ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, August 21, 2009

संसदीय दलद्वारा भ्रमणमा नगएकाबारे स्पष्टीकरण दिन सुजातालाई पत्र

मन्त्रीबाट फिर्ता गरी कारबाही गर्न माग-

नेपाली कांग्रेसको संसदीय दलले परराष्ट्र मन्त्री सुजाता कोइरालालाई अन्तिम समयमा आएर प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमणमा नगएकोबारेमा स्पष्टीकरण दिन शनिबारको बैठकमा बोलाएको छ।
दलको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्रीको भ्रमणमा नगएर सुजाताले कूटनीतिक मर्यादा उल्लंघन गरी गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको भन्दै उनलाई सरकारबाट फिर्ता बोलाई पार्टीबाट कारबाही गर्न चर्को माग भएपछि त्यस्तो निर्णय भएको हो।
स्रोतका अनुसार बैठकको निर्णयअनुसार दलका सचिव महेन्द्रध्वज जीशीले सुजातालाई शनिबारको बैठकमा आएर भ्रमणमा नगएकाबारे स्पष्टीकरण दिन शुक्रबार साँझ लिखित पत्र पठाएका छन्।
बैठकमा संसदीय दलका नेता रामचन्द्र पौडेलेले पार्टी कार्यसमिति बैठकले उपप्रधानमन्त्री पद नमागेको र परराष्ट्रमन्त्रीको भ्रमण रद्द भए पनि प्रधानमन्त्री नेपाल नेतृत्वको सरकारलाई निरन्तर सहयोग र सहभागिता जारी राख्ने भनी गरेको निर्णय पारित गर्न प्रस्ताव राखेका थिए।

तर, बैठकमा बोल्ने अधिकांश सदस्यले परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको भ्रमणमा नजानु राष्ट्रिय लज्जाको विषय भएकाले लिखित रूपमा स्पष्टीकरण नसोधी अरू कुनै पनि प्रस्ताव पारित गर्न नहुने आवाज उठाएपछि प्रस्ताव रोकिएको थियो। सदस्यहरूले तीव्र आवाज उठाएपछि संसदीय दलले सुजातासित शनिबारको बैठकमा स्पष्टीकरण दिनका लागि लिखित पत्र पठाउने निर्णय गरेको हो।
...परराष्ट्रमन्त्रीले उपप्रधानमन्त्री पाइन भनेर भारत भ्रमणमा नजानु कूटनीतिक मर्यादाको उल्लंघनमात्र नभई राष्ट्रिय लज्जाको विषय हो। मन्त्री दलप्रति उत्तरदायी हुन्छन् कि हुन्नन्? दलले उनलाई कारबाही गर्नुपर्छ' सभासद्हरूको भनाइ थियो।

बैठकमा नरहरि आचार्य, नारायण खड्का, पूर्णबहादुर खड्का, रमेश लेखक, अजय द्विवेदी, सीता गुरुङ, मीना सिधा, मोहम्मद सिद्धिकीलगायतले उपप्रधानमन्त्री पद नपाएका कारण सुजाताले भ्रमण रद्द गरेर कूटनीतिक मर्यादा र पार्टीको अनुशासनविपरीत कार्य गरेको भन्दै कारबाही गर्न माग गरे।
बैठकमा बोल्ने कसैले पनि सुजाताको समर्थनमा बोलेननन्। उपप्रधानमन्त्री नपाएका कारण भारत भ्रमण रद्द गरेकामा पार्टीले छानबिन गरी सुजातामाथि कारबाही गर्नुपर्ने धारणा बोल्ने सबैको थियो।

कांग्रेसको बुधबार बसेको केन्द्रीय समितिको बैठकमा समेत अमर्यादित व्यवहार गरेकामा उनलाई सरकारबाट फिर्ता बोलाउन माग भएको थियो। संसदीय दलको बैठकमा एजेन्डा नभए पनि सबैले सुजाताले भ्रमण रद्द गरेको विषयमा बोल्दै उनको आलोचना गरेका थिए।
संसदीय दलको बैठकमा सभासद्हरूले अस्वस्थ भएको बहानामा सुजाताले अन्तिम समयमा अचानक भ्रमण रद्द गरी प्रधानमन्त्री नेपाल र आतिथ्य मुलुक भारतको अपमान गरेकोसमेत आरोप लगाए।
उनीहरूले कूटनीतिक मर्यादाको उल्लंघन, आफ्नो र आतिथ्य मुलुकको मानमर्दन गरेकामा प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई कारबाही गरे भने पार्टीको अडान के हुन्छ? भन्ने प्रश्नसमेत गरेका थिए।

'सुजाता अस्वस्थताका कारण भारतमा नगएको भन्ने कुरा विश्वास गर्न सकिन्न। पार्टीको निर्णयबिनै कुनै नेता या सुजाता आफैंले उपप्रधानमन्त्री पद माग्दा नपाएपछि भ्रमण रद्द गरेकी हुन्। अनुशासनहीन र पार्टी निर्णयविपरीत कार्य गरेकामा सुजातालाई सरकारबाट फिर्ता बोलाउनुपर्छ। पार्टीबाट कारबाही गर्न स्पष्टीकरण सोध्नुपर्छ' उनीहरूको भनाइ थियो।

उनीहरूले परराष्ट्रमन्त्री भारत नजाँदा त्यसबाट प्रधानमन्त्रीको भ्रमण ओझेलमा परेको, नेपाली कूटनीति र द्विपक्षीय वार्तामा मुलुकले उठाउने मुद्दालाई कमजोर बनाएको उल्लेख गर्दै चिन्ता व्यक्त गरेका थिए।
...प्रधानमन्त्रीका प्रत्येक भ्रमणमा परराष्ट्रमन्त्री जाने चलन हुन्छ, तर यसपटक त्यो परम्परालाई तोडेर सुजाताले आतिथ्य मुलुक भारत र प्रधानमन्त्रीको समेत अपमान र मानमर्दन गरेकी छन्। कसैलाई पनि कूटनीतिक मर्यादा उल्लंघन गर्ने, छिमेकी मुलुकको अपमान गर्ने र देशकै प्रतिष्ठामा आघात पुग्ने अधिकार कसैलाई हुन्न' उनीहरूको भनाइ थियो।
पार्टीले उनलाई उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्रीसित माग गरेको छैन। सभापति कोइरालाले पार्टीमा निर्णय नभई प्रधानमन्त्रीसित छोरी सुजातालाई उपप्रधानमन्त्री बनाएर भारत भ्रमणमा लैजान दबाब दिएका थिए।
प्रधानमन्त्रीले उपप्रधानमन्त्री नबनाएपछि उनले भारत प्रस्थान गर्ने दिन बिहान भ्रमण रद्द गरेकी हुन्। बुधबार बसेको पार्टी बैठकले समेत सुजातालाई उपप्रधानमन्त्री बनाउन पार्टीले माग नगरेको स्पष्ट पारिसकेको छ।
सभासद्हरूले आफ्नो व्यक्तिगत चाहना र कुण्ठा पूरा भएन भन्दैमा भ्रमण रद्द गर्नु पार्टी अनुशासनको गम्भीर उल्लंघन भएको उल्लेख गरेका थिए। पार्टीको निर्णयबिना छोरी सुजातालाई उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्री नेपाललाई दबाब दिएकामा सभापति कोइरालाको समेत सभासद्हरूले आलोचना गरेका थिए।
'सुजाता र सभापति कोइरालाको चाहना र स्वार्थ पूरा भएन भन्दैमा आफ्नो पार्टीको समर्थन र सहभागितामा बनेको सरकारका प्रधानमन्त्री नेपाल र आतिथ्य मुलुकको अपमान र मानमर्दन गर्नु दुर्भाग्यपूर्ण हो। त्यो परराष्ट्रमन्त्रीको कर्तव्य र कूटनीतिक मर्यादापिरीत हो। सभापति कोइरालाले सुजातालाई भ्रमण रद्द गर्न भित्रीरूपमा स्वीकृति दिनुसमेत गैर जिम्मेवार व्यवहार हो' उनीहरूको भनाइ थियो।
उनीहरूले कुनै एउटा व्यक्तिको लहड, चाहना र कुण्ठाका कारण वर्तमान सत्ता समीकरणमा असर पर्न नहुने उल्लेख गर्दै शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण प्रक्रिया पूरा नभएसम्म नेपाल नेतृत्वको सरकारमा पार्टीको सहभागिता निरन्तर जारी राख्नुपर्ने अडान राखेका थिए।
बैठकमा अरू मन्त्रीको कार्यशैलीको समेत विरोध भएको थियो। बैठकमा संविधान निर्माणमा देखिएका समस्या समाधान गर्न कांग्रेसले पहल गर्ने र शान्ति सम्झौताको भावनाबमोजिम माओवादी लडाकुको समायोजन प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई आग्रह गर्नेबारेमा छलफल भएको थियो।

सचिवमा जीशी, प्रवक्तामा जोशी र कोषाध्यक्ष रिजाल
कांग्रेसले संसदीय दलको सचिवमा महेन्द्रध्वज जीसीलाई मनोनीयत गरेको छ। कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले उनलाई मनोनयन गरेको हो।
बैठकले नेता रामचन्द्र पौडेलको प्रस्तावमा संसदीय दलको प्रवक्तामा नवीन्द्रराज जोशी र कोषाध्यक्षमा कल्याणी रिजाललाई मनोनयन गरेको छ। बैठक दलका नेता पौडेलको अध्यक्षतामा बसेको थियो।


Source:[http://www.nagariknews.com/politics/party-politics/4200-2009-08-21-07-13-28.html]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by