ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, January 11, 2010

सुन आयात रोक्ने तयारी



गोकर्ण अवस्थी/काठमाडौ, २०६६ पुस २७ -

सुन आयात बढेर अर्थतन्त्र खल्बलिने देखिएपछि सरकारले यसलाई निरुत्साहन गर्ने भएको छ । सुनको अत्यधिक आयातका कारण पुँजी बाहिरिने क्रम तीव्र भएपछि सरकारले आयात रोक्नेसम्मको कदम चाल्ने योजना बनाएको वाणिज्यमन्त्री राजेन्द्र महतोले जनाए । साउनदेखि मंसिरसम्म झन्डै २७ अर्ब रुपैयाँको सुन आयात भएको छ । गत वर्ष यो अवधिमा ८ अर्बको आयात भएको थियो । 'सुन आयात बढेर अर्थतन्त्रमा संकट देखिएको छ,' उनले भने, 'आयात रोक्नुपर्ने देखापरेको हो ।' यसबारे यसैसाता निर्णय हुने उनले बताए । बजारमा पैसा अभाव हुनुमा सुन आयात मुख्य कारण भएको राष्ट्र बैंकले बताउँदै आएको छ । बढ्दो आयात र घट्दो निर्यातले अर्थतन्त्रलाई संकटमा पुर्‍याएको छ । व्यापार घाटा चालू आर्थिक वर्षको पहिलो चार महिनामै करिब १ खर्ब रुपैयाँ पुगेको छ । गत वर्ष ६६ अर्ब मात्र थियो । व्यापारबाट भएको घाटा धान्दै आएको 'रेमिट्यान्स' पनि घटेपछि देश भित्रिनेभन्दा बाहिरिने रकम बढेको हो । यसरी सोधनान्तर स्थिति २० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । नेपाल भित्रिएको सुन पनि भारत गइरहेको वाणिज्य मन्त्रालयको ठहर छ । भैरहवा, जनकपुर, वीरगन्ज र विराटनगर नाकाबाट सुन बाहिर गइरहेको छ । रेमिट्यान्स बढ्दै जाने अपेक्षामा धमाधम लगानी गरेका बैंकहरूले बचत पाउन छाडेपछि बजारमा चरम रकम अभाव देखिएको हो । १४ प्रतिशतभन्दा बढी ब्याज तिरेर बैंकहरूले एकअर्को बैंकबाट रकमको कारोबार गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । राष्ट्र बैंकमा सरकारी सुरक्षण धितो राखेर लिन सकिने स्थायी तरलता सुविधाको ब्याजदर पनि १४ प्रतिशत पुगेको छ ।

सुन आयात रोकेर अर्थतन्त्र जोगाउन खोज्दा अर्थतन्त्रमा प्रतिकूल असर पर्ने खतरा व्यवसायीहरू देखाउँछन् । 'सुन नेपाली समाजको अभिन्न चीज हो,' सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, 'आयात रोकियो भने भारतबाट अवैध तबरमा आउँछ र सरकारी राजस्व जान्छ ।' 

भुक्तानी सन्तुलनमा असर देखिए आयात रोक्न सकिन्छ । तर विश्व व्यापार संगठनको सदस्यका नाताले सीधै आयात रोक्नुभन्दा आयात निरुत्साहित गनर्ुपर्ने राय अर्थविद पोषराज पाण्डेको छ । 'सोधनान्तर स्थिति नकारात्मक भए आयात रोक्न सकिन्छ,' उनले भने, 'तर नीतिगत साख जोगाउन अन्य विधिबाट आयात निरुत्साहन गर्नु राम्रो हुन्छ ।'

कतिको भित्रियो ? 

साउन १ अर्ब ३८ करोड

भदौ ६ अर्ब ५० करोड

असोज ७ अर्ब २ करोड

कात्तिक ४ अर्ब ३४ करोड 

मंसिर ७ अर्ब -प्रारम्भिक)

जम्मा २६ अर्ब २४ करोड

स्रोतः राष्ट्र बैंक

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by