ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, December 19, 2009

'मिथिला राज्यको माग जायज'

श्यामसुन्दर शशि/काठमाडौ (कान्तिपुर)-

माओवादी उपाध्यक्ष बावुराम भट्टराईले स्थानीयवासीहरुले उठाउँदै आएको स्वायत मिथिला राज्यको मांग जायज रहेको बताएका छन् । शनिवार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने-'मिथिला यस मुलुककै सबभन्दा पुरानो संस्कृति हो । स्वायत्त मिथिला राज्यको मांग उचित र तर्कसंगत हो ।' शुक्रवार विभिन्न राजनीतिक दल तथा संघ संस्थाहरुको विरोधको बीच डा.भट्टराईले स्वायत मधेस राज्यको घोषणा गरेका थिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले त्यतिवेलै समग्र मधेस एक स्वायत प्रदेशको घोषणा गरेको थियो भने मिथिला राज्य स्थापना संघर्षसमितीले स्वायत मिथिला राज्य घोषणा हुनु पर्ने मांग गरेका थिए । उनले माओवादीले गरेको गणराज्यको घोषणा सांकेतिक र दवावमुलकमात्र भएको बताए । उनले भने, 'मैथिल जनताले चाहेमा स्वायत्त मिथिला राज्यको पक्षमै हाम्रो पार्टी पनि हुनेछ ।'
काग्रेस र एमाले संघीयता विरोधी पार्टी रहेको दावी गर्दै उनले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक ,तराई मधेस लोकतान्त्रिक पार्टी एवं सदभावना पार्टीतिर संकेत गर्दै भने, ' यिनीहरुको पछि पछि लागेर मन्त्री बन्ने लोभमा केही मधेसवादी दलहरु पनि संघीताको विरोध गर्दैछन् । ' उनले संघीयताको छिनोफानो संविधानसभाबाटै हुने पनि बताए ।

माओवादीले संविधान निर्माण प्रकृयालाई अवरोध पारेको भन्ने संचारकर्मीहरुको जिज्ञासामा उनले भने, 'संविधानसभा रुपि बालकलाई ९ महिनासम्म कोखमा राखेर हुर्काएको माओवादी संविधानसभाको विरोधी हुनै सक्दैन । बरु छिटो भन्दा छिटो संविधान निर्माण गर्न चाहन्छ ।' माओवादीले सुरु गरेको तेश्रो चरणको आन्दोलन र स्वायत गणराज्य घोषणा अभियान संविधानसभालाई वल दिननै भएको उनले बताए । माओवादी नेता भट्टराईले नेपाली काग्रेस,एमाले र मधेसवादी दलहरुलाई संंघीय संरचनाबारे छिटो भन्दा आआफ्नो अवधारणा ल्याउन आग्रह पनि गरे । यसैगरी आज विहानै देशभक्त जनतान्त्रिक एकता अभियान धनुषाले जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजना गरेको 'देश,मधेस र एकिकृत नेकपा माओवादी'विषयक अन्तकृयालाई संवोधन गर्दै उनले सत्ता साझेदार दलहरुले संविधानसभालाई भंग गरी मुलुकमा राष्ट्रपति शासन लागू गर्न खोजेको आरोप लगाए । माओवादीको नागरिक सर्वोच्चताको आन्दोलन संविधान निर्माण ,शान्ति समझौताको पालना र संघीयताको पक्षमा रहेको दावी पनि उनले गरे ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by