ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 8, 2009

गोर्खाल्यान्डद्वारा आर्थिक नाकाबन्दी

झापा/ नयां पत्रिका 
छुट्टै गोर्खाल्यान्ड राज्यको माग गर्दै आएको गोर्खा जनमुक्ति मोर्चाले भारतको पश्चिमबंगाल राज्य सरकारविरुद्ध आर्थिक नाकाबन्दी घोषणा गरेको छ । दार्जिलिङमा मोर्चाले नयाँ चरणको आन्दोलनअन्तर्गत शनिबारदेखि आर्थिक नाकाबन्दी थालेको हो । यसअन्तर्गत पहिलो चरणमा मदिरा ओसार-पसार र बेचबिखनमा कडाइ गरिने मोर्चाले जनाएको छ । यसअघि २७ साउनमा नयाँदिल्लीमा भएको त्रिपक्षीय वार्तामा ६ पुसमा दार्जिलिङमा वार्ता गर्ने सहमति भएपछि मोर्चाले आन्दोलनको कार्यक्रम स्थगित गरेको थियो । नाकाबन्दीको प्रारम्भिक चरणमा मदिरापसल बन्द गरिएको मोर्चाका अध्यक्ष विमल गुरुङले बताए ।

संविधान बन्दैनः मातृका

काँकडभिट्टा- 

पुर्नगठित माओवादीका अध्यक्ष मातृका यादवले निर्धारित समयमा संबिधान बन्न नसक्ने ठोकुवा गरेका छन् । माओवादीको कोचिला राज्य स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम उदघाटन गर्न झापाको धुलावारी आएका यादवले भने,' संबिधान बन्दै बन्दैन, बनिहालेपनि जनताले चाहेको जस्तो हुदैन ।' सत्ताको लुछाचुँडीमा लागेर दलहरुले संबिधान निर्माण प्रक्रियामा ढिलाई गरिरहेको यादवको आरोप थियो । 'दलहरुको क्रियाकलापले निर्धारित मितिमा संबिधान बन्ला जस्तो देखिदैंन', यादवले थपे,'जनता आफै संबिधान निर्माणमा जुट्नु पर्छ ।' उनले अबको संबिधान बहुसंख्यक जनताको हीतको हुनु पर्ने बताए । जनताले चाहेजस्तो संबिधान नबनेसम्म मुलुकमा संघर्ष भइरहेन उनको भनाइ थियो । 

आन्दोलन सत्ता प्राप्तिका लगि मात्रै केन्द्रत रहेको यादवको भनाइ

सञ्जीव चापागाई/झापा

पुनर्गठित नेकपा माओवादीका संयोजक मातृका यादवले एकिकृत माओवादीको जारी आन्दोलन नागरीक सर्वोच्चताका लगि नभई सत्ता प्रप्तिका लगि मात्रै केन्द्रत रहेको दाबी गर्नुभएको छ। कोचिला राज्य स्तरीय कार्यकर्ता प्रशिक्षणका क्रममा झापाको धुलावारी आइपुग्नुभएका यादवले नागरीक सर्वेच्चताको नाम दिएर झुटो आश्वासन बाँड्दै एकीकृत माओवादीले जनतालाई भ्रममा पारेको आरोप लगाउनुभएको छ। प्रशिक्षण कार्यक्रमको उद्धघाटन गर्दै यादवले एकीकृत माओवादीको जारी आन्दोलनप्रति आफ्नो दलको कुनै समर्थन नरहेको स्पस्ट पार्दै माओवादीले पहिले घोषण गरिसकेको आन्दोलन छाड्नु लज्जास्पद भएको बताउनुभयो। 

सभासदद्वारा राष्ट्र सङ्घका महासचिवप्रति आपत्ति

माधव ढुङ्गेल, काठमाडौं- 

संविधानसभा संवैधानिक समितिको बैठकमा सभासद्हरूले संयुक्त राष्ट्रसंघका महासचिवले पेश गरेको प्रतिवेदनले समितिबारे भ्रम सिर्जना गरेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले सुरक्षा परिषदमा पेश गरेको प्रतिवेदनले भ्रम सिर्जना गरेकाले नेपालका लागि महासचिवका प्रतिनिधि अनमिन प्रमुख करिन लनग्रेनलाई समितिमा बोलाएर छलफल गर्नसमेत सभासद्हरूले माग गरे। न्युयोर्कबाट गत साता सार्वजनिक प्रतिवेदनमा 'संवैधानिक समितिले छैठौंपटक कार्यतालिका परिवर्तन गरेको छ, बाँकी रहेका ५ वटा विषयगत समितिका प्रतिवेदनमाथि डिसेम्बर १५ सम्म छलफल सक्नुपर्ने हो।

Saturday, November 7, 2009

राष्ट्रसंघ र अनमिन माओवादीबाट प्रभावित : कांग्रेस

'अर्ती उपदेश नदेऊ' - 
काठमाडौं, कात्तिक २१ (नागरिक)- कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले राष्ट्रसंघ र राष्ट्रसंघीय मिसन अनमिन माओवादीबाट प्रभावित भएर अर्ती उपदेश दिदै हिडेको आरोप लगाएका छन्। राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले माओवादी चाहनाअनुसारको सरकार निर्माणमा राष्ट्रसंघले जोड दिएबाट उसको भूमिकामा आशंका बढेको दाबी गरे।  'राष्ट्रसंघ र अनमिनले तय भएअनुसार दायित्व निर्वाह गर्ने हो, उपदेश दिने होइन' पौडेलले भने, 'अनमिन माओवादीबाट प्रभावित छ, आफूलाई सुधारेर अर्ती उपदेश बन्द गर्नुपर्छ।' उनले नेपाली दलहरूले लोकतान्त्रिक ढंगबाट कस्तो सरकार बनाउने भन्नेबारे आफैं फैसला गर्ने हो भन्दै राष्ट्रसंघ, अनमिन या विदेशीलाई आग्रह गर्ने या निर्देशन दिने अधिकार नभएको बताए। 

'राष्ट्र सङ्घको विरोध भारतीय चाहनामा'

रुद्र खड्का, नेपालगन्ज- 

माओवादीका पोलिटव्युरो सदस्य लीलामणि पोखरेलले केही दिनयता राष्ट्र सङ्घका महासचिवको भनाइलाई लिएर राजनीतिक दलहरूले गरेको विरोध भारतीय चाहनाअनुसार भएको दाबी गरेका छन्। दलहरुले राष्ट्र सङ्घले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको बताउँदै आएका छन्। 'भारतीय विस्तारवाद' नेपालमा शान्ति प्रक्रिया सफल भएको हेर्न चाहँदैन, शनिबार उनले नेपालगन्जमा भने- 'भारतीय चाहना संयुक्त राष्ट्र सङ्घलाई हटाएर नेपालमा एकलौटी गर्ने छ। अहिले संयुक्त राष्ट्र सङ्घका महासचिवको भनाइलाई भारतीय चाहनामा व्याख्या भइरहेको छ भन्दै उनले नेपालमा राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने माओवादीको माग जायज भएको राष्ट्र सङ्घको भनाइले पुष्टि गरेको पनि बताए। महासचिवको भनाई आन्तरिक हस्तक्षेप नभई यथार्थता भएको उनको भनाइ थियो।

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको राष्ट्र संघको भनाइ

काठमाडौं (दैनिकी)

संयुक्त राष्ट्र संघले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको स्पष्ट पारेको छ । राष्ट्र संघकी प्रवक्ता मिशेल मोन्टासले नेपालमा केही राजनीतिक दलहरूले महासचिवको प्रतिवेदनमाथि गरेको आलोचनाका बारेमा टिप्पणी गर्दै महासचिव बान की मूनले शान्ति प्रकृयाको सफलताका लागि नेपालका राजनीतिक पार्टीहरुबीच आम सहमति हुनुपर्ने कुरालाई दोहराएको बताएकी छिन । "रिपोर्टले नेपालका राजनीतिक दलहरुलाई राष्ट्रिय सहमतिको सरकारका विषयमा उनीहरुले व्यक्त गरेको चाहनालाई नै प्रोत्साहित गर्छ यसले कुनै किसिमको हस्तक्षेपको प्रतिनिधित्व गर्दैन" उनले न्यूयोर्कमा संवाददाताहरुसँग भनिन ।  सत्ता साझेदार २२ दलको बैठकले मूनको प्रतिवेदनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आपत्ती जनाएको थियो ।

टेलिकमलाई तामाकोसीको सेयर


काठमाडौं/ 

नेपाल विद्युत् प्राधिकरण माथिल्लो तामाकोसी परियोजनामा नेपाल टेलिकमलाई सेयर दिन सहमत भएको छ । टेलिकमले सेयर माग गरे पनि प्राधिकरणले ऋण दिन आग्रह गरेको थियो । टेलिकमले ऋण नदिने अडान लिएपछि प्राधिकरण सेयर दिन लचिलो भएको ऊर्जा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । प्राधिकरणले टेलिकमसँग ६ अर्ब रुपैयाँ माग गरेको छ ।

नेपालको शिक्षा प्रणाली राडारविनाको जहाज


काठमाडौं/ विष्णु पोखरेल

शुक्रबार अपराह्न पौने चार बजेको थियो । उपत्यकाबाट विस्थापन गर्ने भन्ने बहस चलिरहेका थोत्रो तीनपाङ्ग्रे टेम्पोबाट उत्रेर बत्तीसपुतलीस्थित गोल्डेन गेट कलेजको मूलढोकामा पुग्दा मोटरसाइकलमा दुई व्यक्ति फुत्त भित्र छिरे । फोनमार्फत पहिले नै मिलाएको 'टाइम सेडुल' भन्दा केही ढिलो पुगे पनि पालेलाई सोधेँ- रमेश सर हुनुहुन्छ ? 'ऊ मोटरसाइकलमा जाँदै हुनुहुन्छ,' भर्खरै मूलढोकाबाट भित्र छिरेकामध्ये एकलाई देखाए उनले । नामजस्तै रंगको फलामे गेट पार गर्दै सम्भिmएँ, नामजस्तै गोल्डेन गेट नै रहेछ । बगैँचामा उभिएर मोबाइलमा कुरा गर्न व्यस्त उनी अर्थात् गोल्डेन गेट कलेजका कार्यकारी प्रमुख रमेश सिलवाल ।

स्वायत्त गणराज्यको घोषणा तयारी नपुगेकाले स्थगित : अध्यक्ष दाहाल

'सेना तिनका बाउका विर्ता हो?-
'विचरा, उपेन्द्र यादव थाक्छन् भन्ने डर लाग्छ ' -

उपेन्द्र लामिछाने, वीरगन्ज कात्तिक २१ - एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले स्वायत गणराज्यको घोषणा कार्यक्रममा कसैको दवावमा नभई तयारी नपुगेकाले स्थगित गरेको बताएका छन्। 'कसैको दवावमा हैन , तयारी नपुगेर गणराज्य घोषणा कार्यक्रम रोकेका हौ ', उनले थपे - 'सरकार गभिर नभए अर्को चरणको आन्दोलनमा राज्य मात्र हैन , स्वायत सरकारको समेत घोषणा गर्ने छौ। ' एकिकृत माओवादी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तीकारी)को राष्ट्रिय सम्मेलन शनिबार वीरगन्जमा उद्‌घाटन गर्दै अध्यक्ष दाहालले आफ्नो पार्टीले थालेको आन्दोलनलाई दमन गर्ने चेष्टा गरे त्यसबाट उत्पन्न हुने आँधिवेहरीले बर्तमान सरकारका सवैखाले सपना चकनाचुर पारिदिने बताए।

हामी नदीका दुई किनारा


दीपक सापकोटा/नयां पत्रिका
युथफोर्समा यथास्थितिवादी, नोकरशाह र दलालहरू छन्, उनीहरू हतियारभन्दा पनि खतरा हुन्छन् । अहिले लुकिछिपी भइरहेको हत्या, बालबच्चा अपहरण, चन्दा, फिरौती, ठेक्कापट्टामा गुन्डाको प्रयोगलगायतका आपराधिक काममा युथफोर्सका कार्यकर्ता लागेका छन् ।- गणेशमान पुन, अध्यक्ष, वाइसिएल वाइसिएलसँग बन्दुक छ । वाइसिएलले आफ्ना गुन्डा पालेर राखेका छन् । - महेश बस्नेत अध्यक्ष, युथफोर्स

एक समय यस्तो थियो, यिनीहरूको खबर नभएको कुनै अखबार फेलापर्दैन'थ्यो । जनता यिनीहरूसँग त्राहिमाम थिए । यिनीहरूको डर, धम्की, सान्, रबाफ र फुर्तीका अघि कसैको केही लाग्दैनथ्यो । अहिले त्यसमा केही कमी मात्र आएको हो । कहिले उनीहरू क्याम्पसमा नांगा खुकुरी देखाएर विद्यार्थी लखेट्छन् । कहिले अरूको खुट्टै काटिदिन्छन् । एकले अर्कालाई मार्न पनि यिनीहरू पछि परेका छैनन् । कहिले कसको खुट्टो काटिन्छ, कहाँ झडप हुन्छ त्यो उनीहरू आफैँ पनि अनुमान लाउन सक्दैनन् । सान, फुर्ती, दादागिरी जे छ देशमा अचेल यिनीहरूकै छ ।

दुवै संगठनका माउहरूलाई यहाँ दादागिरी थाहा छ । मान्छे कसरी ठीक पार्ने, थाहा छ । मान्छेलाई कसरी तह लगाउने, त्यो थाहा छ । मुक्का, लठ्ठी, डन्डी वा यस्तै अरू कुराको तीव्र स्पर्स कसरी गराउने त्यो थाहा छ । आउनूस्, देशको यति शक्तिशाली यी दुई संगठनका माउलाई भेटौँ । कस्ता छन् र के गर्दै छन् अचेल ? के भन्छन् ? के चाहन्छन् ?



बागबजारको उत्तरी कुनो । नजिकैको टुँडिखेलमा माओवादीको नागरिक सर्वोच्चताको मागको नाराले नाघेको नाघेकै छ आकाश । लाग्छ, उनीहरूको आवाज जति नै माथि पुगे पनि त्यसले निर्धा मनको हुर्मत भने सधैँ लिइरहेकै छ । सधैँ बागबजार चोकमा जुत्ता टल्काएरै बस्ने दोलखाका गोरेबहादुर सार्की सधैँभरि त्यही चोकमा उसैगरी बसेका भेटिन्छन् । जनजीविकाबारे बोल्ने स्वप्नद्रष्टाका चखिला भाषण उनले बिर्सेका छैनन् । पसिना चुहिन्छ घरी-घरी । ती सबलाई थाति राख्छन् उनी । सडकमै जोडिएको यो जुत्ता टल्काउने पसलसाथ प्रजातन्त्रको युद्धमा आफूलाई उत्सर्ग गर्न पनि बिर्सेनन् उनले ।

गोरेबहादुरको पसलसँगैको ठूलो होटलमा भेटिए महेश बस्नेत । अर्थात् युथफोर्सका अध्यक्ष । उनी यति शान्त, भद्र र सामान्य थिए जसमा उनी वाइसिएलसँग प्रतिरक्षामा उत्रेका युवादस्ताको मुख्य मान्छेजस्तो लाग्ने कुनै पनि चिह्न थिएन । युथफोर्सले जनतालाई कति दुःख दिन सकेको ? मेरो पहिलो प्रश्न थियो । 'हामीले कहाँ दुःख दिनु ? हामीले दुःख दिएका छैनौँ । हामीसँग बद्मास, चोर, डाँका, फटाहा, जाली, तस्करहरू मात्रै आत्तिएका हुन्,' एक चिसो दिन युथफोर्स अध्यक्ष बोल्छन्, 'वाइसिएल आत्तिएको छ हामीसँग । जनता आत्तिएका छैनन् । जनताले त युथफोर्सलाई आफ्नै मुटुमा राखेका छन् । हामीले कसैलाई दुःख दिएका छौँ भने अराजक गुन्डालाई मात्र ।'

वाइसिएलको गुन्डागर्दी र आतंक साह्रै बढेपछि त्यसलाई मत्थर पार्न युथफोर्स गठन भएको माउ पार्टी एमालेले बताएको थियो । पछिल्लो एक वर्षमा के छ त प्रगतिविवरण ? वाइसिएल तह लागे त ? 'बितेको एक वर्षमा वाइसिएलको आतंक पूरै घटेको छ,' ०६५ जेठ २१ गते युथफोर्स गठन भएपछिका आफूले गरेको प्रगतिविवरण सुनाउँछन् उनी, 'उनीहरूले आफूलाई सच्याएका त होइनन् । युथफोर्सदेखि काँपेका हुन् । माओवादीलाई युवा हाम्रा मात्र छन् भन्ने भ्रम थियो । हामीले देखायौँ युवा हाम्रा पनि छन् । अझ उनीहरूभन्दा धेरै छन्, हामीसँग ।'

अन्तर्वार्ताका लागि नयाँ पत्रिका कार्यालयमै आइपुगेका गणेशमान पुन पनि उत्तिकै भद्र, सामान्य छन् । 'असामान्य चर्चा पाइरहेको युवादस्ता -वाइसिएल) का प्रमुख' जस्तो लाग्दैनन् उनी । होचो कद र सामान्य लवाइखवाइमा भेटिएका उनलाई पनि लाग्छ, वाइसिएलले जनताको सेवा नै गरिरहेको छ । 'जनता हामीसँग निकै खुसी छन् । हामीसँग अराजक गुन्डा र अपराधी पो डराउँछन् त । जनताले त हामीलाई मनैमा राखेका छन्,' उनले सुनाए, 'कुन्डले, मन्डले, चोर, डाँकाहरू पो हामीसँग डराएका छन् त । युथफोर्समा सामन्त, तस्कर, फटाहा, जाली मात्र छन् । त्यसैले उनीहरू हामीसँग डराएका हुन् ।' दुवै संगठनका माउहरूको उस्तै जवाफ थियो ।

त्यसोभए वाइसिएलले के अर्थ राख्छ जनतालाई ? 'वाइसिएल शक्ति हो जनताको । प्रतिगामी चरित्रलाई परास्त गर्न बनेको हो हाम्रो संगठन । जुनैवेला पनि जनताका लागि लड्छौँ, हामी । रगत, पसिना बगाउनेहरूको विरुद्ध लाग्नेलाई छाड्दैनौँ,' उनको जवाफ थियो । वाइसिएल अध्यक्षलाई के लाग्छ, कस्ता छन् युथफोर्सहरू ? 'हामीलाई परास्त गर्न युथफोर्स गठन भएको हो । युथफोर्समा पेसेवर गुन्डा मात्रै छन्, जनतालाई दुःख दिनेहरू छन् । संविधानसभा चुनावअघि दुलोमा बसेर खानेहरूले पछि त्यो दस्ता निर्माण गरे । अग्रगमनलाई सिध्याउने लक्ष्य हो युथफोर्सको,' उनले सुनाए, 'युथफोर्स भनेको वाइसिएलको डाहाले जन्मिएको हो । उनीहरू आतंक मच्चाउन र पेसेवर गुन्डाको ग्याङ मात्र भेला भएका हुन् ।'

आतंक त वाइसिएलले पनि मच्चाउँछन् । मान्छे वाइसिएलले पनि कुट्छन । गुन्डाजस्ता लाग्ने मान्छेहरू वाइसिएलमा पनि छन् । के फरक छ, वाइसिएल र युथफोर्समा ? 'वाइसिएल परिर्वतनको वहाव हो । हामी त परिवर्तन चाहने शक्ति हो । युथफोर्सचाहिँ झगडा गर्न मात्रै जन्मेको हो । हामी अग्रगामी चेतनासहित लड्छौँ । युथफोर्स अग्रगामी शक्तिको विरुद्ध लड्छ,' पुन भन्छन्, 'वाइसिएललाई जनताले मुटुमै ठाउँ दिएका छन् । युथफोर्सलाई छीःछी र दुरदुर गर्छन् जनता ।' युथफोर्स अध्यक्षको आँखामा उनीहरू दुईबीचको फरक यस्ता छन्, 'युथफोर्स कानुनी राज्यको विद्रोही होइन । हामीले वाइसिएलजस्तो दादागिरी देखाएनौँ । हामीले कहिले पनि जनतालाई दुःख दिएनौँ । उनीहरूजस्तो हातहतियार प्रदर्शन गरेनाँै । क्रान्तिका नाममा चन्दा संकलन गरेनौँ । हामी उनीहरूभन्दा विल्कुलै भिन्न रूपमा प्रस्तुत भयौँ ।'

युथफोर्स अध्यक्षलाई वाइसिएल कस्तो लाग्छ ? 'उनीहरू जनतालाई दुःख दिन जन्मेका हुन् । उनीहरूले खुब कुटे जनता । धेरै त्रसित भए । उनीहरूले प्रतिगामी चरित्रलाई सहयोग गर्छन् । हाम्रो संगठन गठन भएपछि उनीहरूले आतंक मच्चाउन पाएका छैनन्,' महेशले सुनाए । गणेशमान हेरीकन महेशले वाइसिएललाई उत्ति गाली गरेनन् । कुराकानीमा पनि महेश निकै भद्र देखिए ।

'युथफोर्सले वाइसिएलको खुब रिस गर्‍यो' भन्ने गणेशमान र 'फेरि झडप नहोस् भन्नाका खातिर वाइसिएलसँग लडेका हौँ' भन्ने महेशबीच भेटघाट, चिनजान वा एकअर्कामा बोलचाल छ कि छैन होला ? 'उनीहरू नसुधि्रएसम्म हामी नजिक पर्दैनौँ,' गणेशमानको उत्तर थियो । यता महेश भन्दै थिए, 'केही कार्यक्रममा देखेको छु । केहीपटक हात पनि मिलाएको छु ।' पछि थाहा लाग्यो, उनीहरूबीच अहिले बोलचाल पनि रहेनछ ।

उनीहरूलाई कोही मान्छे 'खराब' लाग्यो भने, 'बद्मास' लाग्यो वा 'बद्मास' भनेर उजुरी पर्‍यो भने उसले जीवनभरि 'कम्युनिस्ट' नामधारी केटाहरूसँग तर्सिरहनुपर्छ होइन र ? 'कोही खराब लाग्यो वा कसैविरुद्ध उजुरी पर्‍यो भने पनि हामी भौतिक कारबाही गर्दैनौँ । राज्यको निकायमा लैजान्छौँ । आफैँ आक्रमण गर्दैनौँ । राज्यलाई कारबाही गर्न सहयोग गर्छौं,' महेश बस्नेतको उत्तर थियो । उही प्रश्न थियो, गणेशमान पुनलाई । के भन्छन् उनी ? 'कोही मान्छे खराब लाग्दैमा कुटिहालिँदैन । त्यसको यथार्थ चित्र के हो त्यो बुझन्िछ । पुलिस, प्रशासनलाई खबर गछौर्ं, बुझाउँछौँ । सक्रियतापूर्वक कानुनलाई बुझाउने काम गर्छौं ।'

त्यसोभए यत्तिका मान्छेले वाइसिएल, युथफोर्सको कारण दुःख पाएको के त ? के यिनीहरूका आँखाले जनताले आफ्ना कारणले पाएको दुःख देखेका छैनन् ? 'कहीँ-कहीँ हाम्रा कारणले पनि दुःख पाएका हुन सक्छन् । हामी सच्याउँदै छौँ,' युथफोर्सका महेशको उत्तर थियो । 'हाम्रा कारणले कतै दुःख पाएका छन् भन्ने म मान्दिनँ । हामीले अहिलेसम्म कसैलाई दुःख दिएका छैनौँ,' गणेशमान पुनले भने ।

िि

िउनीहरूले आफ्नो र अरूको संगठनबारे जे-जस्तो भने पनि एउटा समानता छ, त्यो के भने उनीहरू दुवै कम्युनिस्ट हुन् । दुवैजना निम्नमध्यमवर्गीय किसानका छोरा । आफ्नो संगठनका सदस्य संख्या पनि दुवै बराबर भएको दाबी गर्छन्-आठ/दस लाख । दुवैजना सुधारवादी गीत रुचाउँछन् । दुवैको रुचि पनि लगभग मिल्छ । दैनिकी पनि उस्तै छ । बिहान उठ्ने समय उही, काम गर्ने तरिका उही । फरक के छ ? 'हामीसँग विचार र एकता छ,' महेशले भने, 'वाइसिएलले बन्दुक लुकाएका छन् । लाठी र अरू हतियार त कति-कति ।'

झन् वाइसिएलसँग त हतियार छ भन्ने आरोप नै लागेको छ । कति छन् कमरेड हतियार ? 'कहाँ, हामीसँग हतियार छ र ? लडाकु मिलिसियाहरू शिविरमै छन् । हाम्रो पूरै पार्टी नै जनयुद्धमा लागेकाले हाम्रा कमरेडहरूसँग युद्ध सीप हुनु स्वाभाविक हो । यत्तिकै भरमा लडाकु भन्न मिल्दैन । अब तिनलाई विकास निर्माणको काममा लगाइन्छ । युथफोर्सले हतियार नराखे पनि कुन्डले, मन्डले पालेको छ । पेसेवर गुन्डाको ग्याङै भएपछि किन हतियार राख्नुपर्‍यो ?' गणेशमानले भने, 'युथफोर्स यथास्थितिवादी, नोकरशाह र दलालहरू हुन्, उनीहरू हतियारभन्दा पनि खतरा हुन्छन् ।' अझ गणेशमानले त अहिले समाजमा भइरहेका विभिन्न अपराधका काममा युथफोर्सकै कार्यकर्ता मजैसँगले लागेको आरोप लगाए । 'अहिले लुकिछिपी भइरहेको हत्या, बालबच्चा अपहरण, चन्दा, फिरौती, ठेक्कापट्टामा गुन्डाको प्रयोगलगायतका आपराधिक काममा युथफोर्सका कार्यकर्ता लागेका छन् ।' महेशले गणेशमान पुन र वाइसिएल संगठनलाई नै त्यस्ता जघन्य आरोप त लगाएनन्, तर भने, 'वाइसिएलले आफ्ना गुन्डा पालेर राखेका छन् ।'

एकअर्काले दुवैको संगठनमा गरेको सबैभन्दा ज्यादतिपूर्ण काम के होलान् ? 'वाइसिएलले हाम्रा कार्यकर्ता निर्मल, पुष्करलाई जिउँदै पुर्‍यो । विवेक देवकोटाको एउटा खुट्टा छिनालिदियो,' महेश आफूविरुद्ध वाइसिएलको ज्यादति सुनाउँदै थिए, 'सुशील महर्जनको हात काट्यो । सामान्य अपराध त कति गर्‍यो कति ? भनिसाध्ये छैन ।' गणेशमान भने महेशको केही पनि आरोप स्विकार्न तयार छैनन् । 'हामीले उनीहरूका कार्यकर्ताको हात काटेको, खुट्टा काटेको र जिउँदै पुरेको भन्ने आरोप सबै निराधार हुन् । हामी कसैलाई पनि त्यसो गर्न सक्दैनौँ,' गणेशमानले सुनाए, 'युथफोर्सले त झन् धेरै अपराध गरेका छन् । भनिसाध्ये, सम्झिसाध्ये छैन ।'



अहिले वाइसिएल र युथफोर्सको झडप निकै कम हुन थालेको छ । एक समयका कुकुर, बिरालैजस्ता देखिने उनीहरू अहिले सुधि्रएकै हुन् त ? 'हामी त पहिले पनि ठीकै थियौँ । अहिले पनि ठीक छौँ । सुधि्रनुपर्दैन । झडपमा अग्रसर हुँदैनथ्यौँ । झडप हाम्रो रहरको कुरा होइन । यो त आइपर्ने बाध्यता हो,' गणेशमान पुन भन्दै थिए, 'बाध्यतामा त हामीले बन्दुकनै उठायौँ नि ! हामी झगडा नगर्ने भनेर पछाडि हट्दा पनि युथफोर्सले लगातार आक्रमण गरे । उनीहरूसँग विचार थिएन । ती विचार नहुनेहरूले हामी विचारका धनीलाई आक्रमण गरेर मात्र हामीले जवाफ फर्काएका हौँ । कोही लड्न आउँछ भने हामी किन पछि हट्ने ?'

युथफोर्स अध्यक्ष भने यो मान्न तयार छैनन् । 'पहिले वाइसिएलसँग प्रतिरोधका लागि दस्ता नहुँदा उनीहरूले हामीलाई निकै आक्रमण गरे । एमाले भन्नेबित्तिकै उनीहरू आक्रमणमा ओर्लिहाल्थे,' महेश भन्छन्, 'उनीहरूको दैनिक आक्रमण सहन गर्न नसकेर हामीले प्रतिरक्षा शक्ति खोलेका हौँ । उनीहरूको आक्रमणपछि मात्रै हामीले जवाफ फर्काउँथ्यौँ । पहिले नै हामी कहिल्यै आक्रमणमा ओर्लिर्एनौँ । हाम्रा साथीका नाक फुटाउने, सख्त घाइते बनाउने उनीहरूको कामपछि हामीले प्रतिरक्षा मात्र गर्ने हो । हामी सुधि्रनुपर्ने आवश्यकता छैन । उनीहरूले आक्रमण गरे भने हामी अहिले पनि प्रतिरक्षाका लागि तयार छौँ । अहिले हामीमाथि उनीहरूको आक्रमण केही कम भए पनि गरिरहेकै छन्, तर्साइरहेकै छन् हाम्रा साथीहरूलाई ।'



महेश र गणेशमानको राजनीतिक जीवनमा ठूलो फरक के छ भने गणेश भूमिगत जीवन बाँचिरहँदा, आज कि भोलि मरिन्छ भन्दै भागिरहँदा महेशले शान्तिपूर्ण जीवन बाँचे । भक्तपुरको गुन्डुमा ०३१ मा जन्मेका उनले दुःख के हो भोग्नुपरेन । दुःखको रंग कस्तो हुन्छ जान्नुपरेन । प्रवेशिका परीक्षा उत्तीर्ण गरी ल कलेज भर्ना भएपछि उनको जीवनले राजनीति जान्यो । 'राजनीति त गजबकै कुरा रहेछ' भन्ने त्यतिवेला लाग्यो ।

यता गणेश ०२८ सालमा पहिलोपटक यस संसारमा 'च्याँ' गरेर रोए । १३ वर्षसम्म उनी रुकुमको गाईगोठमा घाँस, दाउरा गरेर, भैँसीगोठालो भएरै रहे । उमेरले १४ टेक्नै लाग्दा पहिलोपटक उनी डेढ घन्टा परको स्कुल भर्ना भए । 'स्कुल जानुुअघि बिहान एक भारी घाँस काट्नैपर्ने, भैँसी दुहुनैपर्ने । नत्र त उही हो स्कुल जान पाइन्नथ्यो,' गणेशमानको स्मृतिमा बाल्यकाल आयो । गणेशमानलाई जीवनमा यति दुःख लेखिएको थियो कि विधाताले कहिल्यै पनि सुखको सास फेर्न लेखिदिएकी रहिनछिन् भन्ने लाग्थ्यो । घाँस-दाउरा गरेरै पनि उनी 'स्कुल टप' हुन्थे । उनको परिवार त कांग्रेस थियो । हजुरबालाई कांग्रेसको भूत यसरी सवार रहेछ कि उनलाई मनपर्ने नेता गणेशमान मात्र रहेछन् । त्यसैले आफ्नो नाम गणेशमान रहन गहेको उनले सुनाए । पारिवारिक चंगुलबाट फुत्त बाहिर निस्केर उनी त कम्युनिस्ट पो भएछन् । त्यो रंग जीवनमा अब कहिल्यै नमेटिनेगरी बसिसकेको थियो । निकै दुःख व्यहोरेर ०४६ मा उनले एसएलसी पास गरे ।

रुकुमको आठबिसकोटमा जनयुद्धको पहिलो कारबाही हुँदा चौकी आक्रमणको कमान्डर थिए, गणेशमान । उनका आँखाअगाडि आफ्ना धेरै साथी सहिद भएका छन् । अघिल्लो रात आफूसँगै आँखामा अनेक सपना सजाएर सुतेका साथीका छाती सेनाको गोलीले चाल्नु भएको उनी अहिले पनि सम्झन्छन् । 'त्यो सम्झनाले अहिले पनि छाती पोल्छ,' गणेशमान भन्छन् । त्यसो त गणेशमानका हातले पनि थुप्रै सेनालाई मारेका छन् । ती सेनाका पनि त आँखामा सजिएका सपना एकाएक मरेका छन् नि ? तिनको सम्झना आउँदैन ? 'आउँछ नि सम्झना त ! ती सहिदलाई सम्झँदा सम्मान जागेर आउँछ । तर, युद्धमा सबै जायज हुँदोरहेछ,' उनले सुनाए ।

यता, गणेशमान भूमिगत हुँदा र जेल पर्दा महेश स्थानीय चुनावमा गाविस अध्यक्ष भए । महेश सम्झन्छन्, '०५४ मा भएको त्यो चुनावमा म देशकै कान्छो अध्यक्ष भएको थिएँ ।' अध्यक्ष भएपछिका महेशका दिन झन् सुखमय हुँदै गए । उनी आफैँ कुटो-कोदालो बोकेर बाटो खन्न निस्कन्थे, श्रमदानमा जान्थे । अरूलाई पनि जुटाउँथे । त्यसवेला सडक, स्वास्थ्यचौकी, पुल, सामुदायिक वनलगायतका विकासका कुरामा गुन्डु निकै अगाडि बढ्यो ।

राजनीति गर्नुअघि उनीहरू दुवैको सपनामा खासै अन्तर थिएन । 'म कलाकार वा पत्रकार बन्न चाहन्थँे,' महेश आफ्नो सपना सम्झन्छन् । 'मचाहिँ शिक्षक बन्ने सोच्थेँ,' गणेशमानले भने । गणेशमानको किसानजिन्दगी निकै संघर्षपूर्ण थियो । उनी बारीमा हलो जोत्थे । दाङदेखि नुनको भारी बोकेर गाउँ पुग्थे । एकदिन नुन बोकिरहेका वेला जीवनमै पहिलोपटक उनले ०४४ मा मोटरगाडी देखे । 'चित्रमा देखेको थिएँ, गाडी,' उनी सम्झन्छन्, 'त्यो त साँच्चैको फरक थियो । तीन वर्षपछि मात्रै चढ्न पाएँ ।' त्यसवेला गाडी देखेर छक्क पर्ने केटो अहिले पजेरो चढेर यो सहर चहार्छ । 'मैले चढ्ने गाडी मेरो होइन । ठूलो रहर पनि होइन, चढ्ने । कामविशेषले मात्रै चढ्ने हो,' गणेशमान भन्छन् । उनकी जीवनसंगी कमला रोका सभासद् हुन् जो जनयुद्धका सुरुका दिन गणेशमानकै कमान्डरीमा प्रहरी चौकी आक्रमण गर्न गएकी थिइन् । उनीहरूले आफूहरू भूमिगत नहुँदै १५ वर्षअघि बिहे गरे । छोरा 'आजाद' भने युद्धकालीन समय अर्थात् ०५९ सालमा जन्मियो । गणेशमानले १३ दिनपछि मात्रै 'म बाबु बनेँ' भनेर चाल पाए । बाल्यकालमा गणेशमानले पढ्न नपाए पनि अहिले उनको छोरा राजधानीको महँगो र नाम चलेको बोर्डिङमा पढ्छ ।

महेश सधैँ चर्चामै रहँदा गणेशमानको नाम थिएन । थियो त जनयुद्ध गर्नेहरूले मात्रै चिन्थे, उनलाई । गणेशमान बर्दिया, बाँके र रुकुमको जेलमा पालैपालो यातनामय जीवन गुजारिरहेका थिए । जेलजीवन र भूमिगत जीवन गुजारिरहेकै वेला उनकी आमा तेजकुमारीले ०५९ चैतमा यस संसारबाट सधैँका लागि आँखा चिम्लिन् । त्यसवेला गणेशमान म्याग्दी आक्रमणमा खटिएका थिए । र, उनले आमाको अन्तिम अनुहार पनि देख्न पाएनन् । उनका बाबु दिलबहादुरलाई ०५२ फागुन २९ गते घरैमा पुगेर प्रहरीले गोली हानेको उनी कहिल्यै बिर्संदैनन् । नीलकाँडा जसरी त्यो दिन मनमा बसेकै छ ।

यी दुई संगठनका माउ कहिल्यै मिल्न सकेनन् । यद्यपि, दुवै कम्युनिस्ट हुन् । एउटा उग्र कम्युनिस्ट, अर्को नरम । के अब यी दुई आफ्नो छातीमा हात राखेर 'अब हामी जनतालाई दुःख दिँदैनौँ, समस्या थप्दैनौँ, झडपमा उत्रिँदैनाँै' भन्न सक्छन् होला ? 'समस्या त आउँछ । युथफोर्समा लागेकाहरूले गल्ती नै गर्दैनन् भन्न म सक्दिनँ,' महेश बस्नेतले सुनाए, 'हाम्रा गल्ती-कमजोरी सच्याउँछौँ । घटनालाई निरुत्साहित गर्छौं ।' गणेशमान पुन भने वाइसिएलले 'गल्ती नै नगरेको' बताउँछन् । 'हामीले जनतालाई दुःख दिएका, गल्ती गरेका छैनौँ । हामी त परिवर्तन चाहने शक्ति हो,' छुट्नेवेला गणेशमानले सुनाए, 'हामी अग्रगामी चेतनासहित रचनात्मक कामका लाग्छौँ । हामी युथफोर्सलाई परास्त गर्छा ।'

Friday, November 6, 2009

आजको कार्टून !


छतछतबाट घामको बिजुली


विश्वमणि पोखरेल/काठमाडौं

उपत्यकाका घरधनीले छानाबाट बिजुली उत्पादन गर्न सक्छन्, विद्युत प्राधिकरणलाई बेच्न पनि सक्छन्। त्यसले हिउँदको चर्को लोडशेडिङ केही कम गर्न पनि सक्छ। प्रशस्त घाम लाग्ने यहाँका छतबाट सोलार प्यानलले के व्यवसायिक रूपमा बिजुली उत्पादन गर्न सक्लान्? सौर्य उर्जाविद् भने सम्पन्न घरबालालाई बिजुली उत्पादक बनाउने अवधारणामा सरकारसँग लविङ्ग गर्दैछन्।

अन्तर्राष्ट्रिय बायोग्यास सम्मेलन हुने


नयाँ पत्रिका-काठमाडौं

काठमाडौंमा २४ देखि २६ कात्तिकसम्म अन्तर्राष्ट्रिय बायोग्यास सम्मेलन हुने भएको छ । सम्मेलनमा नेपाल, भारत, जर्मनी, नेदरल्यान्डलगायत २५ मुलुकका एक सय ५० जना सहभागी हुनेछन् । सम्मेलन समापनमा राष्ट्रपति रामवरण यादव प्रमुख अतिथि हुने बताइएको छ । सम्मेलनका क्रममा लघुव्यापारिक प्रदर्शनी आयोजना हुनेछ । नेपाल, चीनलगायत मुलुकका बायोग्यास निर्माता कम्पनीले प्रदर्शनीमा भाग लिनेछन् । नेपालमा घरायसी प्रयोगका लागि बनेका बायोग्यास प्लान्टको संख्या गत साउनसम्म दुई लाख चार हजार पाँच सय पुगेको छ ।

'गणराज्य घोषणा प्रचारात्मक मात्रै'

राजु अधिकारी, झापा- 

गणराज्य घोषणा कार्यक्रम पार्टीको प्रचारात्मक कार्यक्रम मात्र भएको खुलासा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। स्वायत्त गणराज्य घोषणा कार्यक्रमले 'समस्या ल्याएको' बताउँदै दाहालले स्थगन गरेको बताए। 'गणराज्य घोषणा कार्यक्रम स्थगन गरेका छौं' अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार झापामा सञ्चारकर्मीसँग भने - 'यसले समस्या ल्याउने जस्तो देखियो।' तत्कालीन सेनाप्रमुख रुक्मांगत कट्वालको बर्खास्तगी प्रकरणमा राष्ट्रपतिले चालेको कदमले नागरिक सर्वोच्चता हरण गरेको भन्दै आन्दोलनमा जुटेको माओवादीले कर्तिक २३ गते १३ गणराज्य घोषणा कार्यक्रम' तय गरेको थियो। बिराटनगरबाट ती राज्य घोषणा गरी सामानान्तर शक्ति अभ्यास थाल्ने बताएको माओवादीले कार्यक्रमको 'मर्म'लाई गलत ढंगले बुझिएको ठहर गरेको छ।

'यो प्रचारात्मक मात्रै थियो', घोषणाको आधार पनि सार्वजनिक थिएन' इलामको जनसभालाई सम्बोधन गरी फर्केका दाहालले भने- 'तर, यहाँ त्यसबारेकोे बुझाई नै गलत भयो, समस्या त्यसैले ल्याएको हो।' उनले त्यो 'गलत बुझाई' र 'समस्या' बारे भने प्रष्ट पारेनन्। यद्यपि त्यसअघि नै पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले गणराज्य घोषणालाई जातीय आधारमा हेरिन थालेको र संघीयताको बहस नै गलत दिशातिर उन्मुख भएको बताएका थिए।

अध्यक्ष दाहालले आन्दोलनलाई ऊर्जा दिन यो कार्यक्रम तय भएको बताए।  एक अर्को प्रसंगमा दाहालले नागरिक सर्वाेच्चता स्थापित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताए। आफू बाहेकका २२ दलको संयुक्त बैठकले सरकारमा सहभागी हुन गरेको आमन्त्रणलाई उनले अस्वीकार गरे।

'मलाई बडो गजब लाग्छ' सञ्चारकर्मी सँग ठट्यौलो पारामा प्रस्तुत हुँदै उनले थपे- 'यो २२ दल भन्ने नै कहाँ छ? यो हिजोको कुरा हो, आज स्थिति त्यस्तो छैन।'

काठमाडौंमा २२० डन




केपी ढुंगाना- नयाँ पत्रिका/काठमाडौं

काठमाडौं उपत्यकामा १३ वटा गुन्डागर्दी समूह छन् जसमा दुई सय २० जना सक्रिय छन् । गुन्डागर्दी गर्ने समूह, सदस्य र तिनको काम अनुसन्धान गरेर प्रहरीले तयार पारेको प्रतिवेदन नयाँ पत्रिकाले फेला पारेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको पिलर ४ ले तयार पारेको पछिल्लो गोप्य प्रतिवेदनमा उपत्यकाका

मास्टर्नीले कुटेर विद्यार्थीको हात भाँच्चियो



प्रकाश डोटेल /स्याङ्जा

जीवनलाई सुनिश्चित बनाउन उद्देश्यले अनुशासित, दक्ष एवं सशील व्यक्ति बन्ने चाहानामा विद्यालयमा पढ्न गएकी एक वालिकालाई शौचालय गएर ढिलो आएको वहानामा यहाँ निजी स्तरमा संचालित विद्यालयकी शिक्षिकाले कुट्दा बालिकाको हात भाँच्चिएको पुगेको छ। स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–१ स्थित द एक्सिलेन्ट अंग्रेजी आवासिय विद्यालयको कक्षा ४ मा अध्ययनरत छात्रा कविता भण्डारीको शिक्षिका प्रतिमा भट्टराईको कुटाइबाट हात भाँच्चिएको हो।

डा. भट्टराई र कोइरालावीच छलफल

काठमाडौं (दैनिकी)

नागरिक सर्बोच्चताको माग गर्दै सडक आन्दोलनमा उत्रिएको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एवं संयुक्त राष्ट्रिय जनआन्दोलन केन्द्रीय समितिका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालावीच शुक्रबार अपरान्ह छलफल भएको छ । कोइराला निबास महाराजगंजमा भएको छलफलमा कोइरालाले बिचको बाटो खोज्न आग्रह गर्नुभएको थियो । छलफलपछि डा. भट्टराईले भन्नुभयो- दुवैपक्षलाई मान्य हुने 'मिडवे' खोजौं भन्ने प्रस्ताव कोइरालाले राख्नुभयो । 'तपाई-हामी मिलेरै शान्ति प्रकृयालाई यहाँसम्म ल्याएका हौं, अब पनि मिलेरै जानुपर्छ, नत्र देश बर्वाद हुन्छ'- कोइरालालाई भनाई उद्धृत गर्दै भट्टराईले भन्नुभयो ।

पर्वतमा स्वाइन फ्लू भएको पुष्टि

हाइअलर्टमा रहन आग्रह
विजय नेपाल/ पोखरा-

पर्वत जिल्लाको सदरमुकाम कुस्मामा डेढ सातादेखि फैलिएको महामारी रुघाखोकी र ज्वरो स्वाइन फ्लू भएको पुष्टि भएको छ। गत कात्तिक १० गतेदेखि रुघाखोकी र ज्वरोबाट प्रभावित बनेका विरामीहरु बढ्दै गएपछि खकारको नमूना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकूमा पठाइएकोमा सो रोग स्वाइन फ्ल्यू भएको पुष्टि भएको हो। रुघाखोकी र ज्वरोबाट प्रभावितहरुमध्ये १२ जनाको थ्रोट स्वाब अर्थात् खकार र र्र्याल संकलन गरी पठाइएकोमा ७२ घण्टापछिको परीक्षणका क्रममा उनीहरुमध्ये नौ जनामा स्वाइन फ्ल्यू भेटिएको खबर आएको जिल्ला स्वास्थ्य कार्यालय, पर्वतका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by