ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, August 19, 2009

प्रधानमन्त्रीसँग किन गइनन् सुजाता ?



लगेज प्रधानमन्त्रीसँगै दिल्ली पुग्यो, तर उनी यतै रहिन् । आखिर त्यस्तो विशेष कारण के थियो, जसले सामान्य कूटनीतिक र राजनीतिक परम्परासमेत उल्लंघन हुनेगरी परराष्ट्रमन्त्री सुजाता कोइरालालाई दिल्ली जानबाट रोक्यो ?

स्वास्थ्यका कारण भनिए पनि सुजाताले पूर्वसहमतिअनुसार भ्रमणअघि नै आफूलाई उपप्रधानमन्त्री नबनाइएको भन्दै प्रधानमन्त्री माधवकुमार नेपालसँगको भारत-भ्रमण 'बहिष्कार' गरेकी हुन् ।

प्रधानमन्त्री नेपालसँगै मंगलबार दिल्ली जाने अन्तिम तयारीमा रहेकी मन्त्री सुजाताले पूर्वसहमति पालना नगरेको भन्दै आफ्नो भ्रमण रद्द गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीको भ्रमणमा सवारीमन्त्रीको हैसियतमा परराष्ट्रमन्त्री रहने परम्परालाई तोड्दै सुजाताले भ्रमण स्थगित गरेकी हुन् । स्रोतका अनुसार मन्त्री सुजाताले सोमबार पनि पूर्वसहमतिबारे प्रधानमन्त्रीलाई सम्झाएकी थिइन् । तर, प्रधानमन्त्री नेपालले भारत-भ्रमणबाट फर्केलगत्तै गठबन्धनका अन्य दलसँग परामर्श गरी उपप्रधानमन्त्री बनाउने आश्वासन दिएको स्रोतको दाबी छ । सोमबार दिनभरि नै प्रधानमन्त्रीलाई सहमति पालना गर्न सुजाताले दबाब दिएपछि साँझ प्रधानमन्त्रीले टेलिफोन गरी सो जानकारी गराएको स्रोतले नयाँ पत्रिकालाई बतायो ।

प्रधानमन्त्रीको भनाइबाट रुष्ट बनेकी मन्त्री सुजाताले मंगलबार बिहान ११ बजे परराष्ट्र मन्त्रालयमार्फत आफू अस्वस्थ रहेको भन्दै दिल्ली नजाने जानकारी प्रधानमन्त्री नेपाललाई गराएकी थिइन् । मन्त्रालयका कर्मचारीले टेलिफोन गरी प्रधानमन्त्री नेपाललाई परराष्ट्रमन्त्री दिल्ली नजाने जानकारी गराएका थिए । एमाले नेतृत्वको गठबन्धन सरकारमा पार्टीको नेतृत्व गर्दै सहभागी सुजाताका लागि दिल्लीस्थित आगरा होटलको ७१३ नं कोठा बुक गरिएकामा अहिले पनि खाली नै राखिएको त्यहाँ रहेका पत्रकारले जनाएका छन् ।

मन्त्री सुजातासँग भ्रमण स्थगनबारे बुझ्न पटक-पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आइनन् । तर, उनका सहयोगीले भने सुजातालाई ज्वरो आएकाले भ्रमण रद्द गर्नुपरेको जानकारी दिए । सुजाताले निवासमा पुगेका र टेलिफोन सम्पर्क गरेका आफूनिकटका नेतालाई कुरा गर्ने मुड नभएको भन्दै दिनभरि कसैसँग पनि भेट नगरेको स्रोतको दाबी छ ।

उपप्रधानमन्त्री नबनाइएपछि आक्रोशित सुजाताले प्रधानमन्त्री नेपाललाई सोमबार नै 'सरकार कति दिन टिक्ला, हेरौँला' भन्दै चुनौती दिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री नेपाल सुजातालाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउने तयारीमा रहे पनि कांग्रेसका वरिष्ठ नेताहरूको आपत्तिका कारण प्रक्रिया अघि बढ्न नसकेको स्रोतले जनाएको छ । कार्यवाहक सभापति सुशील कोइराला, उपसभापतिहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतका नेताले प्रधानमन्त्री नेपाललाई सुजातालाई उपप्रधानमन्त्री नबनाउन दबाब दिएपछि उनले सुजातालाई तत्काल उक्त जिम्मेवारी दिन नसक्ने जानकारी गराएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री नेपालले मंगलबार सरकार विस्तार गर्ने अन्तिम तयारी गरेका थिए । मंगलबार बिहान ९ बजे विस्तारित मन्त्रीहरूको शपथ गराउने तयारीसमेत भएको थियो । जसमा सुजातालाई उपप्रधानसहितको परराष्ट्रमन्त्री, राष्ट्रिय जनशक्ति पार्टी र फोरमलाई एक-एक मन्त्री एवं सद्भावनाबाट एक राज्यमन्त्री बनाउने तयारी थियो ।

Source:[http://www.nayapatrika.com/newsportal/cover_story/4968.html]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by