ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, August 16, 2009

ग्रेटर नेपालको माग गर्दै भारतीय दूतावासमा प्रदर्शन

काठमाडौं/ एकीकृत नेपाल राष्ट्रिय मोर्चाले सुगौली सन्धिमा गुमेका भू-भाग फिर्ता गर्न माग गर्दै शनिबार भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको छ । भारतीय स्वतन्त्रता दिवसका अवसरमा मोर्चाले कालो कपडामा लेखिएको मागपत्र दूतावासमा बुझाएको हो ।

सो अवसरमा मोर्चाको नेतृत्वमा पुगेको एक टोलीले ग्रेटर नेपालको पक्षमा चर्का नाराबाजी गरेको थियो । भारत अंग्रेजबाट स्वतन्त्र भएपछि टिस्टादेखि सतलजसम्मका सबै भू-भाग नेपालको हुनुपर्ने मोर्चाको माग छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा टिस्टादेखि सतलजसम्म फैलिएको समयमा नेपालको क्षेत्रफल दुई लाख चार हजार नौ सय १७ वर्गकिलोमिटर रहेको, तर सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धिका कारण नेपाल एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफलमा खुम्चिनुपरेको उल्लेख गरिएको छ । दूतावासअगाडि आयोजित विरोध प्रदर्शनमा अध्यक्ष नेपालले टिस्टादेखि सतलजसम्मको नेपाली सिमाना कायम भएमा नेपालको सीमा भुटान, बंगलादेश, भारत र चीनसँग जोडिने तथा भारतीय एकाधिकारबाट समेत मुक्त हुन सकिने बताए ।

सीमाविज्ञ चेतेन्द्रजंग हिमालीले ग्रेटर नेपाल प्राप्तिका लागि नेपालीबीचको एकता मजबुत हुनुपर्नेमा जोड दिए । विरोध प्रदर्शनमा ग्रेटर नेपालका पोस्टर भारतीय गाडीमा समेत राखिएको थियो ।


Source:[http://www.nayapatrika.com/newsportal/desh/4858.html]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by