ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, August 20, 2009

सुजातालाई फिर्ता बोलाउन माग


बलराम बानियाँ, काठमाडौं, भदौ ४- कांग्रेसमा परराष्ट्रमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणमा नगएर कूटनीतिक मर्यादा उल्लंघन गरी गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको भन्दै उनलाई सरकारबाट फिर्ता बोलाउन माग भएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकमा बोलेका १८ सदस्यमध्ये सबैले बिरामीको बहाना बनाएर सुजाताले अन्तिम समयमा अचानक भ्रमण रद्द गरी प्रधानमन्त्री र आतिथ्य मुलुक भारतको मानमर्दन गरेको भन्दै तीव्र आलोचना गरेका थिए।

कांग्रेसमा सुजाताले भ्रमण रद्द गरेकोबारे दिउँसो बाह्र बजेदेखि साढे २ बजेसम्म छलफल भएको थियो। बैठकमा अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, नरहरि आचार्य, विनयध्वज चन्द, गोविन्दराज जोशी, रामशरण महत, बलबहादुर राई, चक्रप्रसाद बाँस्तोला, मीना पाण्डे, एनपी सावद, मनमोहन भट्टराई, सुनिल भण्डारी, प्रदीप गिरी, पूर्णबहादुर खड्का, खुमबहादुर खड्का, अर्जुन जोशी, कृष्णलाल सापकोटालगायतले बोलेका थिए।

'सुजाता अस्वस्थताका कारण भारतमा नगएको भन्ने पत्याउन सकिन्न। पार्टीको कुनै नेता या सुजाता आफैंले उपप्रधानमन्त्री पद माग्दा नपाएको र त्यही कारण भ्रमण रद्द गरेकी हुन्। अनुशासनहीन र पार्टी निर्णयविपरीत कार्य गरेकामा सुजातालाई सरकारबाट फिर्ता बोलाउनुपर्छ,' उनीहरूको भनाइ थियो।

उनीहरूले परराष्ट्रमन्त्री भारत नजाँदा प्रधानमन्त्रीको भ्रमण ओझेलमा परेको, नेपाली कूटनीति र द्विपक्षीय वार्तामा मुलुकले उठाउने मुद्दा कमजोर बनाएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

'प्रधानमन्त्रीका हरेक भ्रमणमा परराष्ट्रमन्त्री जाने परम्परा हुन्छ, तर यसपटक त्यो परम्परा तोडेर सुजाताले आतिथ्य मुलुक भारत र प्रधानमन्त्रीको समेत मानमर्दन गरेकी छन्। कसैलाई पनि कूटनीतिक मर्यादा उल्लंघन गर्ने र मुलुककै बेइज्जती गर्ने अधिकार हुन्न। सुजातालाई कारबाही गर्नैपर्छ,' उनीहरूको भनाइ थियो।

उनीहरूले बैठकमा पार्टीले सुजातालाई उपप्रधानमन्त्री बनाउन माग गरेको हो कि होइन, स्पष्टीकरण दिन कार्यवाहक सभापति सुशील कोइराला र रामचन्द्र पौडेलसँग स्पष्टीकरण दिन माग गरेका थिए।

सुशीलले सुजातालाई उपप्रधानमन्त्री बनाउन पार्टीले प्रधानमन्त्रीसँग माग नगरेको स्पष्टीकरण दिएका थिए। उनले कांग्रेस सभापति कोइरालालाई हवाला दिँदै सुजाताले अस्वस्थताका कारण भारत भ्रमण रद्द गरेको स्पष्टीकरण दिएका थिए।

'मैले मंगलबार गिरिजाबाबुसित सुजाताका बारेमा सोधेँ। गिरिजाबाबुले म भर्खरै सुजाताको निवासमा गएर फर्केको हुँ। बिरामी छे। त्यसैले बिरामी भएका कारण भारत नगएकी हो। अरू कारणले नगएकी होइन भन्नुभयो,' सुशीलले भने।

उनको स्पष्टीकरणबाट सदस्यहरूले चित्त बुझाएनन्। त्यसपछि सदस्यहरूले सुजाताको झन् चर्को विरोध गरे। उनीहरूले स्पष्टीकरण चित्तबुझ्दो नभएको उल्लेख गर्दै सुजाता अस्वस्थताका कारणले भारत भ्रमणमा नगएको भनेर विश्वासै गर्न नसकिने बताए।
स्रोतका अनुसार बैठकमा धेरैजसोले आफ्नो व्यक्तिगत चाहना र कुण्ठा पूरा भएन भन्दैमा पार्टीको निर्णयबिना छोरी सुजातालाई उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्री नेपाललाई दबाब दिएकामा सभापति कोइरालाको समेत आलोचना भएको थियो।

'सुजाताको व्यक्तिगत चाहना पूरा भएन भन्दैमा आफ्नो समर्थन र सहभागितामा बनेको सरकारका प्रधानमन्त्री नेपाल र आतिथ्य मुलुकको मानमर्दन गर्नु दुर्भाग्यपूर्ण हो। त्यो परराष्ट्रमन्त्रीको कर्तव्य र कूटनीतिक मर्यादापिरीत हो,' उनीहरूको भनाइ थियो।

उनीहरूले कुनै एउटा व्यक्तिको लहड, चाहना र कुण्ठाका कारण सत्ता समीकरणमा असर पर्न नहुने उल्लेख गर्दै शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण प्रक्रिया पूरा नभएसम्म नेपाल नेतृत्वको सरकारमा पार्टीको सहभागिता निरन्तर जारी राख्नुपर्ने अडान राखेका थिए।

सदस्यहरूको दबाबपछि कार्यसमिति बैठकले औपचारिक रूपमा 'शान्ति प्रक्रिया र संविधान निर्माणका सन्दर्भमा प्रधानमन्त्री नेपालको नेतृत्वमा रहेको वर्तमान सत्ता समीकरणलाई कांग्रेसको निरन्तर समर्थन र सहभागिता रहने कुरा दृढतापूर्वक व्यक्त गर्ने' निर्णय गरेको छ।

सुजाताका कारण वर्तमान सत्ता समीकरणको भविष्यलाई असर पर्न नदिन र सरकारको नेतृत्वमा रहेको एमालेमा कांग्रेसप्रति अविश्वास सिर्जना नहोस् भनेर यो निर्णय गरिएको जानकारी कांग्रेस केन्द्रीय सदस्य विनयध्वज चन्दले दिए। 'कुनै एउटा व्यक्तिका कारण सरकार ढल्दैन। शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण नभएसम्म यही समीकरण रहन्छ भन्नेमा एमालेलाई ढुक्क बनाउन हामीले यो निर्णय गरेका हौं,' उनले नागरिकसँग भने।

कूटनीतिक शिष्टाचारको अपहेलनाः गच्छदार
अजित तिवारी, विराटनगर, भदौ ४- भारत भ्रमणमा नगएर परराष्ट्रमन्त्री सुजाता कोइरालाले कूटनीतिक शिष्टाचारको अपहेलना गरेको आरोप कार्यबाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले लगाएका छन्।
अन्तिम समयमा जिद्दी गरेर हुँदैन, घरको कुरा घरमै सल्टाउनुपर्छ, छिमेकीलाई सुनाउनु हुन्न,' गच्छदारले बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित भने, 'सुजाताजी प्रधानमन्त्रीसँगै भारत जानुपथ्र्यो, उनको निर्णयले मुलुकको बेइज्जती भएको छ।'

सुजातालाई उपप्रधानमन्त्री बनाउने विषयमा आफूलाई केही थाहा नभएको गच्छदारले बताए। '२२ दलको सरकारमा कसले के पाउनेमा टुंगो लागिसकेको छ,' उनले भने, 'उपप्रधानमन्त्री कुनै पार्टीले बनाउने होइन, त्यो प्रधानमन्त्रीको विषय हो।'

व्यक्तिविशेषको निर्णयले बृहत् प्रजातान्त्रिक सरकार नढल्ने उनले स्पष्ट पारे। उनले भने, 'अब कसैले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकारको कल्पना नगरे हुन्छ।'

प्रधानमन्त्री नेपाल भारत भ्रमणबाट फर्किएलगत्तै सरकार अझ बिस्तार हुने उनले जानकारी दिए। पार्टीका तर्फबाट मन्त्रीको सूची बुझाइसकिएको छ, प्रम फर्किएलगत्तै उनीहरुको शपथ ग्रहण हुनेछ,' मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष समेत रहेका गच्छदारले भने।

राष्ट्रिय सरकारको बखेडा झिकेर राष्ट्रलाई बन्धक बनाउन नहुने गच्छदारको भनाइ छ।

प्रधानमन्त्रीको भ्रमण एयरपोर्टमै असफल
सप्तरीको राजविराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सुजाता कोइराला भारत नगएर वर्तमान सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नमा असफल पारेको आरोप लगाएका छन्।

भ्रमणको क्रममा दुई देशबीच हुने हरेक प्रकारका सहमति वा सम्झौताको कागजात परराष्ट्रमन्त्रीले हस्तान्तरण गर्ने परम्परा छ, तर सुजाता नै नगएपछि प्रधानमन्त्रीको यो भ्रमण काठमाडौं एयरपोर्टमै असफल भयो,' यादवले भने, 'नेपालका लागि यसभन्दा ठूलो जग हँसाइ के हुन्छ ?





उच्चस्तरीय संयन्त्रको संयोजकमा सुजातालाई राख्न कोइरालाको प्रस्ताव
काठमाडौं, भदौ ४ (नागरिक)- नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले प्रमुख तीन दलको उच्चस्तरीय संयन्त्रको संयोजकमा पुत्री परराष्ट्रमन्त्री सुजाता कोइरालालाई राख्न प्रस्ताव गरेका छन्।
कोइरालाले माओवादी, एमाले र कांग्रेसका शीर्ष नेताहरूको बैठकमा शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई अघि बढाउन गठन हुने संयन्त्रको संयोजकमा छोरी सुजातालाई बनाउनुपर्ने प्रस्ताव गरेका हुन्।

माओवादीले कोइरालामाथि सुजातालाई नेता बनाउन तथा शान्ति प्रक्रिया र संविधान निर्माणलाई गति दिनभन्दा पनि सरकारको सहयोग गर्नमात्र संयन्त्र बनाउन खोजेको आरोप लगाउँदै त्यही कारण संयन्त्र तुहिएको दाबी गरेको छ।

'संविधान निर्माण र शान्ति प्रक्रियालाई गति दिनका लागि सहमतिको वातावरण बनाउन माओवादी, कांग्रेस र एमालेका शीर्ष नेता रहेको उच्चस्तरीय संयन्त्र गठन गर्‍यौं' कोइरालाले केही दिनअघि बसेको तीन दलको बैठकमा राखेको भनाइ उद्धृत् गर्दै स्रोतले भने- 'संयन्त्रको नेतृत्व म गर्छु। अहिलेलाई संयन्त्रको संयोजनको काम परराष्ट्रमन्त्री सुजाताले गर्छिन्।'

माओवादी स्थायी समितिका सदस्य लीलामणि पोखरेलले कोइरालाले छोरी सुजातालाई नेता बनाउन र सरकारको काम सघाउने प्रकारको संयन्त्र बनाउन खोजेको बताए। त्यही कारण संयन्त्र निर्माणको प्रस्ताव तुहिएको दाबी उनले गरे।

'शान्ति प्रक्रिया, संविधान निर्माण र सेना समायोजन प्रक्रियालाई अघि बढाउन संयन्त्र गठन गर्न हामी सहमत भएका हौं। तर, गिरिजाबाबुले प्रस्ताव गरेअनुसार सुजाताबाट संयन्त्रको संयोजन हुन सक्तैन। त्यही कारण संयन्त्र तुहिएको हो' पोखरेलले भने।
सभापति कोइरालाले पार्टीको तीव्र विरोधबीच छोरी सुजातालाई एमाले नेतृत्वको सरकारमा पार्टीको नेतृत्व गर्दै पठाएका थिए।

Source:[http://www.nagariknews.com/news-highlights/139-highlights/4155-2009-08-20-03-25-40.html]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by