ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, January 10, 2010

बालुवा-गिटी भारत निकासीमा रोक


सप्तरी, २५ पुस : जिल्ला प्रशासनले सप्तरीबाट विभिन्न नाका भई भारत निकासी हुने बालुवा-गिटीमा प्रतिबन्ध लगाएको छ । प्रशासनले बालुवा-गिटी लिन नेपाल आएका सबै सवारी-साधनलाई फिर्ता पठाएको छ ।
व्यवस्थापिका संसद्को प्राकृतिक स्रोतसाधन समितिले नेपालबाट बालुवा-गिटीलगायतका अन्य निर्माण सामग्रीको निकासी रोक्न सरकारलाई निर्देशन दिएपछि गत शुक्रबारबाट बालुवा-गिटी निकासी रोकिएको हो ।
उदयपुरस्थित चुरे क्षेत्रबाट बालुवा-गिटीसहित विभिन्न निर्माण सामग्री बोकेका दुई दर्जनभन्दा बढी हाइवे टि्रपर शुक्रबार स्थानीय प्रशासनले सप्तरीको भारदहमा रोकी पुनः फिर्ता पठाएको छ ।
निर्माण सामग्री भारत निकासी गर्न सरकारले रोक लगाउन सक्ने आशंकामा तीन दिनदेखि बालुवा-गिटी भारत निकासी गर्ने विभिन्न सप्लायर्सले सुनसरीको कोसी ब्यारेज र सप्तरीको कुनौली नाकाबाट दिनहुँ पहिलेभन्दा चारगुणा बढी निर्माण सामग्री भारत निकासी गर्न थालेका थिए ।
भारतको गुहावटीदेखि नयाँ-दिल्लीसम्म १६ सय किलोमिटर दूरीको भारतीय राष्ट्रिय राजमार्ग निर्माणका लागि चार वर्षदेखि तराईस्थित विभिन्न चुरे क्षेत्रका पहाड खनेर बालुवा-गिटी भारत निकासी हुँदै आएको छ ।
प्रशासनले रोक लगाएपछि सप्तरी र सुनसरी नाकाबाट भारत निकासी हुने सयौँ टि्रपर बालुवा-गिटी रोकिएको स्थानीय प्रशासनले जनाएको छ ।
गृह मन्त्रालायको निर्देशनअनुसार चुरे क्षेत्रबाट ल्याइएका बालुवा-गिटी लगायतका विभिन्न निर्माण सामग्री भारत निकासीमा रोक लगाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेले जानकारी दिए ।

बालुवा-गिटी निकासीमा प्रतिबन्ध लगाइए पनि भन्सार कार्यालयलाई राजस्व असुली नगर्न पत्र प्राप्त नभएको सुनसरी भन्सार कार्यालयले जनाएको छ । प्रशासनले बालुवा-गिटी भारत निकासीमा रोक लगाएपछि लाखौँ रुपैयाँको राजस्व असुली प्रभावित भएको भन्सारले जनाएको छ ।
प्रशासनले सप्तरीको भारदहमा मात्र दुई दर्जनभन्दा बढी हाइवे टि्रपर रोकी पुनः फिर्ता पठाउँदा करिव एक लाख ६८ हजार राजस्व नोक्सानी भएको भन्सारको भनाइ छ ।
एक हाइवे टि्रपरमा २४ घनमिटरसम्मको निर्माण सामग्री लोड हुने गरेकाले एउटा टि्रपरबाट मात्र एकपटक भारत निकासी गर्दा सात हजार राजस्व असुली हुने गरेको सप्तरी भन्सारले जनाएको छ । चालू आर्थिक वर्ष ०६६/६७ मा मात्र सप्तरी जिविसले भारत निकासी भन्ने शीर्षकको ठेक्का तीन करोड रुपैयाँमा लगाएको छ ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by