काठमाडौं (कान्तिपुर) -
राष्ट्रपति रामवरण यादवले माओवादीको गणराज्य घोषणा कार्यक्रम फिर्ता नलिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रपतिभवन पुगेका कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छेदारसँग उनले त्यसलाई रोक्न सरकारले पर्याप्त काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका थिए । 'राष्ट्रपतिज्यूले माओवादीले गणतन्त्र घोषणा कार्यक्रम स्थगित नगरेकोमा चिन्ता व्यक्त गर्नुभयो' गच्छेदारले राष्ट्रपतिसंगको भेटपछि संवाददाताहरुसंग भने, 'म माओवादीसंग अन्तरिम संविधानविरोधी र संविधनसभालाई वाइपास गर्ने यो कार्य बन्द गर्न आग्रह गर्दछु ।' गच्छेदारले सत्तारुढ मधेसवादी तीन दलले माओवादीको कार्यक्रमबिरुद्ध गरेको निर्णयको जानकारी राष्ट्रपतिलाई गराएका थिए । मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टीको बैठक बसी बुधबार नै माओवादीले घोषणा गरेको गणराज्य र कैलालीलगायतका स्थानमा गरिएको बन अतिक्रमणका कार्यक्रमको कडा विरोध गरेका थिए ।