ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, August 22, 2009

सुजातालाई संसदीय दलले फेरि बोलायो

कार्यव्यस्तता भन्दै सुजाता प्रष्टीकरण दिन गइनन्-

काठमाडौं, भदौ ६ (नागरिक)- नेपाली कांग्रेस संसदीय दलले परराष्ट्र मन्त्री सुजाता कोइरालालाई भारत भ्रमणका बारेमा स्पष्टिकरण दिन आगामी मंगलबार फेरि बोलाएको छ। संसदीय दलमा शनिबार उपस्थित नभएको भन्दै सभासदहरुले उनमाथि कारबाहीको माग गरेका थिए।
भारत भ्रमणमा नगएकोमा कार्यालयमा नै आएर जवाफ दिन स‌ंसदीय दलले दिएको निर्देशन लत्याउँदै उनी तीज सम्बन्धी कार्यक्रममा भाग लिन अन्यत्रै गएकी थिइन्।

सभासदहरु पूर्णबहादुर खड्का, गगन थापालगायतकाले संसदीय दलले बोलाएको भन्दा महत्वपूर्ण कार्यक्रम अन्यत्र हुन नसक्ने भन्दै उनलाई कारबाही हुनुपर्ने माग गरेका थिए। नारायण खड्कासहितका केही सभासद्हरुले भने उनलाई फेरि एकपटक दलमा बोलाउन पत्र पठाउने पर्ने धारणा संसदीय दलको बैठकमा व्यक्त गरेका थिए।

"परराष्ट्र मन्त्रीले पठाएको चिठी हेर्दा उनी वा उनको सहयोगीले विषयको गाम्भिर्यता नबुझे जस्तो छ। एकपटक फेरि दलमा उपस्थित हुन निर्देशन दिनुपर्छ" खड्काले बैठकमा भने। अन्त्यमा उनलाई फेरि बोलाउने निर्णय संसदीय दलले गरेको हो।

सुजाताले व्यस्त भएकाले उपस्थित हुन नसक्ने लिखित जनाउ स‌सदीय दलमा दिएकी थिइन्। उनले अन्य पूर्वनिर्धारित कार्यक्रम भएकाले संसदीय दलमा आएर जवाफ दिन आउन नसक्ने बताएकी थिइन्।

यसअगाडि नागरिकसँग कुरा गर्दै कोइरालाले स्पष्टिकरणको पत्र आफूले नपाएको बताएकी थिइन्। "पत्र पाए पनि मलाई परराष्ट्र मन्त्रीको हैसियतमा प्रश्न सोधिएको रहेछ। मन्त्रालयबाटै जवाफ पठाउँछु" उनले भनेकी थिइन्।

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला शनिबार बिहान आफ्नी छोरी तथा परराष्ट्र मन्त्री सुजाता कोइरालालाई भेट्न मण्डिखाटार पुगेका छन्। 'अस्वस्थ' छोरीलाई भेट्न कोइराला सुजाता निवास पुगेका हुन्। दुई जनाको भेटपछि दिएको प्रतिक्रियामा सुजाताले संसदीय दल नजाने बताएकी हुन्।

भ्रमण दलमा सहभागी नभएकोबारे कांग्रेस संसदीय दलको कार्यालयले परराष्ट्र मन्त्री कोइरालालाई शनिबार दिनको १ बजे प्रष्टीकरण दिन बोलाएको थियो । कोइरालालाई अन्तिम समयमा आएर प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमणमा नगएकोबारेमा स्पष्टीकरण दिनुपर्ने निर्णय शुक्रबारको बैठकले गरेको हो।

बैठकमा प्रधानमन्त्रीको भ्रमणमा नगएर सुजाताले कूटनीतिक मर्यादा उल्लंघन गरी गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको भन्दै उनलाई सरकारबाट फिर्ता बोलाई पार्टीबाट कारबाही गर्न चर्को माग भएपछि बैठकले त्यस्तो निर्णय गरेको थियो।

Source:[http://www.nagariknews.com/politics/party-politics/4224-2009-08-22-06-05-58.html]

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by