ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, January 17, 2010

बंगलादेश-भारत सम्झौता/नेपालमा मिश्रति प्रभाव पार्ने


गोकर्ण अवस्थी/काठमाडौ, २०६६ माघ ३ -
बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाको भारत भ्रमणमा भएको उपलब्धिबाट नेपालको अन्तर्राष्ट्रिय व्यापारमा मिश्रति प्रभाव पर्ने भएको छ । दुई देशबीच विशेषगरी व्यापार र पारवहनका क्षेत्रमा भएको सम्झौताले नेपालमा असर पर्ने देखिएको हो । बंगलादेशका उत्पादनलाई सहज बजार पहुँचका लागि भारतले देखाएको उदारता र फूलबारी नाकामा नेपाली ट्रकहरूले लोडअनलोड गर्न सकिने सुविधाले नेपालको अन्तर्राष्ट्रिय व्यापार नकारात्मक र सकारात्मक दुवैखाले प्रभाव पर्ने देखिएको हो । 'यी प्रावधानले केही नतिजा त आउने नै छ,' वाणिज्य सचिव पुरुषोत्तम ओझाले भने, 'तर के देखिन्छ त्यो त पछि नै थाहा होला ।' फूलबारी नाकाबाट २ सय मिटर परसम्म नेपाली सामान भएको ट्रक जान पाउने भएपछि नेपाली उत्पादनले बंगलादेशमा सहज पहुँच पाउने सम्भावना छ । यसअघि दुई ट्रकलाई जोडेर एकबाट अर्कोमा सामान सार्नुपर्ने बाध्यता हुँदा व्यापार झन्झटिलो हुने गरेको व्यवसायीहरूको गुनासो छ । '२०० मिटरमा बंगलादेशको सुख्खा बन्दरगाह छ, सजिलो हुन्छ,' ओझाले भने ।
यति हुँदाहुँदै पनि बंगलादेशसँग नेपालको व्यापार नाफामा छ । व्यापार प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०६४/६५ मा बंगलादेशसँगको व्यापार नाफा ४ अर्ब १७ करोड रुपैयाँ छ । गहुँ, मसुरोको दाललगायत कृषि उत्पादन बंगलादेशमा माग भएका नेपाली उत्पादन हुन् । तर पछिल्लो समयमा भारतीय बाटोमा र सामान लोडअनलोड गर्दा देखिने समस्याले निर्यात घटदै गइरहेको छ ।


बंगलादेशले मंगला र चटगाउँ बन्दरगाह नेपाल र भूटानलाई समेत उपयोगका लागि गरेको आग्रहलाई भारतले सकारात्मक रूपमा लिएको छ । यसले पनि बंगालदेशलगायत तेस्रो मुलुकको निर्यातलाई केही सहजता प्रदान गर्नेछ ।


तर यसअघि भारतीय बजारमा नेपालले मात्रै पाइरहेको शून्य भन्सार पहुँच सुविधा छिट्टै नै बंगलादेशले समेत धेरै उत्पादनहरूमा पाउने सम्भावना देखिएको छ । भारतले नकारात्मक सूचीमा रहेका धेरै वस्तुलाई हटाएर बंगलादेशबाट आयात गर्न सकिने गरी हरियो झन्डा देखाएको छ । 


प्रतिस्पर्धात्मक क्षमता बढी भएको बंगलादेशका उत्पादनले नेपाललाई विस्थापन गर्न सक्ने अवस्था रहनेछ । यसबाहेक दक्षिण एसियाका अन्य अतिकम विकसित मुलुकहरूलाई भारतले शून्य भन्सार दरमा पहुँच दिने बताएको छ । यससँगै २ वर्षपछि भारतले संसारभरका सबै अतिकम विकसित मुलुक (एलडिसी) लाई भन्साररहित बजार पहुँच दिने निर्णय गरिसकेको छ । 'भारतले त २०१३ सम्म सबै एलडिसीलाई भन्साररहित पहुँच दिने भनेकै छ,' ओझाले भने, 'यसले नेपालले मात्रै पाइरहेको सुविधा अरूले पनि पाउने भएकाले बजार प्रभावित हुने नै छ ।' संसारभर ४९ अतिकम विकसित मुलुक छन् भने दक्षिण एसियामा मात्रै नेपाललगायत चार देश छन् ।


नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक भारतसँगको व्यापार घाटा पछिल्लो ३ वर्षमा दोब्बर भएको छ । गत वर्ष १ खर्ब २२ अर्ब रुपैयाँ भारतसँग व्यापार घाटा थियो । यस वर्षको पहिलो ४ महिनामा १२ अर्ब रुपैयाँको सामान भारत निर्यात भएको छ । आयात भने ६४ अर्ब रुपैयाँ बराबरको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by