प्रभात भट्टराई/काठमाडौं (नयाँ पत्रिका)
निजी क्षेत्रका वाणिज्य बैंकहरूमा शाखा र पुँजीको हिसाबले सबैभन्दा ठूलो बन्ने घोषणा गरेको किष्ट बैंकले राजधानीमा १४ तलाको प्रधान कार्यालय (कर्पोरेट अफिस) बनाउन थालेको छ । अनामनगरमा निर्माणाधीन सो कार्यालय ३० करोडको लागतमा पूरा हुने प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवालीले जानकारी दिए । निजी क्षेत्रका वाणिज्य बैंकमध्ये सबैको भन्दा ठूलो प्रधान कार्यालय निर्माण गर्न लागेको उनले बताए । डेढ लाख वर्गफिट क्षेत्रफलमा सो भवन निर्माण भइरहेको हो । 'अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्न लागेका हौँ,' उनले भने, 'हाम्रो व्यवसाय विस्तार जुन गतिमा भइरहेको छ त्यसअनुसारको सुविधा प्रदान गर्न सकियोस् भन्ने हेतुले डि्रम प्रोजेक्टको रूपमा यसलाई अघि बढाइरहेका छौँ ।' प्रधान कार्यालयअन्तर्गत हुने मुख्य शाखामा २६ वटा टेलर काउन्टर हुनेछन् । गाउँगाउँसम्म शाखा पुर्याएर व्यवसाय विस्तार गर्दा हुने ग्राहक चाप सहज गर्न काउन्टर धेरै राख्न लागेको उनले जानकारी दिए । 'सकेसम्म कसैले पनि लाइन झेल्नु नपरोस् भन्ने हाम्रो ध्येय हो,' उनले भने ।