ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, August 21, 2009

बिरामी परेकाले भारत नगएकी हुँ : सुजाता



निवासमै स‌ञ्चारकर्मी बोलाएर स्पष्टोक्ति-

तिलक पाठक/ लेखनाथ पाण्डे, काठमाडौं, भदौ ५

"नयाँ साडी किनिसकेकी थिएँ, कपाल छोट्याइसकेकी थिएँ, म पूरा तयारीमा थिएँ।" तीजको पूर्वसन्ध्यामा दुई चेलीबीचको संवाद होइन यो। परराष्ट्रमन्त्री सुजाता कोइराला आफ्ना भारत भ्रमणका तयारीबारे सुनाउँदै छिन्।
प्रधानमन्त्री माधवकुमार नेपालसँगै भारत नगएपछि उनी यतिबेला चौतर्फी विवादमा तानिएकी छन्। तर, सञ्चारमाध्यममा आएजस्तो उपप्रधानमन्त्रीको 'बार्गेन' नमिलेपछि नगएको भन्ने भनाईलाई उनले खण्डन गरिन्। "अचानक ज्वरो आयो, हालखुट्ट गले र एसिडिटी बढ्यो" उनले प्रष्टिकरण दिइन्, "चिकित्सकले नजान सल्लाह दिए, म गइन, स्वास्थ्यसँग कसैले सम्झौता गर्न पनि त सक्तैन।"

मन्त्री कोइरालाले भ्रमणमा जान नसक्दा आफू स्वयं निराश बन्न पुगेको भन्दै आफ्ना तयारी खेर गएकोमा दुःख व्यक्त गरिन्। यसअघि भारत जाँदा व्यस्त भएकीले नयाँ साडी किन्ने र कपाल छोट्याउने समय उनीसँग रहेनछ। भनिन्, "उतिबेला व्यस्त थिएँ, सबै तयारी गर्न हतार भयो।"

साउन २६ मा मा भारत गएकी उनी पाँच दिनपछि ३० गते फर्किएकी थिइन्। त्यसपछि गत मंगलबार उनी पुनः प्रधानमन्त्रीसँगै भ्रमणमा सामेल हुने कार्यक्रम थियो। दिल्लीबाट फर्किएपछिको समयलाई उनले साडी किन्नेदेखि कपाल छोट्याउने सम्मका तयारीमा भरपूर उपयोग गरिन्।
"अघिल्लो पटक भारत जाँदा अति व्यस्त थिएँ, समयै थिएन, कपाल बढेर लामा भएका थिए" उनले केश समाउँदै भनिन्, "अहिले हेर्नुस्, सबै मिलाएकी छु, तपाईँ नै भन्नुस् (भ्रमणप्रति) म कति उत्साहिँ थिएँ?"

छिमेकी देशका उच्चअधिकारीसँग द्विपक्षीय वार्ताका तयारी सम्बन्धी कुनै प्रसंङ्ग उप्काइनन्। बरू, सञ्चारमाध्यमले आफ्ना बारेमा अफवाह फैलाएको जिकिर गरिन्। भारत जानु अघिल्लो दिन मन्त्रीपरिषद्मा उपप्रधानमन्त्रीको मुद्दा नउठेको उनको बताइन्। सँगसँगै उक्त पदमा आफ्नो दाबी रहेको स्पष्ट संकेत दिइन्। "म उप्रधानमन्त्री भारतबाट फर्केर आएपछि पनि त बन्न सक्थेँ नि? भोली पनि बन्न सक्छु। मेरा लागि उक्त पद ठूलो होइन" उनले कारण भनिन्, "किनभने, म अहिल्यै (सरकारमा) पार्टीलाई नेतृत्व गरिरहेकी छु। पार्टीलाई नेतृत्व गर्नु उपप्रधानमन्त्री सरहै हो।'"

सत्तासीन सबैभन्दा ठूलो दलका तर्फबाट नेतृत्व गरेपनि उनी मन्त्रिपरिषद्मा मर्यदाक्रमअनुसार चौथो स्थानमा छिन्। मन्त्री कोइरालाका कतिपय भनाई आफैंमा बाझिने र विवादास्पद लाग्थे।

आफूले पहिल्यै भ्रमण गरिसकेकीले प्रधानमन्त्रीसँगै जानुपर्ने आवश्यकतै नभएको तर्कसमेत अघि सारिन्। "भ्रमणमा जान म इच्छुक थिएँ। तर, जानै पर्ने आवश्यकता होइन। किनभने, परराष्ट्र मन्त्रीले बारबार जान पनि त सक्तैन। घरभित्र बसेर पनि त काम गर्नुपर्‍यो। खाली घुमेर मात्रै पनि त हुँदैन।"

परराष्ट्रमन्त्रीले आफू भ्रमणमा जाने नसक्नेबारे सरकार प्रमुखलाई पूर्व जानरकारी दिइनन्। सहयोगी र सल्लाहकारमार्फत् उनले परराष्ट्र मन्त्रालयलाई खबर पठाएकी थिइन्। "म ज्वरो आएर सुतिहाले। बोल्नै सकिन" उनले विश्वस्थ पार्न खोजिन्। प्रधानमन्त्रीले मन्त्रालयकै एक अधिकारीमार्फत् आफ्नो भ्रमण दलमा सबैभन्दा महत्वपूर्ण सदस्य जान 'असमर्थ' भएको खबर पाएका थिए।

मन्त्री कोइरालाले आफूलाई उपचार गराउने चिकित्सकका नाम खोलीनन्। शुक्रबार नागरिकसँगको भेटमा उनी सामान्यः अवस्थामा देखिन्थिन्। उनका सहयोगीले फोटो पत्रकारलाई नल्याउन आग्रह गरेकाले तस्बिर लिन सकिएन। नेपाल प्रध्यापकसंघका करिब पाँच दर्जनभन्दा बढी व्यक्तिलाई उनले तारे होटल र्‍याडिसनमा निकटस्थलाई दिवा भोज दिएकी थिइन्। दिउँसो तीज सम्बन्धी एउटा कार्यक्रम उद्घाटन गर्ने जाने कार्यक्रम थियो उनको।
सञ्चारमाध्यमले आफ्नो भ्रमण स्थगतलाई अनावश्यक रूपमा उचालेको उनको गुनासो थियो। तैपनि उनले त्यसबाट आफू उल्टै 'लोकप्रिय' बन्न पुगेको बताइन्।

Source:[http://www.nagariknews.com/politics/international/4201-2009-08-21-07-31-10.html]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by