ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, January 19, 2010

को-को थिए माघ १९ का डिजाइनर ?



'शरदचन्द्र शाहले एमाले र कांग्रेस, रमेशनाथ पाण्डेले अन्तर्राष्ट्रिय समुदाय र पशुपतिभक्त महर्जनले समग्र राजनीति र प्रशासन सम्हाल्ने जिम्मा लिएर माघ १९ को डिजाइन गरेका थिए'

भुवन शर्मा/नयाँ पत्रिका
काठमाडौं, ३ माघ
तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ को कदम चाल्नुअघि यसको जानकारी अरू तीनजनालाई मात्र थियो । मौका यही हो, ठोक्नुपर्छ भनेर सल्लाह दिने तीन हस्ती थिए- शरदचन्द्र शाह, रमेशनाथ पाण्डे र पशुपतिभक्त महर्जन । तर, स्रोतका अनुसार अहिले यी तीनैजनासँग पूर्वराजाको सम्बन्ध बिगि्रएको छ 

रिसाएका पूर्वराजालाई मनाउन उनका पूर्वसल्लाहकारले पटक-पटक प्रयत्न गरे पनि असफल भएका छन् । शाह, पाण्डे र महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति 'अनुकूल' भएको भन्दै राजालाई सत्ता हत्याउन 'उक्साएका' थिए, तर परिस्थिति सम्हाल्न उचित सल्लाह दिन नसकेको भन्दै ज्ञानेन्द्र रिसाएका हुन् 
पञ्चायतकालमा सूर्यबहादुर थापाबाटै 'भूमिगत गिरोह'को उपाधि पाएका शरदचन्द्र शाहले समेत अहिले ज्ञानेन्द्रलाई भेट्न पाएका छैनन् । उनी बहुदलको १५ वर्षपछि ०६१ मा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा पनि राजाका सक्रिय सल्लाहकार थिए 
राजाको प्रत्यक्ष शासनकालमा सबैभन्दा निकट रहेका शरदचन्द्र शाहले पूर्वराजालाई चार महिनादेखि भेट्न खोजेका छन्, तर सकेका छैनन् । स्रोतका अनुसार शाहले पूर्वराजालाई भेट्न दरबारका पूर्वसचिवहरू सागर तिमिल्सिना, फणि पाठक र मधु तिमिल्सिनामार्फत पटक-पटक 'बिन्ती जाहेर' गरेका छन् । तर, समय पाउन सकेका छैनन् 
स्रोतका अनुसार राजाले सत्ता हातमा लिएका वेला परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका डा. रमेशनाथ पाण्डे र पशुपतिभक्त महर्जनलाई पनि पूर्वराजाले भेट दिएका छैनन् । उनीहरूले गलत सल्लाह दिएकाले आफू फसेको भन्दै ज्ञानेन्द्र रिसाएका छन् 
मुख्यतः तीन सल्लाहकारको विश्वासमा परेर आफूले माघ १९ को कदम चाले पनि अप्ठ्यारो परेपछि सल्ल्ााहकारहरूले केही गर्न नसकेको र राजसंस्थासमेत विघटन भएको भन्दै ज्ञानेन्द्र रिसाएका हुन् । 'त्यसैले उनी माघ १९ को कदममा प्रत्यक्ष या परोक्ष रूपमा सघाउने सल्लाहकारहरूसँग टाढै बस्न चाहन्छन्,' स्रोतको दाबी छ 
त्यति मात्र होइन, राजाको प्रत्यक्ष शासनकालका दुईजना उपाध्यक्ष तुलसी गिरी र कीर्तिनिधि विष्टलाई पनि पूर्वराजाले भेट्ने समय दिएका छैनन् । राजाको प्रत्यक्ष शासनकालमा परराष्ट्रमन्त्री भएका रमेशनाथ पाण्डेसँग पनि पूर्वराजाको भेटघाट भएको छैन 
बरु सत्ता हातमा लिनु हुदैन भनेर सल्लाह दिने प्रभाकरशमशेर राणासँग भने पूर्वराजाको सम्बन्ध अहिले बढेको छ । राजाको प्रत्यक्ष शासनमा भने प्रभाकरका कुरा पूर्वराजाले सुन्दैनथे । अझ प्रभाकारका छोरा सिद्धार्थ राणा र पारसबीच झगडा भएपछि सम्बन्ध अझै चिसिएको थियो 
स्रोतका अनुसार माघ १९ को कदमको विषयमा राजा ज्ञानेन्द्रबाहेक शाह, पाण्डे र महर्जनबीच मात्र छलफल भएको थियो । त्यतिखेर पाण्डेले अन्तर्राष्ट्रिय समर्थन मिलाउने जिम्मा लिएका थिए 
राजाका दोस्रो सल्लाहकार शरदचन्द्र शाहले राजाले सत्ता हातमा लिएपछि आन्तरिक राजनीति मिलाउने जिम्मा लिएका थिए । स्रोतका अनुसार शाहले एमाले नेता वामदेव गौतम र केपी ओलीलाई मात्र होइन, सुजाता कोइरालामार्फत गिरिजाप्रसाद कोइरालासँग सम्पर्क गरिसकेको दाबी गर्दै राजालाई अघि बढ्न सुझाब दिएका थिए 
अर्का सल्लाहकार पशुपतिभक्त महर्जन पूर्वराजाका मुख्यसचिव पनि थिए । उनले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति राजाको पक्षमा भएको भन्दै शक्ति हत्याउन सुझाब दिएको स्रोतको दाबी छ 
ज्ञानेन्द्रले शक्ति हातमा लिँदा नेपालमा अमेरिकी राजदूत थिए- जेम्स एफ मोरियार्टी । महर्जनले मोरियार्टीसँग समेत कुरा मिलाउनेमा तत्कालीन राजालाई विश्वस्त बनाएका थिए 
मोरियार्टीले त्यतिवेला भाषणमा भनेका थिए, 'घर जलिरहेको छ तर पार्टीहरू मास्टरबेडमा को बस्ने भन्ने होडबाजी गरिरहेका छन् ।'
मोरियार्टी र उनको अमेरिका नेपालका राजनीतिक दलसँग दिक्क भइसके, यही वेला हो ठोक्ने भन्दै सल्लाहकारले ज्ञानेन्द्रलाई शक्ति हत्याउन सुझाब दिएका थिए । हुन पनि राजाले माघ १९ को कदम चालेकै दिन दिउँसो १२ बजे केही विदेशी राजदूतहरू बेलायती राजदूतको निवासमा बैठक बसे, तर उनीहरूले माघ १९ को कदमलाई न समर्थन गरे न खुलेर विरोध नै 
तत्कालीन राजाले कदम चालेपछि शरदचन्द्र शाह 'लाइन मिलाउन' भारत गएका थिए । स्रोतका अनुसार उनले भाजपा नेता लालकृष्ण आडवाणीसँग पनि भेट गरे । 'तर, शाह आफैंले रक्सी खाएर आडवाणीसँग भेट गरेकाले राजाको कदमबारे राम्ररी डिल गर्न नसकेको रिपोर्ट तत्कालै राजासँग आयो । तर, त्यो पूर्वराजाले शाहलाई माफ गरे,' स्रोतले भन्यो । तर, त्यही दिनदेखि ज्ञानेन्द्र र भारतको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन 
त्यसो त शरदचन्द्र शाहकै सिफारिसमा बेंग्लोरबाट डा. तुलसी गिरीलाई झिकाएर उपाध्यक्ष बनाइएको हो । माघ १९ को कदम चाल्नुभन्दा केही महिनाअघि गिरीलाई सुटुक्क बोलाई राजासँग भेट गराइएको थियो, भेटको कार्यक्रम पनि शाहले नै मिलाएका थिए 
'तुलसी गिरीलाई उपाध्यक्ष बनाएपछि म आफैं बद्नाम भएँ,' स्रोतका अनुसार ज्ञानेन्द्र अहिले भन्दै छन् 
राजाका मन्त्रीहरूमा टंक ढकाल, भरतबहादुर जिसीलगायतका आधाभन्दा बढी मन्त्रीहरू श्ााहकै सिफारिसमा नियुक्त भएका थिए । तर, ती नियुक्तहरू राजासंस्था जोगाउने र राजालाई लोकपि्रय बनाउनेभन्दा पनि आफ्नै स्वार्थमा केन्दि्रत भएको विश्लेषण ज्ञानेन्द्रले गरेको स्रोतको दाबी छ 
तर, शाह र पाण्डे दुवै आफू राजाको सल्लाहकार नभएको दाबी गर्छन् । 'म राजाको सल्लाहकार कहिल्यै भइनँ । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएको वेला प्रधानमन्त्रीको सल्लाहकार थिएँ । माघ १९ पछि सूचना आयोगको अध्यक्ष मात्र थिएँ । यो कुरा त मैले रायमाझी आयोगलाई पनि भनेको छु,' शाहले नयाँ पत्रिकासँग भने 
राजासँग अहिले तपाईंको भेटघाट हुन्छ कि हुँदैन भन्ने जिज्ञासामा शाहले भने, 'राजासँगको मेरो सम्बन्धबारे म मिडियासँग बोल्दिनँ ।'
तर, रमेशनाथ पाण्डेले भने अचेल पूर्वराजासँग आफ्नो भेट नभएको स्विकारे । '-पूर्वराजासँग) आजभोलि भेट हुँदैन,' उनले दाबी गरे, 'तर त्यो कदम -माघ १९ को) बारे पनि मलाई थाहा थिएन ।'
तत्कालीन राजाको कदम किन असफल भयो भन्ने प्रश्नमा उनको जवाफ थियो, 'यसको जिम्मा इतिहासलाई छोडौँ । राजाको शासनकालका मुख्य हर्ताकर्ता पशुपतिभक्त महर्जन भने कहिलेकाहीँ नागार्जुन र निर्मलनिवास जान्छन् । तर, उनी आफैंले पनि समय पाउन पूर्वराजाका पूर्वसचिव सागर तिमिल्सिना, मधु तिमिल्सिना र फणि पाठकलाई फोन गर्नुपर्छ । उनीहरूले समय मिलाइदिए मात्र महर्जनले ज्ञानेन्द्रको 'दर्शनभेट' पाउँछन् । तर, पाठक र तिमिल्सिना बन्धुसँग भने पूर्वराजाको अहिले पनि राम्रै सम्बन्ध छ । सागर तिमिल्सिना त पूर्वराजा भारत जाँदा सँगै थिए 
यसैगरी पूर्वसैनिकसचिव शान्तकुमार मल्ल, मानार्थ एडिसी भरतकेशर सिंह तथा पूर्वरानी कोमलका दाजु सुरजशमशेर राणा र डिबी राणासँग अहिले पनि पूर्वराजाको नियमित भेटघाट हुने गरेको स्रोतको दाबी छ । भरतकेशर सिंह त पूर्वराजासँग भेटघाट भइरहेको बताउँछन् । 'म सल्लाहकार त होइन, तर नियमित भेटघाट हुन्छ,' उनले भने 
यसैगरी राजाको पालामा केशरजंग रायमाझी पनि निकट मानिन्थे । अहिले पनि नजिकै छन् । 'त्यतिखेर मैले राजनीतिक दलहरू र माओवादीसँग वार्ता गर्न सल्लाह दिएको थिएँ, तर अन्य सल्लाहकारहरूले राजालाई गलत सल्लाह दिएर उक्साए,' उनी भन्छन् । उनी पूर्वराजासँग कहिलेकाहीँ भेट हुने गरेको बताउँछन् 
पूर्वराजाका सल्लाहकारहरू को के भन्छन्
तपाईं राजासँगको सम्बन्धको विषयमा मलाई नसोध्नुहोस् । यो विषयमा म केही बोल्न चाहन्नँ । राजासँग मेरो केही गुनासो छैन । र, भन्नु पनि केही छैन । म राजाको सल्लाहकार होइन । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएको वेला (प्रधानमन्त्रीको) सल्लाहकार भएको थिएँ । म राजाको सल्लाहकार होइन भनेर त रायमाझी आयोगलाई पनि भनिसकेको छु 


शरदचन्द्र शाह
राजासँग आजभोलि मेरो भेट भएको छैन । उनीप्रति मेरो गुनासो छैन । केही सल्लाह पनि छैन । राजासँग मेरो सम्बन्ध राजनीति सुरु गरेदेखि नै हो । तर, माघ १९ को कदमबारे मलाई केही थाहा थिएन 
— रमेशनाथ पाण्डे

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by