ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, August 18, 2009

हतियार भित्र्याउन प्रधानमन्त्री इच्छुक




नयाँ पत्रिका
काठमाडौं, १ भदौ

सहमतिविना कुनै सन्धि-सम्झौता नगर्ने बताइरहे पनि प्रधानमन्त्री माधवकुमार नेपाल हतियार सहयोग नियमित गराउन इच्छुक देखिएका छन् । भ्रमणका क्रममा उनले भारतसँग हतियार सहयोगबारे समकक्षीसँग वार्ता गर्ने भएका छन् । भ्रमणकै सिलसिलामा हतियार सम्झौता गर्ने तयारी भने भएको छैन । प्रधानमन्त्री नेपाल मंगलबार भारत भ्रमणमा निस्कँदै छन् ।

प्रधानमन्त्री नेपालले नेपाली सेनालाई भारतले दिँदै आएको सहयोग नियमित गराउन भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसमक्ष आग्रह गर्ने भएका छन् । यसअघि, रक्षामन्त्री विद्या भण्डारीले सैन्य सहयोग सुचारु गर्न समकक्षी एके एन्टोनीसँग आग्रह गरेकी थिइन् ।

प्रधानमन्त्री नेपाल सोमबार दिउँसो एक बजे पुल्चोकस्थित रक्षामन्त्रीनिवास गई रक्षामन्त्री विद्यादेवी भण्डारीसँग यस विषयमा छलफल गरेका थिए । त्यस क्रममा रक्षामन्त्री भण्डारीले आफ्नो भ्रमणका क्रममा भारत सरकारसँग भएको छलफलका बारेमा प्रधानमन्त्री नेपाललाई 'बि्रफिङ' गरेकी थिइन् । 'प्रधानमन्त्रीले रक्षामन्त्रीको भारत भ्रमणमा भएका कुराकानीका बारेमा जिज्ञासा राख्नुभयो, रक्षामन्त्रीले पहिले भएका कुराकानीका बारेमा प्रधानमन्त्रीलाई बि्रफिङ गर्नुभयो,' छलफलमा सहभागी रक्षामन्त्री भण्डारीका प्रेससल्लाहकार सुवास देवकोटाले नयाँ पत्रिकासँग भने ।

रक्षामन्त्री भण्डारीले नेपालले प्रस्ताव गरेअनुसारको सैन्य सहयोग गर्न भारत सहमत भएको जानकारी प्रधानमन्त्रीलाई गराएकी थिइन् । 'रक्षामन्त्रीले आफ्ना समकक्षीसँग सैन्य सुचारु गर्न जे आग्रह गर्नुभयो, त्यही आग्रह प्रधानमन्त्रीले भारतीय समकक्षीसँग गर्ने कुरा भएको छ,' देवकोटाले भने ।

पाँच वर्षअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नै नेतृत्वमा सत्ता हत्याएपछि नेपालका राजनीतिक दलहरूको आग्रहमा भारतले नेपालमा सैन्य सहयोग रोकेको थियो । त्यसयता, भारतले नेपाललाई गैरघातक हतियार सहयोग मात्रै उपलब्ध गराउँदै आएको छ ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा हतियारबारे सम्झौताचाहिँ नहुने भएको छ । नेपाली सेनाले हतियार तथा उपकरणका बारेमा हालसम्म कुनै प्रस्ताव नगरेको पनि रक्षामन्त्रीका प्रेस सल्लाहकार देवकोटाले बताए । प्रक्रिया मिलाउने हतियार तथा सैन्य उपकरण ल्याउनका लागि भारतलाई लिखित रूपमा प्रस्ताव गर्नुपर्छ । तर, देवकोटाका अनुसार हालसम्म यस्तो प्रस्ताव तयार गरिएको छैन । भारतले नेपाललाई इन्सास, सट मेसिनगनलगायतका सैन्यहतियार र तिनका गोलीगठ्ठा सत्तरी प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको छ ।

भारत भ्रमणका क्रममा रक्षामन्त्री भण्डारीले नेपाली सेनाका लागि आवश्यक हतियार तथा गोलीगठ्ठा दिन भारत सहमत भएको भ्रमणपछि पत्रकारलाई बताएकी थिइन् ।

Source:[http://www.nayapatrika.com/newsportal/desh/4948.html]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by