ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, December 13, 2009

कोही लाहुरे कोही भने सपिङ कम्प्लेक्समा

प्रदीप मेन्याङ्बो/धरान (कान्तिपुर)- 

कोही बेलायत जाने तरखरमा छन् । कोही भिषा मिलाउँदै छन् । कोही चाँही बेलायत पुगेर घर, गाडी किनेर बसेका छन् । तर तिनै समुह मध्येका धेरै पूर्व गोर्खाहरु भने धरानमा व्यावसायिक मुलाधारमा सहभागी हुन सुविधा सम्पन्न आधुनिक सपिङ कम्प्लेक्स निर्माणमा जुटेका छन् । पछिल्लो समयमा वि्रटिस गोरखा सैनिकहरुलाई बेलायत सरकारले आवासीय भिषा अधिकार दिए पछि नेपाल छाडेर बेलायत जाने क्रम रोकिएको छैन । तर एउटा समुह भने धरानमा व्यापार व्यावसाय गर्ने उदेश्यले धरानको घण्टाघर पछाडि रहेको १८ धुर जग्गामा गोरखा भूतपुर्व सैनिक परिवार लिमिटेड दर्ता गरेर करिव १० करोड रुपैयाँको भूमिगत फ्ल्याट, कारपार्किङ सहितको सपिङ कम्प्लेस निर्माण गर्न कम्मर कसेर लागेका छन् । सपिङ कम्प्लेक्स चार तलाको हुने छ । गोरखा भूतपुर्व सैनिक परिवार लिमिटेडको अधिकृत पुँजी १० करोड रुपैयाँ रहेकोमा शेयर पुँजी ५ करोड र चुक्ता पुँजी १ करोड ६२ लाख ३० हजार रहेको छ । 
विश्वले आर्थिक मन्दीको असर खेपिरहेको बेला बेलायतले नेपालदेखि गएका वि्रटिस गोरखा लाहुरे समुदाय र तिनिहरुको भरमा प्रबेशाज्ञा पाउने गोर्खालाई थेग्न हम्मे हम्मे परेको लाहुरेहरुको बुझाइ छ । लाहुरेहरुले धरानमा संगठित रुपमा व्यवसाय गर्ने भएपछि धरानका व्यापारी व्याबसायीहरुमा पनि आशा पलाएको छ । पूर्व गोर्खाहरुले संगठितरुपमा सपिङ कम्प्लेक्स निर्माण गर्ने जानकारी पाएपछि उद्योग बाणिज्य संघ सुनसरीका अध्यक्ष असोक ताम्राकार पनि उत्साहित छन् । उनले भने, 'हामीलाई लागेको थियो सवै पूर्व गोर्खाहरु बेलायत जाने भएपछि धरानको आर्थिक मेरुदण्ड भाँचिने भयो, तर धरानमै बसेर व्यापार व्याबसाय गर्नेहरु पनि पाइएकाले अव निकै आशा पलाएको छ ।' उनले बेलायत पलायन हुने अन्य गोरखा दाजुभाइलाई पनि सकारात्मक सन्देश जाने र फर्केर आउने प्रेरणा मिल्ने पनि बताए । 

अवसरको खोजी गर्दै सुखद भविष्य निर्माणका लागि गोर्खा भूतपुर्व सैनिकहरु बेलायतमा जानु आर्थिक हिसाबले उचित भए पनि नेपालमा अरु व्यावसायीले जस्तै व्यापार व्याबसाय गरेर नयाँ पुस्तालाई सहभागी गराउन र रोजगारीको नाममा विदेश पलायन हुनबाट बचाउन सकिने सैनिक लिमिटेड संचालक समिति सदस्य दुर्गामाया लिम्बूले बताइन् । लाहुरेको बाक्लो बस्ती रहेको धरानलाई पुर्व गोर्खाहरुले नमुना नगरको रुपमा स्थापित गर्न संगठित रुपमा व्यापार व्याबसायमा लागेको उनले बताइन् । 

बेलायत सरकारसँगको अधिकारको विषयमा मुद्धा चलिरहे पनि मातृभूमिलाई अधिकांसले छाड्ने पक्षमा नरहेकाले योजनाबद्ध व्यापार व्याबसायमा लागेको गोरखा भूतपुर्व सैनिक संघ सुनसरीका अध्यक्ष गजेन्द्र इस्वोले बताए । 'धरानमा यस अघि गोरखा भूतपुर्व सैनिक परिवारले तीन दशक सम्म सामाजिक सेवा, सार्वजनिक विकास निर्माण, सडक, विद्यालय भवन, खानेपानी जस्ता क्षेत्रमा आर्थिक सहयोग गर्ने क्रम जारी छ,' इस्वोले भने, 'धरानलाई जनसहभागिताको नमूना शहर भनेर चिनाएको छ, आफूले बनाएको शहरमा आफै पनि व्यापार व्यासाय गर्दा झन् उचित हुने देखिएकोले संगठित व्याबसायमा लागेका हौं ।'

लिमिटेडका संयोजक सिंबहादुर लिम्बूले संगठित रुपमा व्याबसाय गर्न भूपू सैनिक परिवारभित्रका सदस्यहरुबाटै शेयर संकलन भइरहेको जानकारी दिए । उनले भने, 'हाल सम्ममा दुई सय ५० जना पुगेका छन् ।'

आगामी एक बर्षभित्रमा सपिङ कम्प्लेक्स निर्माण पुरा गरि सक्नका लागि गोभूपु भित्रका प्रति परिवार न्यूनतम ५० हजार रुपैयाँका दरले शेयर संकलन भइरहेको लिम्बूले बताए । धरानका उपभोक्तहरुको माग अनुसार सपिङ कम्प्लेक्स निर्माण गर्न लागेको उनीहरुले बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by