ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, August 20, 2009

सित्तैको औषधी'ले बिरामी

दीपक दाहाल, काठमाडौं, भदौ ५- सरकारले अभियानका रूपमा काठमाडौंमा चलाएको जापानिज इन्सेफ्लाइटिस (जेई) खोप लगाएका दुई महिलामा नकारात्मक असर देखिएको छ। गत बिहीबार खोप लगाएकी नैकाप तीनथानाकी ४४ वर्षीया सन्तुमाया मालीको शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार भइरहेको छ। उनलाई आँखाको समस्या देखिएको छ भने हातखुट्टा सुन्निएका छन्। उनलाई घाँटी चलाउनसमेत अप्ठेरो भएको छ।

अस्पतालको शैय्यामा रहेकी मालीले नागरिकसँग भनिन्, 'एउटा चिज हेर्दा दुईवटा देख्छु।'
उनले नैकापस्थित हिमशिखर क्लबमा खोप लगाएकी थिइन्। घर पुग्दा उनको खुट्टा गल्न थाल्यो र निहुरिनसमेत कठिन भयो। 'साँझ हातखुट्टा चिटचिट् गर्न थाल्यो, भोलिपल्ट त सबै सुन्निएको रहेछ,' उनले भनिन्, 'शुक्रबार साँझ पेट फुल्यो र बान्ता पनि भयो।'

स्वास्थ्य सेवा विभाग स्रोतका अनुसार शुक्रबार तीनथाना गाविस- ४ को अर्को शिविरमा खोप लगाउँदा लगाउँदै अर्की महिला पनि बेहोस भएकी थिइन्। बेहोस भएलगत्तै खोपकेन्द्रमा विश्व स्वास्थ्य संगठनका चिकित्सक सुकदेव न्यौपाने र खोप अधिकृत नारायणकुमार मास्केलाई पठाइएको थियो। तर, यो घटना विभागले लुकाएको छ। बेहोस भएकी महिलासागै टोलीले मालीको पनि स्वास्थ्य परीक्षण गरेको थियो।

चिकित्सकले बान्ता भएमा टेकू अस्पतालमा सम्पर्क राख्न भनेपछि शनिबार मालीलाई त्यहाँ पुर्‍याइएको थियो। टेकुले उनलाई शिक्षण अस्पताल महाराजगञ्ज पठायो। उपचारमा संलग्न शिक्षण अस्पतालका डा.राजेश नेपालले खोपकै कारण उनमा समस्या देखिएको संकेत दिए। 'खोपकै कारण भनेर पुष्टि नभए पनि बिरामीमा अरु कुनै रोग नदेखिएकाले शंका छ,' उनले भने।

अस्पतालका नशा विभाग प्रमुख वरिष्ठ न्यूरो विशेषज्ञ डा.जगदीशप्रसाद अग्रवालले पनि ब्रिफिङका क्रममा खोपकै कारण यस्तो भएको हुनसक्ने बताएका थिए।

'खोप भण्डारण र स्वास्थ्यकर्मीले सुई लगाउने क्रममा त्रुटि भएको हुनसक्छ,' बाल स्वास्थ्य महाशाखाका डा.श्यामराज उप्रेतीले बताए। विभाग स्रोतले खोप लगाएका अरू बिरामीले पनि 'रिँगटा लागेको', 'टाउको दुखेको' भन्दै फोन गरेको बताए।


विभागका उच्च अधिकारीले माली परिवारलाई विहीबार बोलाएर सम्पूर्ण उपचार खर्च बेहोर्ने भन्दै मुद्दा नचर्काउन भनेको छ। 'बहिनी गएकी थिइन्, गाविसबाट सिफारिस ल्याउनू, सबै खर्च बेर्होछौं भनेछन्,' सन्तुमायाका श्रीमान् बालकृष्णले भने।

'खोप गुणस्तरीय'
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाल स्वास्थ्य महाशाखाले विहीबार एक विज्ञप्तिमार्फत् चार वर्षदेखि सञ्चालनमा ल्याएको खोप हानिकारक नभएको दाबी गरेको छ।

काठमाडौंमा इन्सेफ्लाइटिसका बिरामी भेटिएकाले अभियान चलाइएको उल्लेख गरेको छ। महाशाखाले निर्धक्क भएर खोप लगाउन आग्रह गरेको छ। तर, सरकारको स्वास्थ्य सामग्री आपूर्ति व्यवस्थापन माग प्रणाली तालिम सन्दर्भ पुस्तिकाको पेज नं १० मा सामानको म्याद सकिने मिति ३/९९ लेखिएको भए तेस्रो महिनाको पहिलो दिन नै म्याद सकिने उल्लेख छ।


सरकारले गुणस्तरीय भने पनि धापासीको चन्द्रविन्दु विद्यालयमा रहेको खोपकेन्द्र पुगेका स्थानीय बासिन्दाले खोप बहिस्कार गरेका छन्।

स्वास्थ्यकर्मीलाई विभागमा बोलावट
खोपबारे नागरिक दैनिकमा प्रकाशित समाचारमा प्रतिक्रिया दिएको भन्दै विभागले आलापोट उपस्वास्थ्य चौकीका अहेव जगत नेपाली र धापासी उपस्वास्थ्य चौकीका प्रमुख उज्जलकुमार शर्मालाई तत्काल विभागमा सम्पर्क राख्न पत्र काटेको छ। विभागका महानिर्देशकको आदेशमा उनीहरुलाई पत्र काटिएको हो।

शर्मा र नेपाली दुबैले बुधबार नागरिकसँग खोपले काम नगर्ने भन्दै स्वास्थ्यकर्मीले आफ्ना परिवारका सदस्यलाई समेत खोप नदिएको बताएका थिए।

मिडियामा बोलेको आधारमा कर्मचारीलाई कारबाही भए देशभरका स्वास्थ्यकर्मीलाई आन्दोलनमा उतार्ने चेतावनी नेपाल स्वास्थ्यकर्मी युनियनले दिएको छ।

'सूचनाको हकसम्बन्धी कानुन बनिसकेको अवस्थामा आफूले जानेको कुरा सर्वधारणलाई जानकारी दिने स्वास्थ्यकर्मीमाथि पत्र काट्नु नै गम्भीर हो,' युनियनका अध्यक्ष भगिरथ बानियाँले भने, 'तालिममा सिकाएको र सरकारको निर्देशिकामा लेखेको कुरा बोल्न स्वास्थ्यकर्मी डराउनु पर्दैन,' बानियाँले भने।

बाल स्वास्थ्य महाशाखाका प्रमुख उप्रेतीले भने त्रुटि थाहा पाउन उनीहरूलाई बोलाइएको बताए। 'तालिममा कमजोरी भएको हो कि स्वास्थ्यकर्मीको क्षमता नै नभएको, स्पष्ट हुन बोलाएका हौं,' उप्रेतीले भने। थापा पक्षलाई मान्यता
काठमाडौं, भदौ ४- निर्वाचन आयोगले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालको आधिकारिता विवादमा मेघबहादुर थापाको पक्षलाई मान्यता दिएको छ।
दलको बहुमत केन्द्रीय सदस्य तथा पदाधिकारी थापाका पक्षमा देखिएकाले उनको पक्षलाई आधिकारिक मान्यता दिने निर्णय गरिएको हो। पार्टीका दस केन्द्रीय सदस्यले आयोगमा उपस्थित भई थापाको पक्षमा समर्थन जनाएका थिए। आयोगले बुधबार विज्ञप्ति जारी गरी चुरेभावर पार्टी आयोगमा दर्ता हुँदा कायम १४ सदस्यमध्ये दश थापाको पक्षमा देखिएको जनाएको छ।
आयोगले केशवप्रसाद मैनाली पक्षलाई ३० दिनभित्र अर्को दल वा सोही दलको छुट्टै समूह पहिचान हुने गरी दल दर्ता गर्न निवेदन पेस गरेमा दर्ता गरिदिने निर्णय भएको आयोगको विज्ञप्तिमा छ।

Source:[http://www.nagariknews.com/society/health/4153-2009-08-20-03-16-19.html]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by