीष्मा टी-९० नामक बख्तरबन्द गाडी किनेर प्रतिष्थापन गरिसकेको छ। नेपाली सेनाले भारतसमक्ष विभिन्न तालिमका कोटा थप्न आग्रह गरेको दी टेलिग्राफ मा उल्लेख छ। भारतले यसअघि नेपाली सेनालाई सहुलियतमा इन्सास राइफल बेचेको थियो।

भारतीय पक्षले नेपाली सेनाका लागि मध्यपश्चिमको सुर्खेतमा सम्भावित आपतकालीन उडान र अवतरण गर्न एयरबेस निर्माण गर्ने भारतले सहमति जनाइसकेको छ। मंसिर २०-२१ मा भएको द्विदेशीय सुरक्षा समन्वय समितिको बैठकमा भारतीय पक्षले माघ १९ देखि स्थगनमा राखेको गैर-घातक हतियार सहयोग गर्ने प्रतिवद्धता दिएका थिए।

प्रधानमन्त्री माधवकुमार नेपालको दिल्ली भम्रणताका भारतले नेपाल प्रहरीको एकेडेमी बनाइदिने नीतिगत सहमति जनाएको थियो। तीन अरब २० करोड अनुमानित लागतमा निर्माणाधिन हुने भनिएको पुलिस एकेडेमीका लागि काभ्रेको पनौतिमा प्रारम्भिक सर्वेक्षण भइसकेको छ। कात्तिक २०-२१ मा भएको नेपाल-भारत गृहसचिव स्तरीय बैठकमा भारतीय पक्षले चाडै एकेडेमी निर्माण प्रक्रिया थाल्ने पुन दोहोर्‍याएका थिए। सुरक्षाअंगमा भारत र चीनको सहयोग होडबाजी चल्नु आ-आफ्नै स्वार्थ देखिन्छ। 'नेपाललाई भारतकै सुरक्षा छाताभित्र राखिरहने भारतको चाहना हो। चीनले चाहिं चेक एण्ड ब्यालेन्सका रूपमा नेपालमाथि नजर लगाउने गरेको छ।', एक उपरथीले नागरिकसित भने, 'तर हामीले हाम्रो स्वार्थअनुसार विदेशी सैन्य सहयोगलाई सेफगार्ड गर्न सक्नुपर्छ।'

 सिलसिलेवार भ्रमण


भारतबाट
मंसिर २० : भारतीय विदेश मन्त्रालयका सहसचिव सतीश मेहताको नेतत्वमा सुरक्षा समन्वय समितिको बैठक
कात्तिक २०: भारतीय गृहसचिव गोपालकुमार पिलाईको नेत्ाृत्वमा उच्चस्तीय सुरक्षाअधिकारी टोली गृहसचिवस्तरीय बैठक


चीनबाट


मंसिर ३०: चीनको रक्षा मन्त्रालयका पराष्ट्र मामिला उपनिर्देशक मेजर जनरल जाइ जियाओनिङसहितको सात सदस्यीय सैन्य सहयोग टोली
मंसिर १९ : चिनियाँ जनमुक्ति सेनाका लेफ्टिनेण्ट जनरल सु युताईको नेतृत्वको टोली 
मंसिर ९ : तिब्बतका कार्यकारी उपप्रमुख हाओ पेङ नेपाल आइ सुरक्षाअधिकारीसँग भेट 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by