Tuesday, October 6, 2009
माओबादीले चाहे १० दिनमै संविधान बन्छ
उत्तम रिजाल, असोज १९ (दमक) -
एकिकृत नेकपा माओबादीका केन्द्रीय सचिव सिपी गजुरेलले माओवादीले चाहेमा १० दिनमै संविधान बन्ने दाबी गरेका छन्। सोमबार झापाको दमकमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाटका प्रमुख अतिथी रहेका गजुरेलले तिहारपछि माओवादीले आन्दोलन गर्ने बताए।
'कङ्ग्रेस-एमाले जनमुक्ति सेना विघटनको पक्षमा'
जनविद्रोहको परिस्थिति अनुकूल बन्दैछ
इनरुवा, असोज १९ (नागरिक)- माओवादी नेता सिपी गजुरेलले कङ्ग्रेस र एमाले जनमुक्ति सेना विघटन गरेर माओवादीलाई कमजोर बनाउन क्रियाशील भएको आरोप लगाएका छन्। उनीहरु सेना व्यवस्थापन र समायोजन भन्ने बहानाबाजी गर्दै गैरजिम्मेवाररुपमा प्रस्तुत भएको उनको भनाइ छ।सत्तासीन दलहरुको व्यवहारकै कारण संविधान निर्माणको प्रक्रियामा ढिलाइ भएको बताउँदै उनले भने- यसले जनविद्रोहको परिस्थिति अनुकूल बन्दै गएको छ।
माओवादीले जे बोल्छ सो गर्छः डा. भट्टराई
यज्ञमूर्ति तिमिल्सिना/पाल्पा
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बावुराम भट्टराईले बैशाख २० गते राष्ट्रपतिले चालेको असवैंधानिक कदम नै माओवादीलाई आन्दोलनतर्फ धकेल्नुको मुख्य कारण भएको बताएका छन्। पाल्पाको तानसेनमा सोमबार क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टराईले भने– संविधान सभाको निर्वाचनको परिणामले त माओवादी ड्राइभर, कांग्रेस कन्डक्टर र एमाले खलासी भएर एउटा गाडीलाई अगाडि बढाउने म्यान्डेट दिएको भए पनि खलासीले गाडी चलाउदा के हुन्छ भन्ने स्वयं नेपाली जनताले बुझिसकेकाले पनि बर्तमान सरकारको आयु धेरै नभएको समेत बताए।
Monday, October 5, 2009
सानैमा यौनेच्छाको कारण आमाबुवाको जिन
२०६६ आश्विन ३ - केही बालबालिका कम उमेरमै यौन क्रियामा किन लिप्त हुन्छन् ? जतिखेर मानसिक र शारीरिक परिवर्तनको प्रक्रिया चलिरहेको हुन्छ त्यतिखेर उनीहरू कसरी सेक्सप्रति आकषिर्त हुन्छन् ? लामो समयदेखि उठदै आएका यी प्रश्न उत्तर खोज्न वैज्ञानिकहरू सफल भएका छन् । वैज्ञानिकहरूका अनुसार बालबालिकाको यौन सक्रियतालाई आनुवंशिक प्रभावद्वारा बढी राम्ररी परिभाषित गर्न सकिन्छ । सानैमा सेक्सप्रति आकर्षण हुनुमा वातावरणभन्दा पनि आमाबुवाको 'जिन' प्रमुख कारण हुने अमेरिकी जर्नल 'चाइल्ड डेभलपमेन्ट' मा प्रकाशित अनुसन्धानमा उल्लेख छ ।
चुनावअघि मलाई मार्ने योजना थियो
काठमाडौं, १८ असोज
कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले संविधानसभा निर्वाचनका क्रममा आफ्नो हत्याको योजना बनेको दाबी गरेका छन् । उनले आफूलाई प्रत्यक्षतर्फको टिकट नदिन पार्टी सभापतिसहितका नेतालाई पटक-पटक आग्रह गर्दासमेत टिकट दिएर हत्या गर्ने प्रयास गरेको बताए । नयाँ पत्रिकासँग कुरा गर्दै संविधानसभा चुनावको दुई दिनअघि दाङमा भएको घटना सम्झँदै उनले भने, 'प्रहरीप्रशासनले सहयोगसमेत गरेन । अरू दिन मेरो स्कटिङ हुन्थ्यो, त्यस दिन फोन गरेर बोलाउँदा पनि प्रहरी आएन । हत्याको योजना नबनाइएको भए त्यस्तो हुने थिएन ।'
नक्कली एसएमएसले मोबाइल ग्राहक ठगिए
रामचन्द्र भट्ट, काठमाडौं असोज १९-
आइतबार दिनभरि नेपाल टेलिकमका अधिकांश मोबाइल उपभोक्ताले एक खालको सन्देश प्राप्त गरिरहे। मोबाइल उपभोक्ताले प्राप्त गरेको सन्देशको व्यहोरा थियो, 'आज टेलिकमले मोबाइल टेलिफोन सुरु गरेको १० वर्ष पुरा गरेको अवसरमा १० जनालाई यस्तो एसएमएस पठाउँदा २ सय रुपैयाँको रिचार्ज निःशुल्क पाउनेछन्।'
प्रधानमन्त्री र माओवादी अध्यक्षबीच भेटवार्ता
काठमाडौ, २०६६ आश्विन १९ -
प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच सोमबार भेटवार्ता भएको छ । कोटेश्वर स्थित एक निजी घरमा भएको भेटमा वर्तमान राजनीतिक गतिरोध अन्त्यका विषयमा छलफल भएको प्रधानमन्त्री नेपालले जानकारी दिए । झण्डै आधा घण्टा भएको भेटमा माओवादी अध्यक्ष दाहालले सबैलाई मान्य हुने गरी सहमति खोज्न प्रस्ताव गरेका थिए । भेटपछि प्रधानमन्त्री नेपालले आफूले अध्यक्ष दाहाललाई सकारात्मक पाएको भन्दै चाँडै सहमति कायम हुने विश्वास व्यक्त गरे ।
गतिरोध छिट्टै अन्त्य हुन्छ / कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैनः दाहाल
काठमाडौ, २०६६ आश्विन १९ -
माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रमुख दलहरुबीच सहमतिको लागि संवाद जारी रहेकाले राजनीतिक गतिरोध चाडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । उनले आफूले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बन्ने प्रस्ताव नगरेको समेत दाबी गरे । राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले २/४ दिनभित्रै संविधान निर्माण र शान्ति प्रकृयाले गति लिने बताए ।
Sunday, October 4, 2009
भारतीय सीमा सुरक्षा बलको यातनाबाट रौतहटमा नेपालीको मृत्यु
उपेन्द्र लामिछाने, वीरगन्ज असोज १८– भारतीय सीमा सुरक्षा बल (एसएसबी) को यातनाबाट रौतहटमा एक सर्वसाधारण नेपालीको मृत्यु भएको छ। सुर्तीको डाँठ बिक्री गर्न सीमावर्ती भारतीय बजार घोडासन हिँडेका सुरमजुवा–८ का ३५ वर्षीय मुकलराय यादवको एसएसबीका जवानको कुटाईबाट शनिबार राति मृत्यु भएको हो। सुर्ती बेचेर जीविका चलाउँदै आएका मुकलराय यादवलाई सीतामढी बेसक्याम्प जमुनियाका एसएसबी जवानले नियन्त्रणमा लिएर कुटपिट गरेका परिवारले जनाएको छ। निर्घात कुटपिटपछि राति लरखराउँदै घर आएका उनको केही घन्टामै मृत्यु भएको परिवारले बताएको छ। घरमा आएपछि उनले आफूलाई एसएसबीका जवानले कुटपिट गरेको बताएका थिए। हातखुट्टा बाँधेर नियन्त्रणमा राखिएका यादवलाई एसएसबीका जवानले ४ घन्टा नियन्त्रणमा राखेर छाडे्को स्थानीयले बताए।
झापामा दर्जन बढी सीमास्तम्भ गायव
सीमा अतिक्रमण हुने खतरा
सञ्जीव चापागाई। झापा १८ असोज
नेपाल भारत सीमामा रहेको दर्जन बढी सीमास्तम्भ हराएपछि झापामा सीमा अतिक्रमण हुने खतरा बढेको छ।
झापाका विभिन्न स्थानबाट १८ बटा सीमास्तम्भ विगत केही महीनादेखि गायव भए पनी सम्बन्धित पक्षले चासो नदिदा सो क्षेत्रमा सीमा अतिक्रमण हुन सक्ने सम्भावना बढेर गएको हो। झापामा १ सय ७ किलोमिटर नेपालको जमिन भारतसँग सिमा जोडिएको छ। जिल्लामा १७ देखि १५२ नम्बरका सीमा स्तम्भ र ३ सय बढी रीफरेन्स पिलरहरु रहेको सशस्त्र प्रहरी सीमा सुरक्ष कल चन्द्रगढीले जनाएको छ। बलका प्रमुख चन्द्रप्रसाद भट्टका अनुसार यीमध्ये सीमामा रहेका दर्जन बढी रीफरेन्स पिलर गायब भएका छन भने केही पिलरहरु मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन।
दुई साताभित्रै बजेट पारित नभए अर्थतन्त्र ठप्प
काठमाडौ, २०६६ आश्विन १८ - संसदबाट १३ दिनभित्र बजेट पारित हुन नसके मुलुकको आर्थिक गतिविधि ठप्प हुनेछ । यसबाट विकास निर्माण कार्य बन्द हुनुका साथै अन्यसँगै सभासद तथा सरकारी कर्मचारीहरूले समेत तलबभत्ता पाउने छैनन् । 'विकास निर्माण कार्य अवरुद्ध त हुनै नै छ,' अर्थविद् शंकर शर्माले भने, 'सरकार सञ्चालनका लागि आवश्यक खर्च पनि गर्न पाइने छैन ।' माओवादीले नागरिक सर्वोच्चताको माग गर्दै संसद चल्न नदिएपछि बजेट पारित हुन नसकेको हो । अर्थ मन्त्रालयले बजेट पारित नभएको उल्लेख गर्दै एक तिहाइभन्दा बढी रकम खर्च नगर्न सार्वजनिक सूचना नै जारी गरिसकेको छ ।
उत्तरी सीमामा सुरक्षा बल स्थापनाका लागि निरीक्षण
सरोजराज अधिकारी - काठमाडौ, २०६६ आश्विन १८ -
उत्तरी सीमामा सुरक्षा बल स्थापनाका लागि स्थलगत निरीक्षण गर्न सशस्त्र प्रहरी बलको दुई टोली लङ रेन्ज पेट्रोल -लामो दूरीको सूरक्षा गस्ती) मा निस्केको छ । दुई महिनाभित्रै सुरक्षा बल स्थापना गर्ने योजना साथ बलको दुई टोली मुस्ताङ र रसुवा पुगिसकेको सशस्त्र स्रोतले बतायो । मुस्ताङमा इन्स्पेक्टर दामोदर ढोडारीको नेतृत्वमा र रसुवामा डीएसपी विनोद केसीको नेतृत्वमा सेक्सन प्लस -२५/२५ जना) को निरीक्षण टोली खटिएको छ ।
लोक्ताको व्यावसायिक खेती सुरु
सुरेन्द्र सुबेदी -संखुवासभा, २०६६ आश्विन १८ -
मन्त्रिपरिषदले सरकारी कामका लागि नेपाली कागजको प्रयोग गर्ने निर्णयसँगै हाते कागजको माग बढेको छ । यहाँका कृषकले मागअनुसारको हाते कागजको आपूर्ति गर्न नसकिएको जनाउँदै माग पूरा गराउन व्यावसायिक लोक्ता खेती सुरु गरेका छन् । तिनजुरे नेपाली हाते कागज उद्योगले व्यावसायिक रूपमा खेती सुरु गरेको हो । यहाँा अर्गेली र सनपाटको ३ हजारभन्दा बढी बिरुवा नर्सरी लगाइएको छ ।
माओवादी तिहारपछि आन्दोलनमा जाने
प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले तिहारसम्म कुनै सहमति कायम नभए सशक्त आन्दोलन सुरु गर्ने भएको छ । सो पार्टीको आइतबार बसेको स्थायी समितिको बैठकले राजनीतिक गतिरोधको निकाशका लागि माओवादीले उठाउदै आएको नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदमका विषयमा ठोस निकास ननिस्के तिहारपछि सशक्त आन्दोलन गर्ने निर्णय भएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । उनले असोज महिनाभरि दलहरुसँग छलफल र सहमतिको प्रयास जारी राखिने बताए ।
सुरु भयो पर्यटकीय मौसम
शिव शर्मा -कास्की, २०६६ आश्विन १७ -
पर्यटकीय मौसमको सुरुवातसँगै आन्तरिक पर्यटकले पोखरा खचाखच भएको छ । दसंै मनाउन देशका विभिन्न जिल्लाबाट यहाँ आएका पर्यटकहरू बिदा सकिन लाग्दा पनि अझै पर्यटकीयस्थलमा रमाइरहेका देखिन्छन् । यहाँको फेवाताल, बेगनासताल, सराङकोट, डेभिडफल्स लगायतका आकर्षकस्थलमा पर्यटकको लस्कर भेटिन्छ ।
मध्य तथा सुदूर पश्चिममा मोबाइल अवरुद्ध
प्रियास्मृती ढकाल बाँके १८ असोज
आइतबार बिहानैदेखि मध्य तथा सुदूरपश्चिमाञ्चलको मोवाइल सेवा अवरुद्ध भएको छ। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको कोहलपुर र दाङ्गको लमही सडकखण्डकोबीचमा अप्टिकल फाइबर काटिका कारण मोवाइल सेवा अवरुद्ध भएको नेपाल टेलिकमको क्षेत्रीय कार्यालय नेपालगञ्जका निमित्त प्रमुख नामाकर न्यौपानेले जानकारी दिए। अप्टिकल फाईबर काटिएका कारण प्रिपेड, पोष्टपेड, स्काई, सि.डि.एम.ए सेवा ठप्प भएको छ। जसका कारण यस क्षेत्रका करिब ४ लाख सेवाग्राही मर्कामा परेका छन ।
परराष्ट्रमन्त्री कोइराला फिर्ता
काठमाडौं, असोज १८ (नागरिक)- परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाली तयारी पोसाकलाई भन्सार छुट गरी अमेरिकी बजारमा पहुँच सहज बनाउन त्यहाँका जनप्रतिनिधि सकारात्मक भएको बताएकी छन्। 'अमेरिकी सिनेटर तथा सांसदहरू नेपालजस्ता अल्पविकसित देशमा उत्पादित तयारी पोसाकलाई विद्यमान भन्सार छुट गर्न सकारात्मक भएका छन्,' दुई साता लामो अमेरिका यात्रापछि शनिबार अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भनिन्।
सुन मूल्य घट्यो
काठमाडौ, २०६६ आश्विन १८ - यस सताको अन्तिमदिन शुक्रबार स्थानीय बजारमा सुनको मूल्य यसअघिको मूल्यभन्दा तोलामा ४ सय रुपैयाँले घटेको छ । दसंैअघि असोज ८ गते स्थानीय बजारमा प्रतितोला सुनको मूल्य २९ हजार ७ सय रुपैयाँ कायम भएको थियो । त्यसपछि स्थानीय बजारमा सुनको मूल्य निर्धारण भएको थिएन् । दसंैपछि कारोवार सुरु भएको पहिलो दिन शुक्रबार प्रतितोला सुनको मूल्य २९ हजार ३ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
Subscribe to:
Posts (Atom)