ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, January 17, 2010

नेपालकै ठूलो डेरी चितवनमा


चितवन मिल्क लिमिटेडसाग दैनिक १ लाख ५० हजार लिटर दूधबाट १५ मेटि्रकटन धुलो दूध उत्पादन गर्ने प्लान्ट छ
विष्णु पौडेल/नयाँ पत्रिका
चितवन, २ माघ

चितवनको भरतपुर नगरपालिका-१ स्थित ठिमुरामा स्थापना भएको नेपालको सबैभन्दा ठूलो डेरी उद्योग चितवन मिल्क लिमिटेडले माघको दोस्रो सातादेखि पाउडर दूधको उत्पादन थाल्ने भएको छ । निर्माण, केबुलकार, जलविद्युत्लगायतका क्षेत्रमा सफलता पाइसकेको चितवन कोई समूहद्वारा प्रवर्द्धित लिमिटेडले निर्माणकार्य पूरा गरी उत्पादन सुरु गर्न लागेको हो । ३ वर्षदेखि निर्माण सुरु भएको उद्योगले माघ दोस्रो सातादेखि अत्याधुनिक स्वचालित प्रविधिबाट घुलो दूध उत्पादन गर्ने भएको हो ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको समेत ११ प्रतिशत लगानी रहेको लिमिटेडले पहिलो चरणमा ३५ हजार लिटर कच्चा दूधबाट धुलो दूध उत्पादन गर्ने कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बताए । 'सुरुमा हामी पाउडर, डेरी ह्वाइट र स्किन मिल्क पाउडर बजारमा ल्याउँछाँ,' श्रेष्ठले भने, 'त्यसपछि पौचको दूधसँगै दही, घ्यू, पनिरजस्ता उत्पादन पनि थाल्छौँ ।'

दैनिक १ लाख ५० हजार लिटर दूधबाट १५ मेटि्रकटन धुलो दूध उत्पादन गर्ने क्षमताको प्लान्ट जडान गर्ने चितवन मिल्क लिमिटेड नेपालकै सबैभन्दा ठूलो उद्योग रहेको उनको दाबी छ । हाल दुग्ध विकास संस्थानको दैनिक ३ मेटि्रकटन पाउडर दूध उत्पाद गर्ने र सुजल उद्योगको दैनिक ५ मेटि्रकटन पाउडर दूध उत्पादन गर्ने प्लान्ट रहेका छन् ।

सरकारी र निजी क्ष्ाेत्रको गरी ५६ करोडको लगानीमा तयार भएको उद्योगमा दुग्ध विकास संस्थानले २ करोड लगानी गरेको छ । कृषकलाई गुणस्तरीय दूध उत्पादनमा सहभागी हुन प्रोत्साहित गर्ने उद्देश्यले कम्पनीले कारखानास्थलमा नै दूध उत्पादन एकाइसमेत स्थापना गरेको छ । कारखानाले कच्चापदार्थका रूपमा आवश्यक पर्ने दूध चितवन, नवलपरासी, मकवानपुर, बारा, पर्सा, धादिङलगायतका जिल्लाबाट ल्याउने श्रेष्ठले जानकारी दिए ।

लिमिटेडले चितवनबाट दैनिक ३० हजार र नवलपरासीबाट दैनिक १५ हजार दूध संकलन गर्ने योजना रहेको उनले बताए । उद्योगले कृषकसँग दूध खरिद मात्र नगरेर दूध उत्पादन बढाउनका लागि प्राविधिक सहयोग पनि गर्ने बताइएको छ । त्यसका लागि कुमरोज गाविसमा ३ दर्जन चिनियाँ गाई भित्र्याउने तयारी भइरहेको उनले बताए । त्यस्तै दूधको उत्पादन वृद्धि गर्नका लागि कृत्रिम गर्भाधान, पशुस्वास्थ्य सुधार तथा उन्नत जातलाई बढी जोड दिइएको छ ।

नेपालमा बर्षेनि १० हजार मेटि्रकटनभन्दा बढी धुलो दूध आयात भइरहेको अवस्थामा ३५ प्रतिशत आयात प्रतिस्थापन गर्ने लक्ष्य उद्योगले राखेको छ ।

चितवन र आसपासका जिल्लालाई मुख्य बजार क्षेत्रका रूपमा लिएको भए पनि गुणस्तरीय उत्पादन गरेर निर्यात गर्ने श्रेष्ठले दाबी गरे । आफ्नो उद्योगले डेरी कारखानाका लागि विश्वप्रसिद्ध ब्रान्डका उपकरणहरू जडान गरेकाले गुणस्तर अरूको भन्दा राम्रो हुने उनको दाबी छ । 'हामीले डेरी उपकरणमा नाम कमाएको डेनमार्कको नेरो कम्पनीका प्रोसेसिङ उपकरण राखेका छौँ,' श्रेष्ठले भने, 'यसले पनि हाम्रो उत्पादन गुणस्तरीय हुन्छ ।'

उद्योगले भारतमा धेरै चलेको दूधको ब्रान्ड 'अमुल' को कम्पनीका अवकाशप्राप्त प्राविधिक डा. एनबी पटेललाई प्राविधिक सल्लाहकारका रूपमा ल्याएर गुणस्तर कायम राख्ने प्रयास गरेको उनले बताए । श्रेष्ठले दूधको ब्रान्डनेम पछि सार्वजनिक गर्ने बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by