ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, January 10, 2010

इँटाभट्टा माछापोखरीमा परिणत


मोहन भट्टराई

विराटनगर/ सरकारले कर बढाएलगत्तै इँटा पोल्ने इन्धन अभाव हुन थालेपछि मोरङका इँटाभट्टा माछापोखरीमा परिणत हुन थालेका छन् ।
दाउरा तथा कोइला अभावका कारण पुरानो इँटा व्यवसायको विकल्पमा किसानले माछापालन सुरु गरेपछि इँटाभट्टा माछापोखरीमा परिणत भएका हुन् ।
इँट्टाभट्टा व्यवसायबाट भन्दा माछापालनबाट १० गुणा बढी आम्दानी भएपछि विकल्प रोज्नुपरेको व्यवसायीको भनाइ छ ।
जिल्ला कृषि विकास कार्यालय मोरङका अनुसार किसानले माछापालनबाट बढी आम्दानी पाएपछि कटहरी गाविसका पुराना गंगा-जमुना र देवगंगा तथा मोतीपुरका पाँच सय ५५ इँटा उद्योगलाई पोखरीमा परिणत गरी माछापालन थालेका छन् ।
'धेरै हाल्ने छिटो निकाल्ने' प्रविधिमार्फत माछापालनबाट मनग्य आम्दानी गरिरहेको मोरङ बबियाबिर्ताका किसान बलराम प्रसाइर्ं बताउँछन् ।
पुराना इँट्टाभट्टालाई पोखरीमा परिणत गर्न खर्च कम लाग्ने भएकाले माछापोखरीमा बदल्न लगाएको कृषि विकास कार्यालय मोरङका मत्स्य विकास अधिकृत केदारबहादुर श्रेष्ठले जानकारी दिए । 'इँटाभट्टाले प्रयोग गरेको जमिन गहिरो र उब्जनी पनि राम्रो नहुने भएकाले पोखरी बनाएर माछापालन गर्दा दोब्बर आम्दानी हुन थालेपछि किसानको माछापालनमा आकर्षण बढ्दै गएको हो,' उनले भने ।
मोरङका किसानले पहिलेदेखि नै माछापालन गर्दै आए पनि लगानीअनुरूप प्रतिफल पाएका थिएनन् । तर, माछापालनको नयाँ प्रविधि 'धेरै हाल्ने छिटो निकाल्ने' प्रयोगमा ल्याइएपछि किसानले प्रशस्तै फाइदा लिन थालेका छन् । नयाँ प्रविधिबाट धानखेतीभन्दा १३ गुणा बढी आम्दानी लिँदै आएको बबियाबिर्ताका किसान डिल्लीबहादुर बस्नेतले बताए ।
मोरङमा चार सय ५५ हेक्टर जलाशय र एक नयाँ पोखरीसहित दुई हजार चार सय ५० पोखरी छन् । माछापालनमा जिल्लाका एक हजार सात सय ४४ किसान प्रत्यक्ष संलग्न छन् । जिल्लामा वाषिर्क १४ मेटि्रकटन माछा उत्पादन हुँदै आएको जिल्ला कृषि कार्यालयले जानकारी दिएको छ ।
मोरङमा उत्पादित माछा झापा, सुनसरी, काठमाडौंलगायतका स्थानमा पनि निकासी हुँदै आएको छ । पुराना भट्टालाई माछापोखरी बनाउँदा राम्रो उत्पादन भएपछि बाँकी पुराना भट्टा मात्र नभई बाली नहुने खाल्डा जमिन र सीमसार क्षेत्रमा पनि व्यावसायिक माछापालनका लागि किसानलाई सुझाव दिइएको अधिकृत श्रेष्ठले बताए ।


राष्ट्रिय शैक्षिक परामर्श संघमा नयाा नेतृत्व
काठमाडौं/ राष्ट्रिय शैक्षिक परामर्श संघ -नेका) को दोस्रो वाषिर्क साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभासँगै नेकामा नयाँ नेतृत्व चयन गरिएको छ ।
नेका साधारणसभाको शिक्षामन्त्री रामचन्द्र कुशवाहले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कुशवाहले राष्ट्रिय शैक्षिक परामर्श संघले छोटो समयमा स्थानापनाको उद्देश्यअनुरूप धेरै काम गरेकामा धन्यवाद दिए ।
नेका अध्यक्षमा अरुण लामिछाने, उपाध्यक्षमा बुद्धिप्रसाद रेग्मी, महासचिवमा महेशबाबु तिमल्सिना, सचिवमा दिनेश ढकाल र कोषाध्यक्षमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । अध्यक्षमा लामिछाने, महासचिवमा तिमल्सिना, कोषाध्क्षमा पौडेल निर्विरोध चयन भएका थिए ।
त्यसैगरी, ६ सदस्यका लागि ८ जनाले प्रतिस्पर्धा गरेका थिए । निर्वाचित हुने सदस्यहरूमा विराज पाण्डे, मुकुन्द न्यौपाने, विष्णु पोखरेल, पवन पाठक, विपिनराज श्रेष्ठ र ज्ञानेन्द्रमान जोशी निर्वाचित भएका छन् । सो चुनावमा ७२ मतदाता रहेका थिए ।
सोही कार्यक्रममा सम्मानसमेत गरिएको थियो । कार्यक्रममा केही समयअघि सम्पन्न भएको नयाँ पत्रिका नेका फेयरका संयोजक विज्ञान श्रेष्ठ तथा ११ जना आजीवन सदस्य र ११ जना संस्थापक सदस्यलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सो अवसरमा अधयक्ष अरुण लामिछानेले अबका दिनमा नयाँ कार्ययोजना र नयाँ गतिसहित संघलाई अगाडि बढाइने प्रतिबद्धता जनाए । उनले नयाँ कार्यसमितिले प्रभावकारी रुपमा काम गर्ने बताए ।

व्यापार मेलाका लागि मूल समिति
बुटवल/ स्वरोजगार, आत्मनिर्भर हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार नारासहित आगामी ६ देखि १६ फागुनसम्म बुटवलमा आयोजना गरिने व्यापार मेला तथा अटो प्रदर्शनी-२०६६ का लागि मूल समिति गठन गरिएको छ
रुपन्देही व्यापार संघले आयोजना गर्ने मेलाका लागि संघका अध्यक्ष टंक पोखरेलको संयोजकत्वमा ३९ सदस्यीय मेला मूल समिति गठन गरिएको हो ।
समितिमा संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, पूर्वकार्यसमिति सदस्य तथा अधिकारी र शाखा अध्यक्ष तथा पदाधिकारी रहेका छन् ।
समितिको सह-संयोजकमा संघका प्रथम उपाध्यक्ष श्रीकृष्ण पोखरेल र पदम श्रेष्ठ र सदस्य सचिवमा संघका महासचिव यमलाल लोहनी छन् । यस्तै, मेला प्रचार-प्रसार समितिमा संघका सचिव डिल्लीराज भण्डारी, आर्थिक संयोजकमा कोषाध्यक्ष कृष्णप्रसाद घिमिरे रहेका छन् ।
मूल्यांकन उप-समिति संयोजकमा संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, स्वागत-सत्कार उपसमितीमा शंकर भट्टराई, पर्यटन तथा व्यापार प्रवर्द्धन उप-समितिमा माधव नेपाल, बाल उद्यान उपसमितिमा रेशमप्रसाद ढकाल, सांस्कृतिक उपसमितिमा अर्जुन घिमिरे र परिचयपत्र उपसमितिमा बालाराम भट्टराई रहेका छन् ।
त्यस्तै, सुरक्षा उपसमितिमा भीमलाल भट्टराई, समन्वय उपसमितिमा तुल्सीराम बन्जाडे, टिकट उपसमितिमा सुरज पाण्डे, उद्घाटन तथा समापन उपसमितिमा ज्योति भण्डारी, प्रकाशन तथा छपाइ उपसमितिमा दयानिधि भण्डारीलगायत अन्य समितिका अधिकारी रहेको संघका महासचिव यमलाल लोहनीले जानकारी दिए

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by