ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, January 11, 2010

विद्यार्थीसँगै विदेशियो २० अर्ब



बैँकमा रकम अभाव हुनुको कारण विदेश जाने विद्यार्थी पनि-

ऋषिकेश दाहाल, काठमाडौं, पुस २७- वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूमा रकम अभावले राष्ट्र बैंक र अर्थ मन्त्रालयसम्ममा खैलाबैला मच्चिएको छ। खासमा बैंकहरूसँग रकम अभाव हुनुको एउटा कारण विदेश पढ्न जाने विद्यार्थी पनि हुन्। कसरी? शिक्षा मन्त्रालयको यो तथ्यांक हेरौं - पछिल्ला पाँच महिनामा २० हजारभन्दा बढी नेपाली युवा उच्च शिक्षाका लागि विदेशिए। एउटा विद्यार्थीलाई विदेश पढ्न जाँदा औसत १० लाख रुपैयाँ खर्च लाग्छ। यस आधारमा पाँच महिनामा २० हजार विद्यार्थीसँगै २० अर्ब रुपैयाँ पनि पलायन भयो। विद्यार्थी विदेशिनुले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टराईले समेत स्वीकारिसकेका छन्। गत साता व्यवस्थापिका संसदको अर्थ र श्रम सम्बन्ध समितिमा उनले चालू आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फ ४१ दशमलव १ प्रतिशत खर्च बढेको तथ्य अघि सार्दै यसलाई सच्याउनुपर्ने तर्क राखेका थिए। 'विदेश गएका विद्यार्थी नेपाल फर्कने प्रवृत्ति देखिएको छैन,' समितिमा उनले भनेका थिए, 'यसबाट ठूलो रकम पलायन भएको छ।'
राजनीतिक अस्थिरतासँगै मध्यमवर्गीय परिवारमा ऋण गरेरै भए पनि आफ्ना केटाकेटीलाई विदेश पढ््न पठाउने प्रचलन बढ्दै गएको छ। निरन्तरको बन्द-हडताल र रोजगारका अवसर साँघुरो हुनुले पनि विदेशी पढाइमा नेपाली विद्यार्थीको चासो बढेको हो। अधिकांश विद्यार्थीले विदेश पढ्न सुरुमा करिब १० लाख रुपैयाँ लगानी गर्नुपर्छ। त्यसपछि उनीहरू 'पार्ट टाइम' काम गरेर कलेजको थप शुल्क र बसोबास खर्च जुटाउँछन्। विद्यार्थीकालमा उनीहरूको कमाई त्यही खर्च हुने भएकाले त्यो रकम नेपाल भित्रँदैन।

शिक्षा मन्त्रालयका अनुसार साउन १ देखि मंसिर मसान्तसम्ममा २० हजार ४ सय ४ विद्यार्थी उच्च शिक्षाका लागि विदेशिएका छन््। गत आर्थिक वर्षभरिमै जम्मा २४ हजार ८ सय २४ विद्यार्थी पढ्न विदेश गएका थिए। यसपालि पुस महिनाको तथ्यांकसमेत जोड्दा गत वर्षलाई उछिन्नेछ। यसले उच्च शिक्षाका लागि पैसा पलायन हुने क्रम बढ्दै गएको देखाउँछ।

मन्त्रालयकै तथ्यांक अनुसार साउन, भदौ र असोजमा मात्रै ११ अर्ब २१ करोड रुपैयाँ बेलायत पुग्यो। यो तीन महिनामा बेलायत जाने विद्यार्थीको संख्या ११ हजार २ सय ११ थियो। पुससम्म आइपुग्दा बेलायत जाने नेपालीले मात्रै करिब १६ अर्ब रुपैयाँ लगिसकेका छन्।

'यहाँको राजनीतिक अवस्था सुधार नभएसम्म उच्च शिक्षाका लागि पैसा विदेशिनु अनौठो होइन,' राष्ट्रिय योजना आयोगका सदस्य तथा शिक्षविद्् तीर्थ खनियाँले भने, 'पैसा बाहिर जान रोक्ने हो भने विद्यार्थीलाई यहीँ राख्न र रोजगार अवसर उपलब्ध गराउन सक्नुपर्‍यो।' केही वर्षअघिसम्म चीन, भारत र मलेसियाले पनि यस्तै समस्या भोगेको खनियाँको भनाइ छ।

'उनीहरूकहाँ पनि युवा र पैसा विदेशिने समस्या विकराल थियो। तर, उनीहरूले पछि यसरी विदेशिएकालाई फर्काएर मुलुकको अर्थतन्त्र सुधार्न सके,' उनले भने, 'राजनीतिक अवस्थाका कारण नेपालमै बस भन्न सकिने अवस्था छैन। अब गएकालाई आवश्यकताअनुसार नेपाल फर्काउन सक्नुपर्छ।'

पाँच महिनामा बेलायतपछि अमेरिका, अस्ट्रेलिया र जापान जाने विद्यार्थीको संख्या धेरै छ। यी सबै मुलुक पढाइ र बसोबास दुबै हिसाबले महँगा मानिन्छन्। गत वर्ष अस्ट्रेलिया जाने विद्यार्थीको संख्या धेरै थियो भने यो वर्ष बेलायत जानेको संख्या बढी छ। गत वर्षभरिमा १० हजार १ सय २१ जना अस्ट्रेलिया गएका थिए। बेलायत जानेको संख्या ६ हजार ६ सय २७ थियो। त्यही अवधिमा २ हजार ९ सय ३४ जना अमेरिका गएका थिए। 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by