ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, December 17, 2009

विशेष राहत कोटाको चामल सदरमुकाममै वितरण

वीरबहादुर गिरी/जाजरकोट (नयाँ पत्रिका)-

जिल्लाका भोकमरीपीडित सर्वसाधारणलाई सरकारले उपलब्ध गराउँदै आएको विशेष राहत कोटाको चामल सदरमुकाम खलंगामै बिक्रीवितरण हँुदै आएको छ । गाउँका डिपोमा पुर्‍याउने गरी ल्याइएको चामल सदरमुकाम-वरपरका बजारमा बिक्री गरिँदै आएको हो । जिल्ला आउनुपर्ने ७ हजार ५ सय क्विन्टल चामलमध्ये ६ हजार ५ सय क्विन्टल मात्र उपलब्ध भएको थियो । भोकमरी प्रभावित क्षेत्रका ४ स्थायी र ८ अस्थायी डिपोमा कोटा चामल ढुवानी गर्न खाद्य संस्थान शाखा कार्यालयले ४ दर्जन स्थानीय व्यक्ति तथा राजनीतिक कार्यकर्ता खटाएको थियो । ढुवानी जिम्मा लिएका ती व्यक्तिले सम्बन्धित ठाउँमा चामल नपुर्‍याई कागजी रूपमा मिलाएर १ करोडभन्दा बढी रकम भुक्तानी लिइसकेका छन् । ठेकेदारले चामल सम्बन्धित ठाउँमा नपुर्‍याएर सदरमुकामलगायत आफूअनुकूल स्थानमा बेच्ने गरेका छन् । सदरमुकामका व्यापारीले ठेकेदारबाट चामल सस्तो मूल्यमा खरिद गरी बजारमा बिक्री गर्दै आएको सर्वसाधारणको गुनासो छ । सोना मनसुली चामल मूल्य प्रतिक्विन्टल २ हजारसम्ममा खरिद गरेको शान्ति चौताराका एक व्यापारीले बताए । अहिले सो चामल सदरमुकामको शान्ति चौतारा, रानागाउँ र खलंगाबाहिर खोलेपुज्न, थलह, मोर्कलगायत बजारमा बिक्रीका लागि राखिएको स्थानीय टोपबहादुर थापाको दाबी छ ।

Wednesday, December 16, 2009

आजको कार्टून !


भारतीय प्रहरीले गल्ती स्विकारे


भैरहवा (नयाँ पत्रिका)

नेपाली प्रहरी र सर्वसाधारणमाथि कुटपिट गर्ने भारतीय सीमा सुरक्षाबल एसएसबीले गल्ती स्विकारेको छ । सोमबार साँझदेखि तनावग्रस्त बनेको रूपन्देहीको सीमा-नाका कुटपिटमा संलग्नलाई कारबाही गर्न भारतीय पक्ष तयार भएपछि मंगलबार दिउँसोबाट सामान्य बनेको छ । भारतीय सीमा सुरक्षा बल -एसएसबी) ले सोमबार नेपाली भूमिमा आएर गर्भवती महिलासहित नेपाल प्रहरीलाई समेत कुटपिट गरेको थियो । त्यसको विरोधमा भएको प्रदर्शनका कारण सोमबार साँझ पाँच बजेदेखि रूपन्देहीको बेलहिया नाका तनावग्रस्त बनेको हो ।  नेपालका सुरक्षा अधिकारी, नागरिक समाज, स्थानीय राजनीतिक दल र भारतीय सुरक्षा अधिकारी तथा सुनौली व्यापारमण्डलका पदाधिकारीबीच सम्पन्न बैठकले घटनामा संलग्नलाई कारबाही गर्ने निर्णय भएको छ । बैठकले आगामी दिनमा यस प्रकारका घटना हुन नदिनका लागि दुवै देशका प्रतिनिधि सम्मिलित १४ सदस्यीय समितिसमेत गठन गरेको छ ।

सेनालाई चीनले ३० करोड ५२ लाख सहयोग गर्ने

काठमाडौँ (नागरिक)- 

चीन सरकारले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न ३० करोड ५२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। चिनियाँ रक्षामन्त्रालयका तर्फबाट जिया जाइकोलिङको नेतृत्वमा आएको छ सदस्यीय टोलीले बुधबार बिहान रक्षामन्त्री विद्यादेवी भण्डारी र रक्षा सचिव नवीनकुमार घिमिरेसितको भेटमा यस्तो प्रतिवद्धता जनाएका हुन्। भेटमा तत्कालीन रक्षामन्त्री रामबहादुर थापाको चीन भ्रमणमा क्रममा चीन सरकारले गर्ने भनेको १ अर्ब ९० करोड रुपैयाँ सहयोगको प्रतिवद्धतालाई एक महिनाभित्र कार्यान्वयन गर्ने आश्वासन चिनियाँ टोलीले दिएको छ। यस्तो सहयोग विकास निर्माण सम्बन्धी क्षेत्रमा खर्च हुने रक्षा सचिव घिमिरेले 'नागरिक'लाई बताए। भेटमा चिनियाँ पक्षले सीमा क्षेत्रमा निरन्तर भेटघाट गर्ने र त्यहाँ विभिन्न भवन बनाउने प्रस्ताव राखेका थिए। जवाफमा नेपाली टोलीका तर्फबाट सचिव घिमिरेले सीमासम्बन्धी क्षेत्र रक्षा मन्त्रालयले मात्र हेर्ने नभई गृह र परराष्ट्र मन्त्रालयसित पनि समन्वय गर्नुपर्ने हुँदा छलफल गरी पछि जवाफ फर्काउने जानकारी दिएका थिए। 

माओवादी गणराज्य घोषणाप्रति राष्ट्रपति चिन्ता यथावत/हामी प्रतिकार गछौं: गच्छेदार

काठमाडौं (कान्तिपुर) -

राष्ट्रपति रामवरण यादवले माओवादीको गणराज्य घोषणा कार्यक्रम फिर्ता नलिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रपतिभवन पुगेका कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छेदारसँग उनले त्यसलाई रोक्न सरकारले पर्याप्त काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका थिए । 'राष्ट्रपतिज्यूले माओवादीले गणतन्त्र घोषणा कार्यक्रम स्थगित नगरेकोमा चिन्ता व्यक्त गर्नुभयो' गच्छेदारले राष्ट्रपतिसंगको भेटपछि संवाददाताहरुसंग भने, 'म माओवादीसंग अन्तरिम संविधानविरोधी र संविधनसभालाई वाइपास गर्ने यो कार्य बन्द गर्न आग्रह गर्दछु ।' गच्छेदारले सत्तारुढ मधेसवादी तीन दलले माओवादीको कार्यक्रमबिरुद्ध गरेको निर्णयको जानकारी राष्ट्रपतिलाई गराएका थिए । मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टीको बैठक बसी बुधबार नै माओवादीले घोषणा गरेको गणराज्य र कैलालीलगायतका स्थानमा गरिएको बन अतिक्रमणका कार्यक्रमको कडा विरोध गरेका थिए ।

Tuesday, December 15, 2009

आजको कार्टून !


भारतीय मन्त्रीहरुसंग सेनापति गुरुङको भेट


नयाँ दिल्ली (कान्तिपुर)

भ्रमणमा रहेका सेनापति छत्रमान सिंह गुरुङ्ले मंगलवार दुई भारतीय मन्त्रीलाई भेटेका छन् । भारतीय राष्ट्रपतिबाट यहाँको सेनाको मानार्थ महारथीको उपाधी पाएका गुरुङ्ले दिल्लीमा विदेश मन्त्री एसएम कृष्णा र रक्षा मन्त्री एके एन्थोनीसँग शिष्टाचार भेट गरेका हुन् । उनले दुबै मन्त्रालयका सचिव र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार एमके नारायणनलाई पनि भेटेका छन् । सबै भेटहरूमा दुई देशबीचको सैनिक र जनस्तरीय सम्बन्धबारे कुरा भएको बताइएको छ । 'दुई देशका सेनाहरुको सम्बन्ध कुनै पनि राजनीतिक हस्तक्षेप विना सूचारु रहनुपर्छ भन्ने कुरा भयो,' दिल्लीस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्णेल अशोक नरसिंह राणाले इकान्तिपुरसँग भने- 'नेपाल र भारतका सेनाहरुबीचको सम्बन्ध व्यवसायिक मात्र नभएर पारिवारिक तहमा समेत भएको र जनस्तरको सम्बन्ध पनि उत्तिकै घनिष्ट भएको बारे कुरा भयो ।' आठदिने भ्रमणमा आएका गुरूङ बुधबार दक्षिण भारतमा जाने कार्यक्रम छ ।

नेपालभित्रै पसेर नेपाली प्रहरी कुटे भारतीय प्रहरीले


मुकेश पोखरेल/भैरहवा (नयाँ पत्रिका) -

भारतीय सीमा सुरक्षा बल एसएसबीले हतियारसहित नेपाली भूमिमा प्रवेश गरी नेपाल प्रहरीका जवान र सर्वसाधारणलाई कुटपिट गरेको छ । चिनी लिन गएका विद्यार्थीलाई लखेट्दै सुनौली नाकाबाट नेपाल प्रवेश गरेका भारतीय प्रहरीले प्रहरी मात्र होइन, गर्भवती महिलालाई समेत कुटेर घाइते बनाएका छन् ।  एसएसबीको कुटपिटबाट इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी जवान एकबहादुर रुजाल घाइते भएका छन् । रिजालको हातमा गम्भीर चोट लागेको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एसएसबीको कुटाइबाट चन्दन श्रेष्ठ, राजकुमार बस्नेत र दानबहादुर रायमाझी घाइते भएका छन् ।

वन मन्त्री र प्रतिनिधि सम्मेलन केन्द्र गएनन्

सुविधामा आएका पदाधिकारी नर्वे भ्रमणमा
सुबोध गौतम, कोपनहेगन (नागरिक)- 

वन मन्त्री दीपक बोहराले नेतृत्व गरेको सरकारी टोलीमा आएका पदाधिकारी र मन्त्रीले यहाँ आएको छ दिन भइसक्दा पनि जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिएका छैनन्। उनीहरुको मुख्य कार्यक्रम 'पर्वतारोहीहरुको र्‍याली गत शुक्रबार नै सकिएको थियो। वातावरण मन्त्रालयले सरकारी टोलीका प्रतिनिधिको हैसियतले वन मन्त्रीको टोलीमा आएका पदाधिकारीलाई सम्मेलनभित्रका छलफल र बैठकमा उपस्थित हुन कार्यविभाजन गरेको छ। तर उनीहरु अहिलेसम्म बैठकमा उपस्थित भएका छैनन्। सरकारी सुविधामा आएका यी पदाधिकारीको कुनै पनि काम यहाँ देखिएको छैन। वातावरण सचिव डा. उदयराज शर्माले राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सरकारी टोलीमा परेका कोष सदस्य-सचिव जुद्धबहादुर गुरुङ र सिद्धार्थवज्र वज्राचार्यसँग सम्मेलन केन्द्रमा अहिलेसम्म भेट नभएको जानकारी दिए।

Monday, December 14, 2009

आजको कार्टून !


१० लाखको रगतमा पौडी खेल्ने मन्तव्यप्रति आपत्ति

काठमाडौं (नागरिक)- माओवादी अध्यक्ष पुष्पकमल दाहालले 'अबको आन्दोलन १० लाखको रगतमा पौडी खेलेर भए पनि सफल पारिने' भनी दिएको मन्तव्यप्रति 'हिंसा अन्त्य' ले आपत्ति प्रकट गरेको छ।  जिम्मेवार नेतालाई रक्तपात तथा हिंसा भड्किने अभिव्यक्ति नदिन पनि उसले अनुरोध गरेको छ। कुनै पनि दल वा समूहले आफ्ना माग सम्बोधन गर्नका निम्ति हिंसापूर्ण आन्दोलन गर्ने सार्वजनिक अभिव्यक्तिले आम नागरिकको शान्तिप्रतिको चाहनामाथि कुठाराघात गर्ने पनि हिंसा अन्त्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। दाहालले जनयुद्धदेखि शान्ति सम्झौतासम्म विषयक फोटो प्रदर्शनी उदघाटनका क्रममा भनेका थिए- अबको आन्दोलन १० हजार हैन, १० लाखको रगतमा पौडी खेलेर भए पनि सफल पारिनेछ। हिंसा अन्त्यमा कुलचन्द्र गौतम, सिके लाल, आनीछोइङ डोल्मा, राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र अमृत गुरुङ छन्।

अब बन्दका बेला मजदुरले पारिश्रमिक नपाउने

सुजित महत/वीरगन्ज (कांतिपुर)- 

उद्योगी व्यवसायीले गैरकानुनी बन्द हडतालमा संलग्न मजदुरलाई काम नगरेको दिनको पारिश्रमिक नदिने भएका छन् ।नेसनल मेडिकल कलेजको श्रम विवाद (फरक प्रकृतिको संस्था) लाई लिएर माओवादीसम्बद्ध ट्रेड युनियनले अनिश्चितकालका लागि उद्योग प्रतिष्ठान बन्द आह्वान गरेपछि व्यवसायीले यस्तो निर्णय गरेका हुन् । उद्योग वाणिज्य महासंघ कुशकुमार जोशीसम्मिलित टोली र माओवादी मजदुरबीच भएको वार्तामा उद्योगीले 'नो वर्क नो पे' को अडान राखेका थिए । शनिबारसाँझको वार्तामा कलेजको श्रम विवाद समाधानका लागि वीरगन्ज उद्योग वाणिज्य संघले पहल गर्ने सहमतिसमेत भएको छ । उद्योग खोल्ने पनि सहमति भएको छ । 'सहमतिपत्रमा केही उल्ल्ोख नगरे पनि 'नो वर्क नो पे' को अडानमा छौं,' संघका अध्यक्ष ओमप्रकाश सिकारियाले भने । महासंघले 'नो वर्क नो पे' को अडान नछाड्ने घोषणा गरिसकेको छ । माओवादीले गैरकानुनी हडताल गराएकाले आफूहरू अडानबाट पछि नहट्ने संघका सदस्य विजय सरावगीले बताए ।

नेपाली भूमिमा भारतीय "रेखदेख"


सुव्रत न्यौपाने/झापा (नयाँ पत्रिका )

झापाको मेचीनगर-११ स्थित भान्सा खोलाका एक दर्जनभन्दा बढी घरपरिवार भारतीय अतिक्रमणको चपेटामा परेका छन् । बर्ष देखि बसोवास गर्दै आएको नेपाली भूमिलाई भारतीय पक्षले 'रेखदेख' गर्न थालेपछि उनीहरू घरको न घाटको बनेका छन् । भारतले ०४३ सालमै नेपाली भू-भाग मिचेर एकलौटी रूपमा सीमास्तम्भ गाडेको स्थानीय समाजसेवी कृष्णप्रसाद उप्रेतीले बताए । चार वर्षदेखि मेचीनगर-११ को करिब २० बिघा भूमि भारतीय सीमा सुरक्षा बल -एसएसबी) ले रेखदेख गर्दै आएको छ ।

प्रधानमन्त्री कोपनहेगन प्रस्थान

काठमाडौ (नागरिक)- 
 
प्रधानमन्त्री माधवकुमार नेपाल डेनमार्कको कोपनहेगनमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलनमा भाग लिन सामेबार त्यसतर्फ प्रस्थान गरेका छन् ।  थाइ एयरवेजको विमानबाट दिउँसो साँढे २ बजे त्यसतर्फ गएका हुन् । उनले मुलुकको राजनीतिक गतिरोध सहमतिबाट अन्त्य हुने विश्वास व्यक्त गरे ।  'जलवायु परिवर्तनले विकाशशील राष्ट्रहरुलाई पारेको प्रभावका बारे विश्वको ध्यानाकर्षण गराउनेछु' विमानस्थलमा संवाददाताहरुसंगको संक्षिप्त कुराकानीमा उनले भने । उनको विधाइका लागि सभामुख सुभाष नेम्वाङ, मन्त्रीहरु र उच्च पदस्थ अधिकारीहरु आएका थिए ।  प्रधानमन्त्री नेपालले बुधबार शिखर सम्मेलनमा सम्बोधन गर्नेछन् । उनको भ्रमण टोलीमा ३८ जना छन् । टोलीमा प्रधानमन्त्री पत्नी गायत्री नेपाल, प्रधानमन्त्रीका सल्लाहकारहरु रघुजी पन्त, राजन भट्टराई, विष्णु रिजाल,बिज्ञान तथा प्रविधि राज्यमन्त्री इन्द्रप्रसाद ढुंगेल, ८ सभासद, ९ पत्रकार, मुख्य सचिव र परराष्ट्र मन्त्रालयका अधिकारीहरू र दुई अंगरक्षक छन् । 

Sunday, December 13, 2009

आजको कार्टून !


आम्दानीको स्रोत बन्यो माहुरी



कमल थापा/रुकुम (नयाँ पत्रिका)

वर्षभर खान पुग्ने स्रोत खोज्दै आएका काँडा गाविसका किसानले मौरीपालनलाई आम्दानीको मुख्य स्रोत बनाउन थालेका छन् । एपिपिएसपीको सहयोगमा नेपाल जनजाति सरोकार केन्द्र रुकुमले मौरीपालनसम्बन्धी कार्यक्रम लागू गरेपछि काँडावासीले आम्दानीको दर्बिलो स्रोत फेला पारेका हुन् । वर्षभर उत्पादित अन्नले हुनेखानेलाई मात्र ६ महिना पुग्ने गरेकामा मौरीपालनपछि जीविकोपार्जनमा सहयोग पुगेपछि किसानले महलाई आम्दानीको मुख्य स्रोत बनाएका हुन् । ६ महिना आलु खाएर छाक टार्ने किसान महपालन सुरु गरेपछि त्यसबाट प्राप्त आम्दानीले आर्थिकस्थिति फेरिन थालेको बताउँछन् । पूर्वी रुकुम काँडाका भीमबहादुर पुनले मौरीपालनअघि वर्षमा ६ महिना आलु र फापर खानुपर्ने बाध्यता भए पनि अहिले त्यो अवस्था नरहेको बताए । अहिले उनको बारीमा आलु फल्दैन । मौरीपालनबाट बढी आम्दानी पाउन थालेपछि उनले आलुको विकल्प रोजेका हुन् ।

भारतीय सुरक्षाकर्मीद्वारा ज्यादती

सर्लाही (नागरिक)- 

महोत्तरी जिल्लाको पश्चिमवर्ती सम्सी नाकामा गएराति भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरुले नेपालको भूमिमा आई सर्वसाधारणलाई कुटपिट गरेका छन्। सम्सीस्थित दसगजा क्षेत्रमा भारतको कन्हया बेस क्याम्पबाट नायव निरीक्षक अर्जुन प्रधानको नेतृत्वमा आएका भारतीय सुरक्षाकर्मीहरुले सम्सी-५ निवासी बौवाजी राउतको जग्गामा बनाएको टहरा समेत भत्काएका छन्। सोही ठाउँको श्याम महतोको चिया नास्ता र पान पसल तोडफोड गरेका छन् भने करिब आधा दर्जन पसलेहरुलाई कुटपिट गरी घाइते बनाएका छन्। राति करिब साढे आठ बजेको समयमा आएका भारतीय सीमा सुरक्षा बलका जवानहरुले भोलि बिहानसम्म सम्पूर्ण पसलेहरुलाई त्यस ठाउँबाट आ-आफ्नो पसल हटाउन आदेश दिएका छन्। साथै त्यहाँबाट पसलहरु नहटाए आइतबार फेरि आएर सुरक्षाकर्मीहरुले कुटपिट गर्ने चेतावनी दिएको स्थानीय विजय यादवले बताएका छन्। भारतीय सुरक्षाकर्मीले नेपालको भूमिमा प्रवेश गरी घर भत्काउने र कुटपिट गर्ने कार्यले सम्सीका नेपाली जनता त्रसित भएका छन्। (रासस)

स्पाइस जेटले नेपालमा उडान गर्ने

काठमाडौ (कान्तिपुर)- 

भारतीय विमान कम्पनी स्पाइस जेटले सन् २०१० देखि काठमाडौंमा उडान गर्ने भएको छ । स्पाइसजेटले काठमाडौं-दिल्ली र बैंगलोर-काठमाडौं दैनिक उडान गर्ने कम्पनीका उपाध्यक्ष कमल हिंगोरानीले बताए । बोइङ ७३७-८०० र ७३७-९०० बाट २०१० को जुन महिनादेखि कम्पनीले उडान थाल्नेछ । यो भारतको दोस्रो ठूलो र सस्तो हवाई कम्पनी हो । 'हामीले पर्यटन तथा नागरिक उडड्न मन्त्रालयबाट छिट्टै अनुमति पाउनेछौं,' हिंगोरानीले भने । कम्पनीले आन्तरिक उडानमा पाँच वर्ष पूरा गरेको अवसरमा नेपालमा हवाई सेवा सुरु गर्न लागेको हो । 'कम्पनीले स्थापना भएको पाँच वर्षमा अन्तर्राष्ट्रिय उडान थाल्ने उद्देश्य लिएको थियो,' उनले भने । स्पाइसले २० वटा जहाजबाट दैनिक १ सय २५ आन्तरिक उडान गर्दै आएको छ ।  आफ्नो विमानमा अन्य कम्पनीको तुलनामा भाडादर सस्तो हुने स्पाइसको नेपालस्थित जिएसए जेनिथ ट्राभलका प्रबन्धनिर्देशक जोय दिवानले बताए ।

व्यावसायिक बन्दै छ गोलभेडा खेती

भीम चापागाईं/इलाम (नयाँ पत्रिका)

जिल्लाको पूर्वी पञ्चकन्या गाविसमा व्यावसायिक गोलभेडा खेती फस्टाउँदै गएको छ । इलाममा नगदेबालीका रुपमा अन्य खेती गरिँदै आए पनि व्यावसायिक रूपमा गरिएको गोलभेडा खेतीबाट किसानले बढी फाइदा लिन थालेका हुन् । पञ्चकन्या गाविसका डेढ दर्जन परिवारले व्यावसायिक गोलभेडा खेती सुरु गरेका छन् । जिल्लाका पञ्चकन्यासहित पूर्वी गोदक, लक्ष्मीपुर, शान्तिपुर, फिक्कल, गोर्खे, पशुपतिनगर, कन्याम, कोल्बुङलगायत गाविस माअहिले व्यावसायिक रूपमा गोलभेडा, कोबी, आलु, इस्कुस, काँक्रा, फर्सी, मटर, धनियाँ खेती गर्न थालिएको छ । त्यसबाट भएको आम्दानीले स्थानीय परिवारको गुजारा चलाउन र बालबालिकालाई विद्यालय तथा क्याम्पसमा पढाउनसमेत पुग्ने गरेको किसानको भनाइ छ ।

पञ्चकन्याका एक किसानले गोलभेडा खेतीबाट ६ महिनामै १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । पञ्चकन्याका भेषराज गड्तौलाले गोलभेडाबाट वैशाखदेखि असोजसम्ममा १२ लाख रुपैयाँ आम्दानी गरेको बताए ।

'२ लाख लागत खर्च कटाउँदा १० लाख रुपैयाँ चोखो आम्दानी भयो,' गड्तौलाले भने । २० रोपनी क्षेत्रफलको जग्गा भाडामा लिएर गोलभेडा खेती गरेका गड्तौलाको बारीमा फलेका गोलभेडा बेच्न अझै केही बाँकी छ ।

'गत वर्ष १० हजार बोट गोलभेडा खेती गर्दा ५ लाख रुपैयाँ मात्र आम्दानी भएको थियो,' गड्तौलाले भने, 'यो वर्ष भने २० हजार बोट गोलभेडा रोपेकामा हालसम्म ८ सय क्विन्टल बिक्री भइसकेको छ ।'

स्थानीयस्तरमा बजार अभाव र अन्य तरकारी मात्र उत्पादन हुने गरेकाले गोलभेडा बिक्री गर्न भने झापा नै झर्नुपर्ने उनले गुनासो गरे । उत्पादित गोलभेडा झापा लाँदा ढुवानी खर्च बढेकाले सोचेजति आम्दानी लिन नसकेको गड्तौलाले बताए । उनका अनुसार गोलभेडा खेती जटिल भए पनि आम्दानी राम्रो हुने गरेको छ । 'नेपालमै मिहिनेत गर्न सके पैसा कमाउनकै लागि लाखौं रुपैयाँ खर्चेर विदेश जान नपर्ने रहेछ,' गड्तौला भन्छन् ।

चाडवाडको मुख्य सिजनमा प्रतिकिलो ३५ देखि ५० रुपैयाँसम्ममा गोलभेडा बिक्री गर्दा भएको आम्दानी देखेर उनका परिवार मात्र होइन छरछिमेकी पनि सो खेतीप्रति आकषिर्त हुन थालेका छन् ।

गड्तौला परिवारले छिमेकीलाई पनि हौस्याएको छ । स्थानीय डोलेन्द्र भारद्वाजले भने, 'उनको मिहिनेत र आम्दानी देखेर हामीलाई पनि गोलभेडा खेती गर्न जाँगर चलेको छ ।'

विशेषगरी, वषर्ायाममा लगाइएको गोलभेडाबाट राम्रो आम्दानी हुने गर्छ । तर, वषर्ायाममा लाग्ने हुस्सुबाट बचाउन, गोडमेल गर्न र औषधोपचार गर्न भने गाह्रो पर्छ । रातदिन गोलभेडा स्याहारमा जुटेका गड्तौलाका छोरा दीपेन्द्र भन्छन्, 'ढुसीनाशक औषधि खरिद गर्न र छर्किन पनि धेरै समय खर्चिनुपर्छ ।' गोलभेडा खेतीबाट भएको आम्दानीबाट गड्तौला परिवारले घरनजिकै १० रोपनी जमिनसमेत खरिद गरिसकेका छन् ।

पहिलेदेखि तरकारी खेती गरिरहेका गड्तौलाले बन्दा, फूलकोभी, रायो, मुला आदिको बेमौसमी खेती पनि गर्दै आएका छन् । अन्य तरकारी खेतीबाट राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार हिउँदे सिजनमा जिल्लाको ७० हेक्टर क्षेत्रफलमा लगाइएको गोलभेडा खेतीबाट ९ सय १० मेटि्रकटन उत्पादन हुने गरेको छ भने वषर्ायाममा बेमौसमी रूपमा २७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ३ सय २४ मेटि्रकटन गोलभेडा उत्पादन हुदै आएको छ ।

कोही लाहुरे कोही भने सपिङ कम्प्लेक्समा

प्रदीप मेन्याङ्बो/धरान (कान्तिपुर)- 

कोही बेलायत जाने तरखरमा छन् । कोही भिषा मिलाउँदै छन् । कोही चाँही बेलायत पुगेर घर, गाडी किनेर बसेका छन् । तर तिनै समुह मध्येका धेरै पूर्व गोर्खाहरु भने धरानमा व्यावसायिक मुलाधारमा सहभागी हुन सुविधा सम्पन्न आधुनिक सपिङ कम्प्लेक्स निर्माणमा जुटेका छन् । पछिल्लो समयमा वि्रटिस गोरखा सैनिकहरुलाई बेलायत सरकारले आवासीय भिषा अधिकार दिए पछि नेपाल छाडेर बेलायत जाने क्रम रोकिएको छैन । तर एउटा समुह भने धरानमा व्यापार व्यावसाय गर्ने उदेश्यले धरानको घण्टाघर पछाडि रहेको १८ धुर जग्गामा गोरखा भूतपुर्व सैनिक परिवार लिमिटेड दर्ता गरेर करिव १० करोड रुपैयाँको भूमिगत फ्ल्याट, कारपार्किङ सहितको सपिङ कम्प्लेस निर्माण गर्न कम्मर कसेर लागेका छन् । सपिङ कम्प्लेक्स चार तलाको हुने छ । गोरखा भूतपुर्व सैनिक परिवार लिमिटेडको अधिकृत पुँजी १० करोड रुपैयाँ रहेकोमा शेयर पुँजी ५ करोड र चुक्ता पुँजी १ करोड ६२ लाख ३० हजार रहेको छ । 

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by