ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, December 21, 2009

मधेस एक प्रदेश नभए नयाँ संविधान नमान्ने चेतावनी


नेपालगन्ज (नयाँ पत्रिका)

मधेसी जनअधिकार फोरम नेपालले समग्र मधेस एक प्रदेश माग सम्बोधन नभए नयाँ संविधान नमान्ने चेतावनी दिएको छ । फोरम अध्यक्ष उपेन्द्र यादवले आफ्नो माग पूरा नभए मुलुक विखण्डनमा जान चेतावनी दिँदै त्यस्तो संविधान बहिष्कार गर्ने चेतावनी दिएका हुन् । एकीकृत माओवादीले आफूखुसी स्वायत्त राज्य घोषणा गर्नु असंवैधानिक भएको टिप्पणीसमेत नेता यादवको थियो । आइतबार फोरम बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता यादवले मधेसमा ९८ र मुलुकभरि एक सय २५ जातिको बसोवास रहेको भन्दै जातजातिका नाममा गणराज्य घोषणा गर्नु मुख्र्याइँ रहेको दाबी गरे । नेता यादवले माओवादीले गणराज्य घोषणा गरेर मुठभेड गराउन खोजेको आरोप पनि लगाए । माओवादीले बाँके, बर्दिया, दाङ, कञ्चनपुर र कैलालीलाई थारुवन गणराज्य घोषणा गरेपछि फोरमका केन्द्रीय नेता यस क्षेत्रमा दैनिकजसो कार्यक्रम गरी त्यसको विरोध गरिरहेका छन् । 'गणराज्यबारे राजनीतिक सहमतिबाट समस्याको छिनोफानो गर्न सकिन्छ,' अध्यक्ष यादवले भने, 'तर माओवादी आफूखुसी गणराज्य घोषणा गर्दै हिँडिरहेको छ ।'

आन्दोलन नजिते संविधानसभा भंग हुन्छ: भट्टराई

काठमाडौँ (नागरिक)-

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले अहिलेको आन्दोलन जसरी पनि जित्नुपर्ने बताएका छन्। संविधानसभा भंग गर्ने षड्यन्त्रमा दलहरु लागेको आरोप लगाउँदै उनले आन्दोलन नजिते संविधानसभा भंग हुने ठोकुवा गरे। 'यो आन्दोलन हामीले जितनौं भने संविधानसभा भंग हुनेवाला छ', नयाँ वानेश्वरको कोणसभालाई सम्बोधन गर्दै भट्टराईले भने, 'त्यसैले यो संघर्ष हामीले जित्नैपर्छ।' हड्तालको पहिलो दिन तनावग्रस्त बनेको नयाँ बानेश्वरमा माओवादीले सोमबार कोणसभा आयोजना गरेको हो। सभालाई सम्बोधन गर्दै नेता भट्टराईले राष्ट्रिय सरकार अहिलेको आवश्यकता भएको बताए। '१४ जेठसम्म संविधान निर्माण राष्ट्रपति शासनको षड्यन्त्र हुँदैछ' भट्टराईले चेतावनी दिँदै भने- '१४ जेठमा संविधानसभा भंग भए सरकार र राष्ट्रपति पनि त्यतिबेलै सकिनेछन्, त्यसपछि जनताले सडकबाट संविधान जारी गर्नेछन्।'

Sunday, December 20, 2009

आजको कार्टून !

जातीय युद्ध निम्त्याएको मन्त्री श्रेष्ठको आरोप


भक्तपुर (नयाँ पत्रिका)

सामान्य प्रशासनमन्त्री रवीन्द्र श्रेष्ठले जातीय आधारमा स्वायत्त गणराज्य घोषणा गर्ने अधिकार एकीकृत माओवादीलाई कसैले नदिएको बताएका छन् । एमाले बागेश्वरी गाउँ अधिवेशन उद्घाटनमा उनले गणराज्य घोषणा गर्ने अधिकार संविधानसभालाई मात्र भएको बताए । संविधानसभाबाहेक अरूलाई गणराज्य घोषणा गर्ने अधिकार कसैमा नभएको उनको दाबी थियो । मन्त्री श्रेष्ठले माओवादीले शान्तिसम्झौता, कानुन र संविधानसभालाई समेत मिचेर गणराज्य घोषणा गरेको आरोपसमेत लगाए ।माओवादीले जातीय गणराज्य घोषणा गरेर जातीय युद्ध निम्त्याएको उनले बताए । माओवादीले निम्त्याएको जातीय युद्धको भुमरीमा ऊ आफैँ फस्ने मन्त्री श्रेष्ठको भनाइ थियो । मन्त्री श्रेष्ठले सरकारले दिएको सम्पूर्ण सुरक्षा प्रयोग गरेर प्रचण्ड संविधानसभाविरुद्ध लागेको बताउँदै उनले शान्तिको बाटोमा आउनुपर्ने कि क्रान्तिको बाटो रोजेर फेरि जंगल जानुपर्ने बताए । सरकारी र व्यक्तिको जग्गा कब्जा गरेर सुकुम्बासीको नाममा माओवादीले जग्गा बाँडेर गैरकानुनी कार्य गरेको उनको आरोप छ ।

बन्द अराजक ठाउँठाउँमा आगजनी र तोडफोड


झडपमा घाइते भएका डीएसपी दीलिप चौधरीको अवस्था चिन्ताजनक

काठमाडौं (दैनिकी)

माओवादीको तीन दिने आमहड्तालको पहिलो दिन ठाउँठाउँमा झडप भएको छ । माओवादी कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै देशका विभिन्न स्थामा सवारीमाथि तोडफोड गरेका छन् भने केही जलाइदिएका छन्। काठमाडौंको बानेश्वरमा माओवादी कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरी नायव उपरीक्षक दिलिप चौधरी सभासद यशोदा सुवेदीसहित केही प्रहरी र प्रदर्शनकारी गम्भीर घाइते भएका छन्। घाइते डीएसपी चौधरीको अवस्था चिन्ताजनक छ । नयाँ बानेश्वरमा करिब तीन घण्टा झडप भएको थियो। झडपमा घाइते भएका डीएसपी दीलिप चौधरीको अवस्था चिन्ताजनक छ। नयाँ बानेश्वरमा झडपका क्रममा लडेपछि प्रदर्शनकारीहरुले घेरेर उनलाई कुटपिट गरेका थिए। चौधरी कै कमान्डमा रहेको प्रहरीले दोस्रो चरणको आन्दोलनका क्रममा सिंहदरबार घेराउ गर्ने क्रममा हनुमानथान नजिक प्रदर्शनकारीमाथि बल प्रयोग गरेको भन्दै माओवादी पत्रिका जनदिशाले उनको नाम पनि ‘जनताको निगरानीमा’ भनी छापेको थियो।

संविधानसभा विघटन भए बन्दूक हुनेले शासन गर्छ

काठमाडौ (कान्तिपुर) - 

माओवादी उपाध्यक्ष बावुराम भट्टराईले संविधानसभा विघटन भए मुलुकमा बैधानिक संस्था समाप्त हुने भन्दै त्यसपछि बन्दूक हुनेहरुले शासन गर्ने बताएका छन् । उनले जेठ १४ गते संविधानसभाको अस्तित्व समाप्त पारेर दलहरुले राष्ट्रपति मात्र बैधानिक संस्थाको रुपमा रहन्छन भनि गरेको प्रचार भ्रामक भएको टिप्पणी गरे । 'बैधानिक ढंगले राष्ट्रपति शासन लागू गर्न अहिलेको संविधानले नदिने भएकाले उहाँहरुले जेठ १४ गते संविधानसभालाई मर्न दिने र त्यसपछि कु गर्ने अनि त्यो अवस्थामा राष्ट्रपतिमात्र बैधानिक संस्था रहन्छन भन्ने भ्रामक प्रचार गरिरहनुभएको छ ।' रेडियो कान्तिपुरलाई आइतबार दिएको अन्र्तवार्तामा उनले भने, 'संविधानसभा विघटन भए राष्ट्रपति पनि रहदैनन । यहाँ बैधानिक संस्था भन्ने केही हुदैन । देश पूरै अराजकतातिर जान्छ । जसको शक्ति उसको भक्ति भनेजस्तै जसको हातमा बन्दुक छ । त्यसैले यहाँ शासन गर्छ ।'

लगानीकर्ता कल्याणकारी कोषको स्थापना हुने

रोशन अधिकारी/काठमाडौ (कान्तिपुर)-

सेयर बजारमा सूचीकृत विभिन्न कम्पनीमा दाबी नपरेको लाभांशको रकम जम्मा गरेर लगानीकर्ता कल्याणकारी कोष स्थापना हुने भएको छ । सेयर बजार प्रवर्द्धनका लागि गठन गरिने उक्त कोषबारे धितोपत्र बोर्डले अध्ययन थालेको छ 'प्रारम्भिक चरणमा बैठक भएको हो,' बोर्ड अध्यक्ष सुरवीर पौडेलले भने, 'अध्ययनको काम भैरहेको छ ।' कम्पनीहरूले लगानीकर्तालाई दिएको लाभांशमध्ये दाबी नपरेका सबै रकम बैंकमा ठूलो मात्रामा जम्मा हुँदै आएको छ । कति रकम छ भन्ने यकिन भने छैन । 'त्यो पनि अध्ययन गर्नुपर्छ,' पौडेलले भने, 'त्यसै भन्न सकिँदैन ।' कम्पनीले सबै लगानीकर्तालाई लाभांश वितरण गरे पनि कतिपयले सूचना नपाएर वा अन्य कारणबाट यस्तो रकम बैंकमै जम्मा हुने गरेको हो । कम्पनी ऐनमा यस प्रकारको कोषको व्यवस्था छ । लाभांश वितरण भएको ५ वर्षम्म कसैले दाबी नगरे त्यो कोषमा राख्ने व्यवस्था ऐनमा छ । कोष व्यवस्थापन तथा सञ्चालन गर्न रजिस्ट्रार, धितोपत्र बोर्डको अध्यक्ष वा प्रतिनिधि र धितोपत्र बजार सञ्चालन गर्नेमध्येबाट धितोपत्र बोर्डले नियुक्त गरेको एकजना प्रतिनिधि हुनुपर्छ । 

Saturday, December 19, 2009

आजको कार्टून !


यही सरकारलाई पूर्ण समर्थन छः भारतीय प्रधानमन्त्री

एकराज पाठक/कोपनहेगन (नागरिक)- 

प्रमुख प्रतिपक्षी दल माओवादीसँग वार्ताको माध्यमबाट सहमति कायम गरी मिलेर जानुपर्ने सुझाव डा. सिंहले दिएको र राष्ट्रिय राजनीतिक सहमतिका लागि आˆनो सरकारमार्फत् नेपालले गरेका प्रयासहरुको जानकारी डा. सिंहलाई गराएको पनि प्रधानमन्त्री नेपालले जानकारी दिए । 
भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहले प्रधानमन्त्री माधवकुमार नेपालको वर्तमान सरकारलाई नै भारतको पूर्ण समर्थन रहेको र यही सरकारले नेपालमा शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याई निर्धारित समयमै नयाँ संविधान निर्माण गर्ने आशा व्यक्त गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन शुक्रबारमात्र यहाँ आएका डा.सिंहले प्रधानमन्त्री नेपालसँगको भेटमा नेपालको यही सरकारले नै नेपाली जनताको इच्छाबमोजिम नयाँ संविधान निर्माणको काम गर्ने अपेक्षा गरेका थिए । 'तपाईंजस्तो सक्षम व्यक्ति प्रधानमन्त्री रहेकोले नेपालका सबै राजनीतिक पार्टी एवम्ं पक्षलाई मिलाएर लानुहुन्छ र सार्थकरुपमा राजनीतिक निकास दिने काममा पूर्ण सफल हुनुहुन्छ भन्नेमा हामी विश्वस्त छौ' भेटपछि डा. सिंहको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री नेपालले पत्रकारहरुसँग भने । नेपाली जनताको इच्छाबमोजिम नेपालको स्थायित्व एवम् विकासका लागि जे जस्तो सहयोग गर्न पनि भारत सरकार तत्पर रहेको प्रतिबद्धता सिंहले व्यक्त गरेको जानकारी पनि प्रधानमन्त्री नेपालले दिए ।

नेपाल एकीकरण गर्दाको मुख्य किल्ला सर्वसाधारणका लागि खुला

डडेल्धुरा (नागरिक)- 

नेपाल एकीकरणका क्रममा अमर सिंह थापाले स्थापना गरेको प्रमुख प्रशासकीय किल्ला अमरगढी सर्वसाधारणका लागि खुला गरिएको छ। सशस्त्र द्वन्द्वको बेला नेपाली सेनाले सुरक्षाको कारण देखाउँदै किल्लामा सर्वसाधारणलाई प्रवेश रोकेको थियो। बृहत् शान्ति सम्झौतापश्चात् स्थानीयवासीहरुको दवाबका कारण जिल्लास्थित सर्वदलीय संयन्त्र, अमरगढी नगरपालिका, स्थानीय प्रशासन र नेपाली सेनासँगको छलफलपछि किल्ला खुला गर्ने निणर्य भएको हो। प्रजातन्त्रको पुनःस्थापनापश्चात् २०५४ सालमा यस किल्लाको नामबाट अमरगढी नगरपालिका घोषणा गरी एक वर्षसम्म यस किल्लामा पुर्णरुपमा प्रवेश खुल्ला गर्दै नेपाली सेनालाई हटाइएको थियो। २०५७ सालदेखि पुनः प्रवेश निषेध गरी नेपाली सेनालाई खटाइएको थियो। किल्ला प्रवेश खुल्ला गराइएपछि ऐतिहासिक तथा पुरातात्विक स्थलको प्रचारप्रसार भई भावी पुस्ताका लागि मार्ग प्रशस्त हुने समाजसेवी नरबहादुर विष्टले बताए।

'मिथिला राज्यको माग जायज'

श्यामसुन्दर शशि/काठमाडौ (कान्तिपुर)-

माओवादी उपाध्यक्ष बावुराम भट्टराईले स्थानीयवासीहरुले उठाउँदै आएको स्वायत मिथिला राज्यको मांग जायज रहेको बताएका छन् । शनिवार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने-'मिथिला यस मुलुककै सबभन्दा पुरानो संस्कृति हो । स्वायत्त मिथिला राज्यको मांग उचित र तर्कसंगत हो ।' शुक्रवार विभिन्न राजनीतिक दल तथा संघ संस्थाहरुको विरोधको बीच डा.भट्टराईले स्वायत मधेस राज्यको घोषणा गरेका थिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले त्यतिवेलै समग्र मधेस एक स्वायत प्रदेशको घोषणा गरेको थियो भने मिथिला राज्य स्थापना संघर्षसमितीले स्वायत मिथिला राज्य घोषणा हुनु पर्ने मांग गरेका थिए । उनले माओवादीले गरेको गणराज्यको घोषणा सांकेतिक र दवावमुलकमात्र भएको बताए । उनले भने, 'मैथिल जनताले चाहेमा स्वायत्त मिथिला राज्यको पक्षमै हाम्रो पार्टी पनि हुनेछ ।'

Friday, December 18, 2009

आजको कार्टून !


प्रधानमन्त्रीको मस्ती, अरूलाई सास्ती


सुशील भट्टराई/काठमाडौं (नागरिक)- 

प्रधानमन्त्री माधवकुमार नेपाललाई लिएर कोपनहेगन जान लागेको थाई एयरवेजको जहाज गत सोमबार दिउँसो ५० मिनेट ढिला उड्यो। प्रधानमन्त्रीकै कारण थाइ उडान ढिलो भयो। यसले त्यस दिन अधिकांश उडान र अवतरण प्रभावित भए। केही अन्तर्राष्ट्रिय उडान 'डाइभर्ट' गरिए भने केही आन्तरिक उडान रद्द गरिए। दिउँसोका कतिपय उडान राति अबेरसम्म भइरहेका थिए। यसअघि 'भिभिआइपी उडान' हुँदा आधा वा पौने घन्टामात्र उडान रोकिन्थ्यो। यसपालि विमानस्थल व्यवस्थापनले दुई घन्टा उडान रोकेको आन्तरिक वायुसेवा सञ्चालकहरूले बताए।

हुलै बाँधेर भन्सार छलिन् आइजिपीकी श्रीमतीले



मोहन भट्टराई/विराटनगर (नयाँ पत्रिका)

अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि बास्कोटाले विराटनगरमा पत्रकार सम्मेलन गरी सरकारी कर्मचारी र उनका परिवारले भारतको बजारमा कुनै पनि सामान खरिद गरेको पाइए कारबाही गर्ने ठोकुवा गरिरहेकै बेला नेपाल प्रहरीका आइजिपी रमेश चन्द ठकुरीकी श्रीमतीले पारिवारिक दलबलसहित भारतीय बजार जोगबनीबाट हजारौँका सामान खरिद गरेकी छन्, अचम्म नै हो- उनले एक रुपैयाँ पनि राजस्व तिरेकी छैनन् । आइजिपी ठकुरीकी श्रीमती देविना चन्दले भारतीय बजारबाट हजारौँ मूल्यबराबरका सरसामान खरिद गरी काठमाडौं फर्केकी छन् । प्रहरी परिवार महिला संघकी अध्यक्षसमेत रहेकी चन्दले नेपाल सरकारको ना१झ ८४१ र बा६च ८९१९ नम्बरको पजेरो गाडी लिएर भारतीय बजारबाट सामान खरिद गरेकी हुन् ।

प्रधानमन्त्री र हिलारी भेटवार्ता आज/भियतनामले दूतावास खोल्ने

अब्दुल्लाह मियाँ/कोपनहेगन (कान्तिपुर)- 

प्रधानमन्त्री माधवकुमार नेपाल र अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनबीच शुक्रबार भेटवार्ता हुंदैछ । विहीवार सांझ भेटको समय तय गरिएपनि जलवायु परिवर्तनसम्वन्धि सम्मेलनमा युरोपियन युनियन (इयु) संगको छलफल लम्बिएपछि भेटवार्ता सारिएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । प्रधानमन्त्री नेपालले विहीवार भियतनामका प्रधानमन्त्री, नर्वेका वातवारण र अन्तराष्टिय विकास र डेनमार्कका विकास सहयोगमन्त्रीसंग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।  जलवायु परिवर्तनसम्वन्धि विश्व सम्मेलनलाई सम्वोधन गर्न प्रधानमन्त्री नेपाल मंगलवार कोपनहेगन आएका थिए । उनी शनिवार स्वदेश र्फकने कार्यक्रम छ ।  भेटका क्रममा भियतनामले छिट्टै नेपालमा दूतावास स्थापना गर्ने जानकारी गराएको छ । प्रधामन्त्री नेपाल र समकक्षी ङुएन टान डुङवीच भएको भेटवार्तामा उक्त जानकारी दिएको हो । 

कोइरालाले दाहालाई भने- आन्दोलन छाड्नोस्

काठमाडौँ (नागरिक)- 

माओवादीले आह्वान गरेको आम हड्ताल मिति नजिकिँदै गर्दा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आन्दोलन छाड्न आग्रह गरेका छन्। मुलुक शान्ति प्रक्रिया बिथोलिने र संविधान नबन्ने दिशातर्फ गइरहेकोमा गम्भीर चिन्ता जनाउँदै कोइरालाले दाहाललाई भने 'अहिलेको समय आन्दोलनको हैन, आन्दोलन छोड्नोस्।' माओवादीले चौथो चरणको आन्दोलनमा शिविरभित्रका लडाकू बाहिर निकाल्ने बताइरहेकै बेला कोइरालाले मुलुक शान्ति प्रक्रिया बिथोलिने र संविधान नबन्ने दिशातर्फ लागेकोमा चिन्ता जनाएका हुन्। मुलुकको समसामयिक राजनीतिक अवस्था बारे छलफल गर्न कोइराला निवास पुगेका माओवादी अध्यक्ष दाहाल कोइरालाको भनाइप्रति गम्भीर बनेका थिए। आधा घण्टा बढी चलेको छलफलमा अध्यक्ष दाहालले आफ्नो पार्टीले उठाएका सामान्य मुद्दाहरुलाई सम्बोधन गरिदिन कोइरालासमक्ष आग्रह गरेका थिए। 'राष्ट्रपतिको कदम बारे हामीले उठाएका सामान्य मुद्दालाई कुनै न कुनै ढंगबाट सम्बोधन गरिदिनु पर्यो' दाहालको भनाइ उदृत गर्दै दुई नेताको बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य कृष्ण सिटौलाले भने- 'उहाँले पार्टीका साथीहरुसँग बसेर कुरा गर्छु भन्नु भएको छ।'

Thursday, December 17, 2009

आजको कार्टून !


सेनालाई सहयोग गर्न भारत र चीनको होडबाजी

भोजराज भाट/ काठमाडौं (नागरिक)- 

छिमेकी मुलुक भारत तथा चीनबीच नेपाली सुरक्षा निकायलाई सैन्य सहयोग गर्ने होडबाजी चलेको छ। पछिल्लो दुई महिनायता चीन र भारतका झन्डै आधा दर्जन प्रतिनिधिमण्डलले नेपाली सुरक्षाका चार वटै अंगलाई विभिन्नतवरमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। बुधबार मात्रै चीनले नेपाली सेनालाई आगामी पाँच वर्षभित्र ३० करोड ५२ लाख रूपैयाँ बराबरको सैनिक सहयोग दिने भएको छ। 0चिनियाँ जनमुक्ति सेनाका मेजर जनरल जाई जियाओनिङ र नेपाली सेनाका व्यवस्था तथा युद्धकार्य महानिर्देशक गौरवसमशेर जबराले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सहयोग रकममध्ये २० करोड रूपैयाँजतिको सैनिक विकास निर्माण कार्यमा संलग्न सामग्री दिने सहमति भएको छ। मेजर जनरल जियाओनिङको नेतृत्वमा मंगलबार नेपाल भ्रमणमा आएको सात सदस्यीय टोलीले बुधबार विहान रक्षामन्त्री विद्यादेवी भण्डारी र रक्षासचिव नवीनकुमार घिमिरेसँग शिष्टाचार भेटघाट गरेको थियो। भेटमा चिनियाँ टोलीले पूर्व सरकारलाई दिने भनेको १० करोड बराबरको सैन्य सहयोग एक महिनाभित्रै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

माओवादी लडाकु रित्तो हात घर फर्किने

काठमाडौं (नया पत्रिका)-


माओवादी जनसेनाका शिविरमा रहेका अयोग्य लडाकुलाई समाजमा पुनस्र्थापना गर्न दाताहरूले ८० करोड दिएका छन् । तर, लडाकुलाई एक रुपैयाँ पनि नदिई घर पठाउन सरकार, माओवादी र राष्ट्रसंघीय निकाय सहमत भएका छन् ।  तीन वर्षदेखि शिविरमा रहेका चार हजार लडाकुलाई खाली हात घर पठाउन तीन पक्ष सहमत भएका हुन् । सहमतिअनुसार बिदाइ हुने सदस्यहरूलाई बसपार्कसम्म पुर्‍याउने तथा घरसम्म पुग्न सुरक्षा-भत्ता उपलब्ध गराइनेछ । २७ डिसेम्बर -१२ पुस देखि अयोग्य लडाकुलाई ४० दिनभित्र घर पठाउने कार्ययोजनामा राष्ट्रसंघका प्रतिनिधिको मध्यस्थतामा सरकार र माओवादी प्रतिनिधिले बुधबार हस्ताक्षर गरेका हुन् । 'संयुक्त राष्ट्रसंघको नेतृत्वमा सन् २००७ मा सम्पन्न प्रमाणीकरण प्रक्रियामा योग्य नठहरिएका माओवादी सेनाका सदस्यहरूको बिदाइका लागि नेपाल सरकार, माओवादी र संयुक्त राष्ट्रसंघबीच कार्ययोजनामा' हस्ताक्षर भएपछि ती लडाकु घर र्फकने निश्चित भएको हो । स्रोतका अनुसार माओवादी आफ्नो योजनाअनुसार १८ वर्ष पुगेका लडाकुलाई घरपरिवार वा संगठनमा पुनस्र्थापना गर्ने भूमिका खेल्न सहमत भएको छ । त्यस्तै, सरकारले उसको योजनामा सहमत भएर आउने लडाकुलाई सहयोग गर्ने र राष्ट्रसंघीय निकायले ८० करोडको प्याकेज खुला राख्ने आन्तरिक सहमतिपछि कार्ययोजनामा हस्ताक्षर भएको हो । 

प्रधानमन्त्री भेटघाटमा ब्यस्त/ओबामा र मनमोहन आज आउने

अब्दुल्लाह मियाँ/कोपनहेगन (कान्तिपुर)- 

प्रधामन्त्री माधवकुमार नेपाल र नर्वेका अन्तराष्ट्रिय विकास र वातावरणमन्त्री इरिक सोल्हेमवीच बिहीबार यहाँ भेटवार्ता भएको छ । प्रधानमन्त्री बसेको होटल कोङ अर्थरमा भएको भेट वार्तामा शान्ति प्रक्रियालाई निष्कर्षम पुर्‍याउन नर्वेले सक्दो सहयोग गर्ने बताएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । इरिकले नेपालको वर्तमान राजनीतिक परिस्थितिबारे चासो राखेका थिए । उनले नर्वे नेपालमा दिगो शान्ति स्थापना भएको हेर्न चाहेको प्रधानमन्त्रीलाई बताएका थिए ।  आजै बेलुकी पौने ६ बजे प्रधानमन्त्री नेपाल र अमेरीकी परराष्ट्रमन्त्री हिलारी क्लिन्टनबीच पनि भेटवार्ता हुँदैछ । त्यस्तै, मलेशियाली र भियतनामका प्रधानमन्त्रीका साथै डेनमार्कका विकास सहयोगमन्त्रीसँग पनि आजै छलफल हुने सल्लाहकार भट्टराईले जानकारी दिए । आजै बेलुकी डेनमार्ककी रानीले आयोजना गर्ने रात्रीभोजमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ । 

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by