ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, January 11, 2010

५ वर्षभित्र ११ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य


लक्ष्मण खड्का/नयाँ पत्रिका दोलखा, २६ पुस :

जिल्लामा ५ वर्षभित्र ११ सय ७३ मेगावाट विद्युत् उत्पादनको तयारी थालिएको छ । तामाकोसी नदीबाट ११ सय १६ मेगावाट विद्युत् उत्पादनका लागि प्रक्रिया सुरु गरिएको हो । तामाकोसी नदी र बेदिङ खोलाको पानी मिसाएर माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्दैछ भने तामाकोसी नदीबाटै ६ सय ६० मेगावाटको दोस्रो तामाकोसी आयोजना निर्माणका लागि नर्बेजियन कम्पनी एसएन पावरले गर्दै आएको विस्तृत अध्ययन अन्तिम चरणमा पुगेको छ । यसैगरी, खारे गाविसस्थित १० मेगावाटको सिपि्रङ खोला जलविद्युत् आयोजना निर्माण सुरु भइसकेको छ । विद्युत् विकास विभागले १९ साउनमा ६ दशमलब ४ मेगावाटको सिंगटीखोला, १४ मेगावाटको खारेखोला र २७ मेगावाटको खिम्ती-२ जलविद्युत् आयोजनाका लागि बोलपत्र आह्वान गरेकामा खिम्ती-२ बाहेकका २ आयोजनाका लागि प्रस्ताव परिसकेको छ । 
दोलखाको सिंगटीखोला जलविद्युत् आयोजनाका लागि सबैभन्दा बढी ६ प्रस्ताव परेका छन् । आयोजना निर्माणका लागि लामा एक्सिलिङ सैनवा पिएफ जेभी, डाँफे, युनाइटेड बिल्डर्स, महादेव खिम्ती, आँबुखोला र जेभी क्लिन डेभलपर्सले प्रस्ताव हालेका छन् । त्यसैगरी, खारेखोला जलविद्युत् आयोजना निर्माणका लागि प्रस्ताव गर्ने कम्पनीमा लामा एक्सिलिङ सैनवा पिएफ जेभी, महादेव खिम्ती र जेभी क्लिन डेभलपर्स रहेका छन् । 
दोलखाका ३ आयोजना निर्माणका लागि विद्युत् विकास विभागले बोलपत्र आह्वान गरेको थियो । खिम्ती-२, खारे र सिंगटीखोला 'रन अफ दि रिभर' प्रकृतिका हुन् । आयोजना निर्माणका लागि छनोट भएका कम्पनीले १ वर्षभित्रमा आयोजनाको अध्ययन पूरा गरी निर्माण लाइसेन्स लिनुपर्ने विद्युत् विकास विभागले जनाएको छ ।
स्वदेशी लगानीमा निर्माण हुन लागेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको कार्य सन् २०१३ सम्ममा सम्पन्न गरी विद्युत् उत्पादन गर्ने प्राधिकरणको लक्ष्य छ । सो आयोजनाका लागि सदरमुकाम चरिकोटदेखि आयोजना स्थल लामाबगरसम्मको साँढे ६३ किलोमिटर लामो प्रवेश मार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सबैभन्दा ठूलो सिभिल संरचना निर्माणका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोले सिभिल संरचनाको सबै निर्माण न्यूनतम १३ अर्ब ८६ करोड रुपैयाँमा सम्पन्न गर्ने वित्तीय प्रस्ताव पेस गरिउकाो आयोजना प्रमुख मृगेन्द्रबहादुर श्रेष्ठले बताए । माथिल्लो तामाकोसीको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ हुने अनुमान छ ।
यसैगरी, १० मेगावाटको सिपि्रङ खोला जलविद्युत् आयोजना निर्माण कार्य सुरु भइसकेको छ । दोलखाको गौरीशंकर र खारे गाविसको बीचमा रहेको १० मेगावाट क्षमताको सिपि्रङ खोला जलविद्युत् आयोजनाको निर्माण तथा विद्युत् उत्पादनका लागि सरकारले निजी कम्पनी सिनर्जी पावर डेभलपमेन्ट प्रालिलाई अनुमति दिएको थियो । 
आयोजना निर्माणका लागि सानिमा विकास बैंकको नेतृत्वमा अन्य बैंकहरूले १ अर्ब २४ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । त्यसमध्ये ८० प्रतिशत ऋण र बाँकी २० प्रतिशत सेयर लगानी हुनेछ । 
६ सय ६० मेगावाटको तामाकोसी दोस्रोको सम्भाव्यता अन्तिम चरणमा पुगेको छ । नर्बेको स्वे कम्पनीले १ वर्षअघिबाट सुरु गरेको सम्भाव्यता अध्ययन २ महिनामा सकिने एसएन पावरका वरिष्ठ प्रबन्धक सुमन बस्नेतले जानकारी दिए । 
तामाकोसी दोस्रोको सम्भाव्यता अध्ययनसँगै हाल वातावरणीय प्रभाव मूल्यांकन -इआए) को कार्य सुरु भएको छ । अहिलेसम्मको अध्ययनबाट कम्तीमा ६ सय ६० र बढीमा ८ सय मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने देखिएको प्रबन्धक बस्नेतले बताए । सरकारले आयोजना निर्माणको अनुमति दिए सन् २०१२ बाट निर्माण कार्य सुरु गर्ने प्रबन्धक बस्नेतले बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by