ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, January 14, 2010

मेची राजमार्गमा धम्क्याएर रकम असुली


नयाँ पत्रिका इलाम,२९ पुस

निकासी करका नाममा मेची राजमार्गका विभिन्न खण्डमा लामो समयदेखि उठाइँदै आएको अवैध रकमका कारण व्यवसायी र किसान मारमा परेका छन् । चर्चामा रहेका विभिन्न जातीय संघ-संगठन र अस्तित्वमै नरहेका समूहका नाममा समेत रकम असुली तीव्र भएपछि व्यवसायीले सुरक्षाको माग गरेका छन् ।

स्थानीय प्रशासनले अवैध रकम असुलीमा नियन्त्रण गर्ने बताउँदै आए पनि रकम असुली झन्झन् तीव्र हुँदै गएपछि प्रहरी प्रशासनको पनि मिलेमतो हुनसक्ने व्यवसायीको आशंका छ । प्रहरी र रकम असुलकर्ता दुई किलोमिटरको दूरीमा मात्रै रहे पनि प्रहरीले नियन्त्रण प्रयास गरेजस्तो गरी वास्तै नगर्ने गरेको उनीहरूको आरोप छ । 'धैर्यको बाँध टुट्न लाग्यो, हामीले नै प्रतिकार गर्नुपर्ने स्थिति आउन सक्ने भएकाले राज्यले यसको नियन्त्रण गरोस्,' एक व्यापारीले आक्रोश पोखे ।

किरात जनवादी वर्कर्स पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्यपरिषद्, संघीय लिम्बुवान राज्यपरिषद् -क्रान्तिकारी), किरात जनवादी वर्कर्स पार्टी र पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चका नाममा अवैध रकम उठाउने काम तीव्र भएको व्यवसायीले बताएका छन् । केही स्थानमा भने नाम नै नसुनेका लिम्बुवान ज्वालामुखीजस्ता समूहले समेत निकासी करका नाममा रकम असुल्न थालेपछि व्यवसायीले सुरक्षाको माग गरेका हुन् ।

मेची राजमार्गको पाँचथर, इलाम र झापाका विभिन्न स्थानमा स्वेच्छिक सहयोगको नाममा चन्दा उठाउने गरिएको छ । कतिपय समूहले धम्कीका भरमा पनि चन्दा माग्ने गरेको व्यवसायीको गुनासो छ । पाँचथरको राँके, इलामको नेपालटार, कोल्बुङ-किटेनी र झापाका सुनमाई-बुधबारेमा चन्दा उठाउने समूह रहेको व्यवसायीले बताए ।

एउटै समूहका नाममा राजमार्गको दुई ठाउँमा रकम असुलिरहेको पनि पाइएको छ । एउटै ठाउँमा रकम असुल्न बस्दा असुरक्षित महसुस गरी ठाउँ परिवर्तन गरेरसमेत असुलकर्ता बस्ने गरेको श्रोतले बतायो ।

ताप्लेजुङ, पाँचथर र इलामबाट निकासी हुने कुचो, अदुवा, अलैँची, चियापत्ती र चिराइतोलगायत जडीबुटी तथा गोलियामा समेत एक हजारदेखि तीन हजार रुपैयाँसम्म कर असुल्ने गरेको पाइएको छ । व्यापारीले पाँचथरको फिदिमबाट झापाको बित्र्ाामोडसम्म कृषिजन्य सामग्री ढुवानी गर्दा निकासी करका नाममा एक ट्रक सामानमा ७० हजार रुपैयाँसम्म बुझाउनु परिरहेको छ भने इलामबाट बिर्तामोडसम्म पुर्‍याउन ४० हजार रुपैयाँ करकै रूपमा तिर्नुपर्छ । जातीय समूह र जिल्ला विकास समितिको निकासी कर गरी एउटै राजमार्गका आठ स्थानमा रकम तिर्नुपरेको पाँचथरका अलैँची व्यापारी दीपक नेपालले बताए ।

जिल्ला विकास समितिले पाँचथरको राँके र इलामको कोल्बुङ खण्डमा अलैँचीको प्रतिकिलोे ७५ देखि एक सय २० रुपैयाँ निकासी कर लिइने गरेको छ । कुचोमा व्यापारीबाट लिम्बुवान ज्वालामुखी र किरात जनवादी वर्कर्स पार्टीले प्रतिगाडी दुई हजार पाँच सय रुपैयाँ उठाउने गरेका छन् । यस्तै संघीय लिम्बुवान राज्यपरिषद् -क्रान्तिकारी), पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्च र संघीय लिम्बुवान राज्यपरिषद्ले प्रतिगाडी दुई हजार रुपैयाँ लिने गरेका छन् ।

अलैँचीमा प्रतिबोरा ७५ देखि एक सय २० रुपैयाँसम्म उठाइने गरेको छ भने सुन्तलामा प्रतिगाडी आठ सय उठाइँदै आएको छ । चियामा जिल्ला विकास समितिले प्रतिकिलो एक रुपैयाँ र विभिन्न समूहले प्रतिगाडी पाँच सयदेखि एक हजार रुपैयाँ लिने गरेको चिया कारखानाले बताएका छन् ।

चन्दामा बार्गेनिङ हुने र दिइएको चन्दाभन्दा दुई तिहाइ कम रसिदमा उल्लेख गर्ने गरेको एक व्यापारीले बताए । उनले भने, 'एक ट्रक गोलिया लिएर जाँदा यिनीहरूले पाँच हजारको दरले माग्छन्, दुई हजार पाँच सयजतिमा कुरा मिल्यो भने त्यति नै लिन्छन्, अनि रसिदमा एक हजार लेख्छन् ।'

पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्च, अर्थ विभाग लेखिएको चन्दा रसिद, संघीय लिम्बुवान राज्यपरिषद्, केन्द्रीय कार्यालय, अर्थ विभाग, बिर्तामोड लिम्बुवान नेपाल लेखिएको अर्को चन्दा रसिद र किरात जनवादी वर्कर्स पार्टी केन्द्रीय कार्यसमिति, किरात नेपाल, केन्द्रीय अर्थ विभाग लेखिएकाजस्ता थुप्रै छुट्टा-छुट्टै रसिद नयाँ पत्रिकालाई प्राप्त भएका छन् ।

यसैगरी इलाम र पाँचथरको सीमावर्ती क्षेत्र गोरुवाले भञ्ज्याङमा किरात जनवादी वर्कर्स पार्टीले चन्दाआतंक मच्चाएको छ । पार्टीको झन्डा नै गाडेर पार्टीका कार्यकर्ताले चन्दा उठाउँदै आएका छन् । पाँचथरबाट भारततर्फ लगिनेे चौपाया, मटर र अन्य खाद्यान्न लिएर आउने व्यापारीलाई उनीहरूले चन्दा असुल्दै आएका हुन् । एउटा गोरु लगेबापत ५० रुपैयाँका दरले लिने गरेको स्थानीयले बताए । किरात जनवादी वर्कर्स पार्टीका कार्यकर्ताले घरेलु हतियार देखाएर चन्दा असुल्ने गरेको पनि उनीहरूले बताए ।

चन्दाअसुली तीव्र भए पनि स्थानीय प्रशासन भने मौन बसेको व्यवसायी बताउँछन् । 'हामीले पटक-पटक प्रशासनलाई भन्यौँ, तर केही पहल भएन,' बिब्लाँटेका एक व्यापारीले भने, 'हामी पनि प्रतिकार गर्न सक्छौँ, तर हामीले गर्न खोजे जे पनि हुन सक्छ ।'

यता स्थानीय प्रशासनले भने राजमार्गमा अहिले चन्दा असुलीका कुनै पनि उजुरी नपरेको बताएको छ । 'उजुरी आए हामी व्यवसायीलाई सुरक्षा दिन तयार छौँ,' प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकालले भने, 'हामी धेरैवटा सवारीलाई एकैपटक गरेर स्कर्टिङको व्यवस्था पनि गर्न सक्छौँ, तर उजुरी त आउनुपर्‍यो नि ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by