ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, January 17, 2010

वाईसीएल खतरा: सेना

सरोजराज अधिकारी/काठमाडौ, २०६६ माघ ३ -

नेपाली सेनाले माओवादीले सैनिक चरित्र नत्यागेको र शान्ति प्रक्रियाका लागि शिविरका लडाकुभन्दा वाईसीएल खतरा भएको ठहर गरेको छ । स्रोतअनुसार माओवादी नेतृत्वका पछिल्ला अभिव्यक्ति र गतिविधिको सूचना संकलन र विश्लेषणपछि हालै प्रधानसेनापति छत्रमानसिंह गुरुङसहितका केही वरिष्ठ सैन्य अधिकारीहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो । 'जनविद्रोहमार्फत सत्ता कब्जा गर्नु नै अन्तिम उद्देश्य भएको भनी हालै माओवादी अध्यक्षबाट व्यक्त धारणा र स्थानीय तहमा भइरहेका गतिविधि मिल्दोजुल्दो छ । यो शान्ति प्रक्रियाका लागि खतरनाक हुनसक्छ,' बैठकमा सहभागी एक उपरथीले  भने। जंगी अड्डाले माओवादी अध्यक्ष पुष्पकमल दाहालबाट हालै व्यक्त धारणा र वाईसीएललाई अर्धसैन्य दस्तामा परिणत गर्ने गरी भएको केही स्थानको गतिविधिबारे सूचना संकलन र विश्लेषणपछि यस्तो निष्कर्ष निकालेको उनले बताए | वाईसीएलले उदयपुरलगायत केही जिल्लामा वडास्तरमै प्लाटुन (४५ जना बराबर) सदस्यलाई संगठित गरी अर्धसैन्य दस्तामा रूपान्तरण गरेकोप्रति सेनाको विशेष चासो छ । सैनिक गुप्तचर निर्देशनालय (डीएमआई) ले स्थानीय इकाई परिचालन गरी सूचना संकलन गरेको थियो । 'वाईसीएलका पछिल्ला गतिविधि हेर्दा शान्ति प्रक्रियाका लागि शिविरका लडाकुभन्दा उनीहरू बढी खतरनाक देखापरेको छन्,' स्रोतले भन्यो, 'उनीहरूसँग करिब १ हजार हतियारसमेत छन् ।' सेनापति गुरुङले वाईसीएल गतिविधिबारे प्रधानमन्त्री र रक्षामन्त्रीलाई जानकारी गराइसकेको स्रोतले जनायो । एक जर्नेलका अनुसार हतियार तथा सेना अनुगमनका लागि गठित संयुक्त अनुगमन संयोजन समितिलाई पनि यसबारे अवगत गराइएको छ । 

डीएमआई विवरणमा वाईसीएलमा करिब ६ हजार पूर्णकालीन कार्यकर्ता रहेको र ती सबै पूर्वलडाकु भएको उल्लेख छ । मुलुकभर पूर्णकालीनसहित ३० हजार सक्रिय र १ लाख सदस्य रहेको उल्लेख छ । वाईसीएल संयोजक गणेशमान पुनले पूर्णकालीन कार्यकर्ता ७ हजारको हाराहारीमा रहेको बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by